६ वैशाख २०८१ बिहीबार
अन्य

सहिद बन्नुपर्ने मान्छे !

बीस वर्षअगाडि सामान्य प्रशासन मन्त्रालयकोे उपसचिवबाट सेवानिवृत डा. इन्दुल केसीलाई चिनाउने पुस्तक प्रकाशित भएको छ– चौथौं आयाम। पुस्तकमा उनका बारेमा विद्धानबाट लेखिएका १६ लेख तथा शुभकामना छन्।

पुस्तकमा डा. सत्यमोहन जोशी, डा. सुरेशराज शर्मा, डा. हेमराज काफ्ले,  साहित्यकार मोहन दुवाल, पत्रकार अनिल वाग्ले, कवि गोविन्दबहादुर खड्का, दर्शनशास्त्रका प्राध्यापक डा. गोविन्दशरण उपाध्याय, शिक्षासेवी निर्मला श्रेष्ठ र रामप्रसाद तिमल्सिना, साहित्यकार हरि मञ्जुश्री, प्रा.डा. कृष्णप्रसाद दाहाल लगायत व्यक्तिका लेख समेटिएका छन्। 

पुस्तकमा ‘सहिद बन्नु पर्ने मान्छे’ शीर्षकको लेख पढेपछि पाठक गम्भीर बन्छन्। धुलिखेलस्थित शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले उक्त लेख लेखेका हुन्। उक्त आलेखमा इन्दुल सहिद बन्नु पर्ने मान्छे भएको तर सहिद हुनबाट जोगिएको उल्लेख गरेका छन्।  यस्तै, पुस्तकमा पञ्चायतविरुद्ध जनआन्दोलन उत्कर्षमा पुगिरहेका बेला पञ्चालतलाई जोगाइराख्न के गर्नुपर्ला भनी उच्च ओहोदाका सरकारी कर्मचारीहरूसँग प्रधानमन्त्री मरिचमानसिंहले लिएको सुझाव संकलनका परिदृष्य पनि राखिएको छ।

प्रधानमन्त्री मरिचमानले उच्च ओहोदाका सरकारी कर्मचारीसँंग पञ्चायतलाई जोगाउन लिएको सुझाव संकलनमा केसीले राखेको खरो कुरा पुस्तकमा उल्लेख छ। पुस्तकमा दामोदर घिमिरेको ‘व्यक्ति एक कृतित्व अनेक भएका डा. इन्दुल’, द्रोणप्रसाद श्रेष्ठको ‘उहिल्यै चिनेको अहिले बुझेको’ र बेलप्रसाद श्रेष्ठको ‘नयाँ विचारका धनी’ शीर्षकमा लेख रुचिकर छ। विद्धान लेखकका लेखसहित डा. केसीको पहिलो, दोस्रो र तेस्रो आयाम पुस्तकका बारेमा पनि लेखिएको छ।

०५६ मंसिर २० गते तथा २४ गतेको ‘गोर्खापत्र’मा प्रकाशित समाचार जसमा डा. केसीलाई स्टार मेडलद्वारा सम्मान गरिएको थियो। साथै कलकतामा भएको इन्डियन बोर्ड अफ अल्टरनेटिभ मेडिसिनद्वारा सन् १९९९ डिसेम्वर १ र २ को अन्तर्राष्ट्रिय कांग्रेसमा उनलाई डक्टरेट डिग्री प्रदान गरिएको समाचार पनि किताबमा समावेश गरिएको छ। 

शब्दयात्रा प्रकाशन काभ्रेले छापेको ८८ पृष्ठको पुस्तकको मूल्य एक सय ५० रूपैयाँ राखिएको छ। पुस्तकले विभिन्न विषयमा दक्षता हासिल गरेका केसीको बहुआयामिक व्यक्तित्वको उजागर गरेको छ।

प्रकाशित: ७ असार २०७६ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App