आलेख

आधुनिक संगीतको उकालीमा

शनिबार, ०७ असार २०७६, ११ : ४२ हेमन्त विवश

तरलित तुल्याउँछ कैंयौं मनहरूलाई गीत–सङ्गीत र साहित्यले। भेटाउँछ मनको गहिराइ। मनोरन्जनका साथै समाजमा देखा परेका विकृति र विसंगतिप्रति पनि औंला उठाउन समेत सिकाउँछ संगीतले। सुदूरपश्चिमबाट पनि गुञ्जित भए केही धुन, रचना भए शब्द र सुनिए केही स्वरहरू। पहाडका ७ र तराईका २ गरी ९ जिल्लाको गीतसङ्गीत नै सुदूरपश्चिमको झंकार हो। 

संगीतविनाको जीवन निरर्थक हुन्छ। अर्को कुरा, जातीय छुवाछुत, असमानता, सिमान्तकृत समुदायदेखि महिला हकअधिकारका कुरा, वेशभूषा र परम्परासम्बन्धी गीतहरूले कालान्तरमा गएर आजको समाज बुझ्न सघाउँछ। त्यसैले गीतसङ्गीतले मनोरन्जनका साथै समय, सभ्यता र संस्कृति पनि बोकेको हुन्छ। सदियौंदेखि चाडपर्व, मेला उत्सव, वनजंगलमा गाइने डेउडा र जन्मदेखि मृत्युसम्मका संस्कार गीतको प्रचलन बढी पाइन्छ सुदूरपश्चिममा। पहिला दरबारमा शास्त्रीय सङ्गीत सुन्ने प्रचलन थियो। 

एकातिर आधुनिक सङ्गीतप्रति जागरण ल्याउन नसक्नु अर्कोतिर पैसा खर्च गरेर रेकर्ड गराउने अवस्था सबैसँग नहुनुले पनि आधुनिक सङ्गीतमा सुदूरपश्चिम पछि परेको देखिन्छ। भएका कैयौं प्रतिभाले अवसर पाउन सकेका छैनन्। कैयौले आधुनिक सङ्गीतप्रति मोह हँुदाहुदै पनि सिक्ने ठाउँ र सिकाउने गुरु भेटाउन सकेका छैनन्।

सुदूरपश्चिममा गीतसङ्गीतको महिमा पौराणिक कालदेखि नै सुनिन थालेको हो। सुदूरपश्चिममा जीवन संस्कार, चाडपर्व उत्सवका अवसरमा गाइने नृत्यसहितको धमारीलाई गहिरिएर अवलोकन गर्ने हो भने त्यहाँ एक प्रकारको शास्त्रीयसङ्गीत पाइन्छ। नृत्यसहित गाइने उक्त गीत गायनका दृष्टिले कठिन मानिने धमार रागबाट विकसित भएको उल्लेख गरेका छन् डा. जयराज पन्तले।

वसन्त पञ्चमीमा गाइने वसन्त गीत होस् वा चैत, धमारी, अठवाली नै किन नहुन तिनमा भेटिन्छ शास्त्रीय सङ्गीतको अंश। जहाँ गायनको शैली, बाजाको धुन र नृत्यको ताल त्रिवेणीका रूपमा देखा पर्छन्। गायकको  गायन कुशलताका अभाव, प्रविधिको विकाससँगै नयाँ पिँढीमा यस्ता पुराना गीतप्रतिको उदासीनताका कारण पछिल्ला दिनमा यस्ता गीत लोप हँुदै जाने सम्भावना छ। सुदूरपश्चिममा आधुनिक गीत गायनको क्षेत्रमा तल्लीन संगीतकर्मीमा यस्ता पुराना गीतको प्रभाव परेको देखिन्छ।

औपचारिक सुरुवात
सुदूरपश्चिमको गीतसङ्गीतको कुरा गर्दा बाइसेचौबिसे राजाका पालामा दरबारमा गानाबजाना हुने गरेको थियो। समाजमा भाँण भनेर चिनिएको गन्धर्व जातिले मादल हार्मोनियम, बाँसुरी, तबला जस्ता बाजाका साथमा गीत गाएर मनोरन्जन दिलाउँथे। हाल भारतमा पर्ने कुमाउँ, गडवाल सिंगाई लगायतका केही भूभाग त्यतिबेलाको डोटी राज्यमा पर्दथ्यो। सिंगाईको दरबारमा त भारतीय घरानाका केही गायक, वाद्यवादक बोलाई मनोरञ्जन लिने गरिन्थ्यो। यो क्रम राणाकालमा समेत चलिरह्यो।
यहाँ औपचारिक रूपमा गीत रेकर्ड गरिएको समयलाई औपचारिक सुरुवातको समय मानिएको छ। यस क्षेत्रमा सैकडौं गीतकार सङ्गीतकार र गायकगायिकाको उपस्थिति रहे पनि यो लेखमा औपचारिक ढङ्गले गीत सङ्गीतबद्ध भएर गायनमा आएका स्रष्टा र सिर्जनालाई मात्रै आधार मानिएको छ।

यस क्षेत्रको आधुनिक गीतसङ्गीतको रेकर्डिङ इतिहास खोतल्दा ०३५ सालमा शक्तिबल्लभको सङ्गीत एवं प्रताप अधिकारीको स्वरमा डा. दीर्घसिंह बमको ‘सम्झनैसम्झना छ अरू के पो छ र यहाँ’ बोलको गीत रेडियो नेपालमा रेकर्डिङ भएको देखिन्छ। उक्त गीतलाई नै सुदूरपश्चिमको आधुनिक सङ्गीतको औपचारिक सुरुवात मान्न सकिन्छ। ०४३ सालमा डा. बमकै ‘कामनाले भरिएको’ बोलको गीत बुलु मुकारुङको सङ्गीतमा निशान भट्टराईको स्वरमा रेडियो रेकर्ड भयो। ०४३ सालमा सुदूरपश्चिमको प्रतिनिधित्व गरेर उमेश बागचन (निर्माता) र जगदीश विसी (निर्देशक)को पहलमा पहिलो चलचित्र ‘अर्पण’ बन्यो जुन ०४४ सालमा रिलिज भयो। उक्त चलचित्रमा आधुनिक सङ्गीत भरिएका ५ गीत समावेश थिए जसमा स्वर, सङ्गीत र शब्द थिए पिके नारायणका।

पिके सुदूरपश्चिमबाट नेपाली चलचित्रमा पहिलो गायक तथा सङ्गीतकार बन्न पुगे। ०४७ सालमा स्वर सम्राट नारायण गोपालको स्वर र भुपेन्द्र रायमाझीको सङ्गीतमा डा. बमको ‘विरही माया अधुरो रह्यो बिर्सनु कसरी’ बोलको गीत रेकर्ड भयो जुन निकै लोकप्रिय बन्यो। रेडियो नेपालमा ०४४ सालमा बुलु मुकारुङको सङ्गीत र मनिला सोताङको स्वरमा ‘सुवास मेरो आइदेला’ बोलको गीत रेकर्डिङ गराएर देखापरे गीतकार कलेन्द्रविक्रम शाही। ०५२ सालमा बुलुकै सङ्गीतमा पहिलो गीत रेकर्ड गराएर देखा परिन् निहारिका लक्ष्मी शाही। त्यसै वर्ष उनको एलबम ‘ताराहरूको सहरमा’ प्रकाशित भयो जुन आधुनिक गीतसङ्गीतमा सुदूरपश्चिकै पहिलो एलबम बन्न पुग्यो। तत्पश्चात देखापरे गीत तथा गजलकार ललिजन रावल।

यसरी त्यस क्षेत्रका काठमाडौंमा बसोबास गरिरहेका स्रष्टाका केही गीत रेकर्ड भएर एकाध एलबम प्रकाशित भए पनि अरू क्षेत्रको दाँजोमा यो क्षेत्र आधुनिक गीतसङ्गीतको रेकर्डिङ दुनियाँमा निकै पछाडि छ।  ५० को दशकमा महेन्द्रनगरमा नवप्रतिभा कलाकार संगम गठन भएसँगै आधुनिक गीतसङ्गीतको गोरेटो विस्तार भएको मान्न सकिन्छ। उक्त समूहमा कलाकार थिए–सिएन भण्डारी (गायन, गीतार र मेण्डोलियनमा), उमेश खडायत (कंगो), दीपक चन्द (तवला), मेघराज भण्डारी (किबोर्ड), गजेन्द्र चन्द (गायन),  रेणुका शाही (गायन), दीपक खरेल (प्रहसन र नृत्य), गणेश ऐर (गायन), प्रजापति नेगी (रचना), खिमलाल घिमिरे(संगीतप्रेमी), मनि चन्द (संगीतप्रेमी)। त्यो समूहले सुरुवात त ग¥यो तर लामो समय  निरन्तरता दिन सकेन। कामको सिलसिलामा कोही कतै पुगे कोही कतै। उनीहरूको बिँडो थाम्ने काम नयाँ युवाले गरिरहेका छन्।  

त्यो समयमा व्यावसायिक हिसाबले आधुनिक सङ्गीततिर तानिनु चुनौतीपूर्ण थियो र अझै पनि छ। त्यतिबेला आधुनिक गीतका एलबम बिक्लान् भन्ने कल्पना नै गरिँदैनथ्यो। अहिलेको जस्तो युट्युब च्यानल थिएनन्। स्टेज प्रोग्राममा पारिश्रमिक दिएर गाउन बोलाउने चलन थिएन। त्यस्तो परिस्थितिमा गाउँघरतिरै बसिराखेका र गतिलो आर्थिक स्थिति पनि नभएका संगीतकर्मी तिलकसिंह पेलाले ठूलो रिक्स मोल्दै ०५३ सालमा ‘आँसु’ नामक एलबम तयार पारे। ०५४ को सुरुमै उक्त एलबम बजारमा आयो। त्यसमा उनको एकल स्वर, सङ्गीत अनि कृष्णसिंह पेलाका शब्द थिए। एलबम रातारात हिट भयो। दुर्भाग्य आर्थिक हिसाबले उनले लगानी समेत उठाउन सकेनन्। हजारौं एलबम बिक्री हुँदा पनि वितरणकोे जिम्मा लिएका कम्पनी मालिकले उनीप्रति ठूलै घात गरे। तर पनि उनी हतोत्साही भएनन्। निकै संघर्ष गरेर ०५७ सालमा बजारमा पुनः देखापरे ‘आँसु भाग २’ सँगै। ०५८ सालमा बजारमा देखाप¥यो उनको अर्को एलबम ‘वेस्ट अफ आँसु’। अहिले तिनै पेलाको नयाँ एलबम ‘आँसु भाग ३’ को काम अन्तिम चरणमा पुगेको छ।

आधुनिक सङ्गीतको क्षेत्रमा सुदूरपश्चिमबाट नाम कमाएका अर्का सङ्गीतकार हुन् सुदाम थापा र गायिका सिन्धु मल्ल। ७÷८ वर्षकै उमेरमा मादल बजाउन सिकेका थापाको सानैदेखि सङ्गीतप्रति लगाव थियो। ०५२ सालमा औपचारिक रुपमा पियानो बजाउन सिकेका थापा ०५३ सालमा आधुनिक गीतसङ्गीत क्षेत्रमा गायक तथा सङ्गीतकारका रुपमा उदाए। ०५३ सालमा रेडियो नेपालमा उनको सङ्गीतमा ‘कोने मैया जैहन’ बोलको मैथली गीत रेकर्ड हुन गयो। ०५३ मै उनको आफ्नै स्वर र सङ्गीतमा ‘अब हाम्रो पालो’ बोलको  राष्ट्रिय गीत रेकर्ड गराए।

त्यस्तै ०५४ सालमा देखा परे सङ्गीतकार रेशमलाल चौधरी। ०५३ सालमा रेडियो नेपालमा बालगीत रेकर्डिङ गराएर सांगीतिक यात्रा सुरु गरेका रेशमको सङ्गीतमा ०५४ मा ‘पूर्णिमा’ नामक एलबम प्रकाशित भएको देखिन्छ। त्यस्तै ०५७ सालदेखि गायनमा प्रवेश गरेकी सिन्धु मल्ल सुदूरपश्चिमबाट आधुनिक संङ्गीतमा पहिलो गायिकाका रुपमा देखापरेकी छन्। त्यसपछि क्रमैसँग देखापरे इन्द्रबहादुर शाही (०५८) मिलन परियार (०५९),  हेमन्त विवश (०६१) आदि। यस क्षेत्रमा २०६० सम्म आधुनिक सङ्गीतप्रति उदासीनता नै छाएको देखिन्छ। ५० को दशकदेखि आजसम्म पनि सुदूरपश्चिम डेउडामय छ। आधुनिक गीतसङ्गीतमा ६० को दशकदेखि गायकगायिका, सङ्गीतकार र गीतकारको सक्रियता बढ्दै गएर संख्यात्मक हिसाबले लामै सूची तयार भएको देखिन्छ। तर गुणात्मक हिसाले खासै लोकप्रियता कमाउन सकेका छैनन्।

गीतकारहरू
यस क्षेत्रका स्रष्टाका स्वर र सिर्जनामा पनि वियोग व्यथाका भावपक्षले दरिलो डेरा जमाएको देखिन्छ। संसारकै सङ्गीतको इतिहास हेर्ने हो भने वियोग व्यथाका गीत बढी भेटिन्छन्। भावुक हृदयहरू वियोग व्यथाकै गीत बढी गाउँछन्। त्यतै भेटिन्छ हार्दिक तरलता पनि। अन्तःकरणको आवाज पनि। यिनै गीतहरूले सूचना दिइरहेका हुन्छन् कलाकारको संवेदनाको चौडाइ अनि उसको जीवनदृष्टि। पछिल्लो समयमा जातीय छुवाछुत जस्ता सामाजिक विकृति, कुसंस्कार, गरिबी र प्रेममा असफलताका मर्महरू छताछुल्ल भेटिन्छ गीतमा।

यस क्षेत्रबाट आधुनिक गीतसङ्गीतमा प्रतिनिधित्व गर्ने गीतकारहरू हुन्–डा.दीर्घसिंह बम, ललिजन रावल, लोकेन्द्रबहादुर चन्द, श्रेष्ठ प्रिया पत्थर, कृष्णसिंह पेला, हेमन्त विवश, पद्मराज जोशी ‘स्पन्दन’, उद्ववसिंह चन्दारा, सुभास गौतम, वृश रावल, श्रीधर पन्त, रेशम चौधरी, प्रेम विक, विष्णु भट्ट, कृष्ण मल्ल बेहोसी, अशोक बोहरा ‘असिम’, धिरज त्रिवेणी, पूर्ण रावल, हेम सुवेदी, डा. पुष्पराज पन्त, अभि अजनबी, राजेश कैदी, सुभाष गौतम, शंकर विक संगम, एनबि विश्वकर्मा, स्वराङ्क देवकोटा, भीम विसी, यज्ञराज भण्डारी, कृष्ण पनेरु वञ्चित, प्रजापति नेगी, टोपेन्द्र शाह रसिक, हेमन्ती जोशी, दिव्यसागर साउँद, वाइपी जोशी, सुरेन्द्र विष्ट यात्री, हर्क साउँद, शम्भु रैका, भुवनप्रकाश बडु, विपिन सलामी, मिस्टर आरजे, तेज पुरुष, डिल्ली ओझा समर्पण, मीनबहादुर सिंह आदि।

गायकहरू  
गायन क्षेत्र हेर्ने हो भने सुदूरपश्चिमबाट लोकगीत गाउने गायक गायिकाकाको संख्या निकै ठूलो छ। तर आधुनिक सङ्गीतमा त्यसको एक चौथाइ पनि छैन। लामो समयदेखि डेउडा गायनप्रति आकर्षित युवा ०५० साल पछि मात्रै आधुनिक गीतसङ्गीततिर तानिएका देखिन्छन्। महेन्द्र नगरमा खुलेको ‘नव प्रतिभा कलाकार संगम’को सांगीतिक क्रियाकलापले यहाँका युवालाई आधुनिक गीतमा आकर्षित गरेको पाइन्छ। नारायणगोपाल स्वर्गे भएको वर्षदिन पछि उहाँको वार्षिकीमा नारायण गोपाल स्मृति साँझ आयोजनाले आधुनिक सङ्गीतको गोरेटो फराकिलो भएको मान्न सकिन्छ।

नवप्रतिभालाई बाजा बजाउन प्रोत्साहित गर्नु, राम्रो स्वर भएका प्रतिभालाई गायन क्षेत्रमा प्रोत्साहित गर्नु देखि ०५४ सालमा बजारमा आँसु एलबम ल्याएर पहिलो गायकका रूपमा देखापरेका तिलकसिंह पेलालाई अतिथि गायकका रूपमा कार्यक्रमहरूमा निमन्त्रणा गर्नुले पनि उक्त समूहले समाजमा आधुनिक गीतसङ्गीतमा एक किसिमको जागरण ल्याएको मान्न सकिन्छ।

यस क्षेत्रबाट आधुनिक सङ्गीतमा देखापरेका गायकगायिका यस प्रकार छन्–सिएन भण्डारी, तिलकसिंह पेला, गजेन्द्र चन्द, रेणुका शाही, गणेश ऐर, सुदाम थापा, सिन्धु मल्ल, रेशमलाल चौधरी, हिमांशु पन्त, प्रेममोहन श्रेष्ठ, अराज केशव, यज्ञराज भण्डारी, राजेश कैदी, शिशिर साधक, विष्णु भट्ट, गोपाल सुचिकार, हरिदत्त फुलारा, पिके नारायण, केशव भट्ट, ध्रुव बिस्को, अर्जुन सुनाम, राम कुमार कथरिया, मनिराम चौधरी, प्रमिला चौधरी, टेकेन्द्र नेपाली, ओम सुनार, विनोद बाजुरेली, मिलन परियार, सञ्जिव परियार, वसन्त शिशिर, तृप्ती खड्का, पुष्पा बोहरा, मिस्टर आरजे, सुरेन्द्र विष्ट यात्री, बलबहादुर कुँवर, राजेन्द्र भट्ट, वेणीमाधव भट्ट, मिलन परियार, समीक्षा चौधरी, अन्नु चौधरी, सोनु कुस्मी, नीतु चौधरी, भुवन पाण्डे, रवि ओड, कमल विष्ट, जीवन घर्ती मगर, रमेश मिसन, राजु चौधरी, प्रकाश रोक्का राजेन्द्र सेरचन, सुभास नेपाली, सुधिर जैरु, मुकेश देवल, सनिम परियार, हिमालय टेलर, स्वराङ्क देबकोटा, तुफान राजवंशी, रीतु चौधरी, बुसलाल चौधरी, कन्हैया चौधरी, जन्तीराम चौधरी, प्रेम चौधरी, छवी चौधरी, गोकर्ण चौधरी, रामप्रसाद चौधरी, खुसीराम चौधरी, प्रकाश चन्द, लक्ष्मीप्रसाद भट्ट, जंगबहादुर विष्ट आदि।      

सङ्गीतकारहरू
संगीतको कुरा गर्दा पनि चैतवैशाखमा सु.प.को जंगलमा सुनिने सुरिलो बाँसुरीको धुनको आफ्नै महत्व छ। काजी रजवारका लासका अगाडि बजाइने सङ्गीतको छुट्टै इतिहास छ। पञ्चेबाजा, मादल, नरसिंहा, सनई, ढोलक, दमाहा, मुजुरादेखि आँपको कोया फोडेर पिपिरीको पात राखेर बजाइने पिपिरी बाजासम्मको आफ्नै महत्व छ। सय वर्षअगाडि नै डोटी मौवाका पद्मनाभ ओझा सीतार वादक थिए भन्ने सुनिन्छ। त्यस्तै सिलगढी, डोटीका प्रेममोहन श्रेष्ठ कुशल सङ्गीतकार थिए। पछिल्लो समयमा बैतडीका चालिस वर्षे तिलकसिंह पेला कुशल सङ्गीतकारका रूपमा क्रियाशील देखिन्छन्। सङ्गीतमा स्नातकोत्तर गरी गुरुकुल चलाएर बसेका पेलासँग मीठो गला पनि छ। उनको गुरुकुलमा सिकेका सुदूरपश्चिम र अन्य क्षेत्रका प्रतिभा बजारमा देखा परिसकेका छन्।

आफ्नै स्वाभिमानमा रमाइरहेका इमानदार साधक हुन पेला। त्यस्तै अर्का गायक तथा सङ्गीतकार हुन् हरिदत्त फुलारा। सङ्गीतमा स्नातकोत्तर गरेर सांगीतिक क्षेत्रकै साधनामा तल्लीन छन् उनी। त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट सङ्गीतमा मास्टर्स गरिरहेका टेकेन्द्र नेपाली पनि पछिल्लो समायमा आशलाग्दो सङ्गीतकारका रूपमा देखा परेका छन्।

डोट्याली भाषामा लेखिएको गीत (जसै छाडे जन्मे थात पाएँ काली रात, बाँसुरी धुन भैसे घाडो जलाइरनो आँत) मा आधुनिक सङ्गीत भर्ने पहिलो सङ्गीतकार हुन अन्तराम विष्ट। लामो समय डेउडा गायनमा चर्चित भएपछि ४ वर्ष काठमाडौंमा बसी आधुनिक सङ्गीत सिकेर सुदूरपश्चिम फर्केका विष्टको अचेल त्यति सक्रियता देखिँदैन। दर्जनौ गीतमा सङ्गीत भरिसकेका रेशम चौधरीको पनि पछिल्लो समय सङ्गीत क्षेत्रमा सक्रियता देखिँदैन।  
एकताका राजधानीमा सांगीतिक माहोल जमाएका सङ्गीतकार हुन् सुदाम थापा। ०५३ सालमा आधुनिक सङ्गीतमा देखापरेका थापाले ४ वटा गीतमा स्वर पनि दिएका छन्। बीचमा केही वर्ष यो क्षेत्रबाट ओझेल परेका थापाको पुनः सक्रियता बढेको छ। गायक तथा सङ्गीतकार यज्ञराज भण्डारीको एलबम निस्केको दशक बितिसक्यो। त्यसपछि बजारमा उनको नयाँ गीत सुनिएको छैन।

सङ्गीतकारको सूचीमा अर्को नाम हो अराज केशव। पछिल्लो समय  सङ्गीतकारका पमा देखापरेका अन्य केही नाम हुन्–राजेश कैदी, शिशिर साधक, टेकेन्द्र नेपाली, ओम सुनार, विष्णु भट्ट, यज्ञराज भण्डारी, कुलदीप राई, गोपाल सुचिकार, ध्रुव बिस्को, अर्जुन सुनाम, टेकेन्द्र नेपाली, ओम सुनार, विनोद बजुरेली, सुरेन्द्र विष्ट यात्री, स्वराङ्क देवकोटा आदि। त्यस्तै एरेन्जरका रूपमा देखापरेका केही नाम हुन्–विनोद बाजुरेली, टेकेन्द्र नेपाली, ओम सुनार, कुलदीप राई, किशोरकुमार भण्डारी आदि।

वाद्यवादकहरू   
लोक, आधुनिक, पप गीतसङ्गीतको जुनसुकै क्षेत्रमा वाद्यवादकको  महत्वपूर्ण भूमिका हुन्छ। यस क्षेत्रमा पनि विगतदेखि हालसम्म वाद्यवाधनमा देखापरेका स्रष्टा हुन्–सितार वादनमा पद्मनाथ ओझा, सारङ्गीमा कित्थ्या वादी, खडक दास, गीतार किबोर्डमा कुलदीप राई, तबलामा तिलकसिंह पेला, दीपक चन्द, शिशिर साधक, वसन्त साधक, कमल विष्ट, जीवन घर्ती मगर, प्रकाश रोक्का, पियानो÷बाँसुरीमा सुदाम थापा, गीतार र मेण्डोलियनमा सिएन भण्डारी, कंगोमा उमेश खडायत, किबोर्डमा मेघराज भण्डारी र दिनेश रेग्मी। त्यस्तै पछिल्लो समयमा कंगो तवला र ढोलक वादकका रूपमा देखा परेका छन् जयप्रकाश जोशी। उनले भ्वाइस नेपाल, नेपाली तारा र नेपाल आइडलमा काम गरिसकेका छन्।  

निष्कर्ष
औपचारिक रूपमा यस क्षेत्रको आधुनिक गीतसङ्गीतले तीन दशक व्यतीत गरे पनि गायकगायिका र सङ्गीतकारको संख्यात्मक उपस्थिति न्यून देखिन्छ। गायिका त झन् औँलामा गनिने मात्रै छन्। गायकगायिका र सङ्गीतकारको तुलनामा गीतकारको संख्या बढी देखिए पनि गीत रेकर्डिङको इतिहास हेर्दा त्यो संख्यामा पनि सन्तोष मान्न सकिँदैन। एकातिर आधुनिक सङ्गीतप्रति जागरण ल्याउन नसक्नु अर्कोतिर पैसा खर्च गरेर रेकर्ड गराउने अवस्था सबैसँग नहुनुले पनि आधुनिक सङ्गीतमा सुदूरपश्चिम पछि परेको देखिन्छ।  

यहाँका कैयौं प्रतिभाले अवसर पाउन सकेका छैनन्। कैयौले आधुनिक सङ्गीतप्रति मोह हँुदाहुदै पनि सिक्ने ठाउँ र सिकाउने गुरु भेटाउन सकेका छैनन्। देश संघीयतामा गए पनि नयाँ बोतलमा पुरानै रक्सी भनेझै हरेक अवसरका लागि केन्द्रमै धाउनु पर्ने स्थिति कायमै हुनु दुखद् हो।

पूर्वका गायकगायिका र सङ्गीतकार यस क्षेत्रका लोकभाकाबाट समेत प्रभावित भई नयाँ शैलीमा प्रस्तुत भइरहेका छन् भने यस क्षेत्रका स्रष्टाले खासै उपलब्धि हासिल गर्न सकिरहेका छैनन्। त्यस्तै ०४३ सालमै नेपाली चलचित्रमा प्रतिनिधित्व गर्न पुगेको सुदूरपश्चिमले चलचित्र क्षेत्रमा  उपस्थिति कायम गरिराख्न नसक्नु दुःखको कुरा हो।
स्थानीय सञ्चार माध्यमबाट समेत यस क्षेत्रका गीतकार, सङ्गीतकार, गायकगायिकाले क्षमता र दक्षताअनुसार चिनिन पाएका छैनन्। राष्ट्रिय रूपमा केही रचना चर्चित भए पनि सम्बन्धित स्रष्टाको परिचय स्थापित हुन सकेको छैन।

आधुनिक सङ्गीतलाई जीविकोपार्जनसँग जोड्दै यहाँका उद्योगी, पर्यटन व्यवसायी र स्थानीय सरकारले व्यावसायिक रूप दिन पहल गर्नु पर्छ। साथै नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठान, प्रदेश सरकार र संस्कृति मन्त्रालयको पहलमा गीतसङ्गीतलाई संस्थागत रूपमा अघि  बढाउन उत्तिकै आवश्यक देखिन्छ।

आधुनिक संगीतसँगै गजल
ललिजन रावलको गजल ‘बाटो हेरीहेरी कति’ ०४५ सालमा रेकर्ड भएको थियो। आधुनिक गीतभन्दा अगाडी गजलमा देखा परेको छ सुदूरपश्चिम। गजल सिर्जना सङ्गीतबद्ध भई रेकर्ड भएको आधारमा ललिजन रावल सुदूरपश्चिमका पहिलो गजलकार हुन्। मध्य पश्चिमका समेत त्यतिबेला गजल रेकर्ड भएको भेटिन्न। उनको ‘बाटो हेरीहेरी कति’ बोलको गजल ०४५ सालमा रेकर्ड भएकोे थियो।

रावलको ‘एउटा परदेशी आई सोध्यो मेरो नाम’ बोलको चर्चित गजल नरेन्द्र प्यासीको सङ्गीत र देवीका बन्दनाको स्वरमा ०४७ मा रेकर्ड हुन गयो। ०४७ सालमा ललिजनकै ‘एकैछिनमा भेट भई बिछोड पनि भयो’ बोलको गजल नरेन्द्र प्यासीको स्वर तथा सङ्गीतमा म्युजिक नेपालमा रेकर्ड गरियो। पछि यही गीतलाई ०६० सालमा थुप्तेन भुटिया र रजनीले पनि गाए। यसरी ललिजनका दुई दर्जन जति गीत गजल रेकर्ड भएका देखिन्छन्।

०५४ सालमा पहिलो नारी गजलकारका रूपमा चिनिएकी श्रेष्ठ प्रिया पत्थरको ‘अन्तिम बिदा नभन्नु है’ बोलको गजल राजेशपायल राईको स्वर र रेशमलाल चौधरीको सङ्गीतमा रेकर्ड भएको देखिन्छ। त्यसै वर्ष रेशमकै सङ्गीतमा इन्दिरा गुरुङको स्वरमा ‘हे मेरो पीडा’ र ०७२ मा बुल मुकारुङको सङ्गीतमा ‘बहाना अनौठो’ बोलको गजल सरोजा देवानको स्वरमा रेकर्ड हुन गयो।

साठीको दशकदेखि भने यस क्षेत्रबाट आधुनिक गीत र गजल एकै साथ अगाडि बढ्ने क्रम रहेको देखिन्छ। यस क्षेत्रबाट सङ्गीतबद्ध गजल रचना गर्ने अन्य केही रचनाकारमा हेमन्त विवश, धिरज त्रिवेणी, राजेश कैदी, अभि अजनबी, रविबाबु प्रतिक्षा, दिव्य सागर साउँद, टोपेन्द्र शाह रसिक, वाइपी जोशी, विष्णु भट्ट, डिल्ली ओझा समर्पण आदि छन्। त्यस्तै गजललाई सङ्गीत गर्ने यस क्षेत्रका सङ्गीतकारमा पिके नारायण, तिलकसिंह पेला, शिशिर शाधक, राजेश कैदी, ओम सुनार, सुरेन्द्र चन्द आदि छन् भने गायनमा तिलकसिंह पेला, सिन्धु मल्ल, अर्जुन सुनाम, सुरेन्द्र यात्री, गोपाल सुचिकार आदि छन्।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

यस लेखमा एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ ...

Ncell Footer Ad