८ वैशाख २०८१ शनिबार
खेल

अार्सनलकाे पकड बलियाे

लन्डन– शीर्ष स्थानको आर्सनलले शनिबार इङ्लिस प्रिमियर लिगअन्तर्गतको खेलमा पुछारको टोली सन्डरल्यान्डलाई ४–१ को नतिजामा निराश पारेको छ ।

एलेक्सिस सान्चेज र ओलिभर जिरौडले दुई÷दुई गोल गरेपछि आर्सेन वेंगरको टोली आर्सनल शीर्ष स्थानमा पकड बलियो बनाउन सफल भयो । चाँडो गरी सम्पन्न खेलमा जित पाएपछि आर्सनल १० खेलमा २३ अंक बटुल्दै शीर्ष स्थानमा कायम रहेको छ । पराजित सन्डरल्यान्ड भने २ अंकमै सीमित भएपछि पुछारबाट माथि उठ्न सकेन ।

चिलीका फरवार्ड सान्चेजले १९ औं मिनेटमा गोल गरेपछि सन्डरल्यान्ड भ्रमणमा निस्केको आर्सनलले पहिलो हाफसम्म १–० को अग्रता लिएको थियो । एलेक्स ओक्सलाडे चेम्बरलिनको उत्कृष्ट क्रस सान्चेजले हेडमार्फत गोलमा परिणत गरेका थिए ।

जेर्माइन डिफोले सन्डरल्यान्डका लागि ६५ औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । आर्सनलका गोलकिपर पिटर चेकले विपक्षी खेलाडी डंकान ह्वाटमोरलाई पेनाल्टी बक्समा लडाएपछि सन्डरल्यान्डले पेनाल्टीको मौका पाएको थियो । फाउलवापत चेकले पहेँलो कार्डको दर्शन गरे । सेर्डान साकिरीको रक्षात्मक गल्तीबाट टोलीलाई जोगाउने प्रयासमा चेकले फाउल गरेका थिए । डिफोको गोलपछि पुछारको टोलीले शीर्ष स्थानको आर्सनलसँग अंक बाँड्ने संकेत गरे पनि त्यो धेरैबेर टिकेन ।

फ्रान्सेली फरवार्ड जिरौडले पाँच मिनेटको बीचमा दुई गोल गरेर आर्सनललाई पुनः लिकमा फर्काए । किरन गिब्सको क्रस जिरौडले ७१ औं मिनेटमा गोलमा परिणत गर्दै टोलीलाई २–१ ले अघि बढाएका थिए । उनले ७६ औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गरे । मेसुट ओजिलले दायाँ कर्नरबाट फालेको बल जिरौडले हेडमार्फत गोलमा परिणत गरेर अग्रता ३–१ ले फराकिलो पारेका थिए । पुछारको टोलीविरुद्ध विजयअन्तर थप फराकिलो पार्ने क्रममा सान्चेजले वेंगरको टोलीका लागि समय सकिन १२ मिनेट बाँकी रहँदा दोस्रो व्यक्तिगत गोल गरे । आरोन राम्सेको पास सहज रुपमा ट्याप गरेर सान्चेजले दोस्रो व्यक्तिगत गोल गरेका थिए ।

अंकतालिकामा शीर्षताका लागि पछ्याइरहेका म्यानचेस्टर सिटी, लिभरपुल र टोटेनह्यामले आ–आफ्नो खेल खेल्नुभन्दा केही समयअघि पाएको जितलाई आर्सनलका प्रशिक्षक वेंगरले ठूलो उपलब्धिका रूपमा बयान गरे । ‘हामी राम्रो लयमा छौं । यसलाई कायम राखिरहन सफल भएका छौं, यो ठूलो उपलब्धि हो,’ उनले भने, ‘प्रिमियर लिगमा राम्रो खेल्नु ठूलो कुरा होइन । राम्रो प्रदर्शन कायम राख्न सक्नु ठूलो कुरा हो । यहाँ सबै टोली एकसे एक छन् । सन्डरल्यान्डले पहिलो हाफमा हामीलाई दबाबमा राखेको थियो । तर हामी सही समयमा गोल गर्न सफल भयौं ।’

उपाधिका अन्य प्रतिद्वन्द्वीहरूले पनि राम्रो नतिजा ल्याइरहेकाले अहिल्यै उपाधिबारे सोच्नु हतार हुने उनले बताए । ‘हामीले अहिले उपाधि कल्पना पनि गरेका छैनौं । पक्कै पनि आर्सनलले खेल्ने भनेको उपाधिकै लागि हो, तर यस विषयमा कल्पना गर्न अहिले हतार हुन्छ । अझै लामो लिग बाँकी छ । भर्खर १० खेल सकिएका छन् । अझै २८ खेल खेल्नुछ,’ उनले थपे, ‘प्रिमियर लिगजस्तो कठिन प्रतियोगितामा पछाडिका खेलहरू गाह्रो हुन्छन् ।’
 

प्रकाशित: १४ कार्तिक २०७३ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App