coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाँचपोखरी–मेरा ट्रेक

पछिल्लो समय पर्यटन विकासका लागि गाउँगाउँमा जागरण बढ्दै छ। गाउँलेको सक्रियता बढ्दै छ। आफ्नै बलबुतामा पर्यटन गन्तव्य बनाउन लागि परेका छन् उनीहरू। यही सन्दर्भमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका युवाले नयाँ पदमार्ग ‘पाँचपोखरी–मेरा टे«क’ पहिचान गरेका छन्।

भ्रमण वर्ष सन् २०२० का लागि विकास र प्रवद्र्धन गर्न नेपाल सरकारले छनोट गरेका सय गन्तव्यमध्ये एउटा हो– पाँचपोखरी क्षेत्र। महाकुलुङ गाउँपालिकामा पर्ने पाँचपोखरीको प्रवद्र्धन गरी  पर्यटनबाट आयआर्जन गर्न गाउँपालिकाको अगुवाइमा महाकुलुङ पर्यटन सूचना केन्द्रका तन्नेरीहरूले नयाँ पदमार्ग एक्सप्लोर गरेका हुन्। 

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा पर्ने पाँचपोखरी क्षेत्रलाई केन्द्रमा राखेर नयाँ पदमार्ग पहिचान गरिएको छ। पाँचपोखरी सर्किट पूरा गर्न १० दिन पदयात्रा गर्नुपर्छ। पदयात्रामा हिमाली सौन्दर्य, किराती संस्कृति र जैविक विविधताको स्वाद पाइन्छ।  

केन्द्रका संयोजक विक्की कुलुङकाअनुसार सर्किट पूरा गर्न १० दिन समय लाग्छ। गाउँपालिका–१ स्थित बुङ गाउँबाट सुरु हुने पदमार्ग चलेम, हुर्हुरे, पाँचपोखरी, खोलाखर्क, तैमे, छेस्काम, गुदेल, साल्पापोखरी, सिलुछो, साउनेखर्क, गुदेल हुँदै बुङ आइपुग्दा सर्किट बन्छ। पदमार्गमा विशेष गरी वन्यजन्तु, जंगली फूल, जडीबुटी, हिमाल, तालतलैया, किरात कुलुङ लगायत बौद्धमार्गी शेर्पा समुदायको जीवनशैली र संस्कृति अध्ययन एवं अवलोकन गर्न सकिन्छ।

मध्यम खालको पदमार्ग भएकाले किशोरकिशोरीदेखि बुढापाकासम्म पदयात्रा गर्न सक्छन्। पदमार्गको सबैभन्दा अग्लो स्थान कोङकेलुछो (४,४६० मिटर ) हो। बुङ (१,६७७ मिटर) बाट सुरु हुने पदयात्रा कोङकेलुछो, पाँचपोखरी (४,३३६ मिटर) र सिलुछो (४,१५६ मिटर) सम्म पुग्छ। पदमार्गको पाँचपोखरी क्षेत्र आकर्षक छ जहाँ पाँचपोखरी छन्। हिउँदमा पोखरी हिउँले ढपक्कै ढाकिन्छ। बर्खामा वरपर जडीबुटी लगायत विभिन्न फूलहरू फूल्छन्। पोखरीमा नागपञ्चमी र पूर्णिमामा मेला लाग्छ। त्यतिबेला भक्तजन पूजापाठ गर्छन्। उनीहरू भगवान्सँग वर माग्छन्। यसबाट मनोकामना पूरा हुने जनविश्वास छ।  

पाँचपोखरी सेरोफेरोमा अरू पोखरी पनि छन्। माथि डाँडामा लामापोखरी, पाङग्रेपोखरी छन्। मेरा पिक, बरुङ्चे, चाम्लाङ पिकको पदयात्रा पनि यतैबाट गरिन्छ।
पदयात्रामा किरात कुलुङ समुदायको मृतात्मा बस्ने ठाउँ हो–पोम्लालुङ्ग देखिन्छ।  ‘पोम्ला’ को अर्थ मृतकको आत्मा र ‘लुङ्ग’को अर्थ ढुंगा। पोम्लालुङ्ग साबिक गुदेल गाविसको सिरानमा पर्दछ।

यात्रामा दर्शन गर्न सकिने अर्को पवित्र भूमि हो– साल्पापोखरी। सिलुछोडाँडाको फेदीमा अवस्थित पोखरी (३,४५८ मिटर) किरातीको पवित्रधाम मानिन्छ। उनीहरू पूजा गर्दा वा पितृलाई पुकार्दा यसको उच्चारण गर्छन्। त्यहाँ वैशाखे, साउने, भदौरे र मंसिर पूर्णिमामा पूजापाठ गर्नेको मेला लाग्छ। भक्तजन त्यहाँ पूजापाठ गरी भगवान्सँग आशीर्वाद माग्छन्। पूजामा गाईको दूध, भेटी, अक्षता र फलफूल चढाउने चलन छ।

हिउँदमा पोखरी हिउँले ढपक्कै ढाकिन्छ। पोखरीसँगै उभिएको सिलुछोडाँडा (४,१५६ मिटर) तीन जिल्ला सोलुखुम्बु, भोजपुर र संखुवासभाको संगम मानिन्छ। सिलुछोबाट हिमालको लामो लर्कन देखिन्छ। आँखै सामुन्ने दोर्जेलाक्पा, नुम्बुर, कार्यालुङ, गौरीशंकर, शिसापाङ्मा, क्वाङ्दे, चोयु, कुसुम कांगुरु, थार्मसेर्कु, मेरापिक, लुप्से, सगरमाथा, ल्होत्से, चाम्लाङ, मकालु, कन्चनजंगा, कुम्भकर्ण लगायत हिमाल दर्शन गर्न सकिन्छ।

सांस्कृतिक हिसाबले पनि पाँचपोखरी क्षेत्र समृद्ध छ। पदमार्ग क्षेत्रका गाउँमा कुलुङ समुदायको बाहुल्य छ। किराती समुदाय प्रकृति पूजक हुन्। उनीहरू किरात धर्म मान्छन्। त्यस्तै शेर्पा समुदाय बौद्धमार्गी हुन् भने क्षेत्री, बाहुन र दलितचाहिँ हिन्दू। उनीहरूका आआफ्नै रितिथिति र संस्कृति छ। गाउँमा मन्दिर, गुम्बा, देवताका थानहरू छन्। पाँचपोखरी क्षेत्र घुम्न काठमाडौंबाट निस्कने पदयात्रीले १२ दिन छुट्टयाउनु पर्छ। गाडीमा आउन र जान दुई दिन। बाँकी १० दिन पदयात्रामा बित्छ। अर्को विकल्प पनि छ–हवाईमार्गको। काठमाडौंबाट फाप्लु विमानस्थल उडेर त्यहाँबाट गाडीमा बुङ पुगेर पदयात्रा।   

कुलुङकाअनुसार काठमाडौंबाट गाडीमा जाँदा पहिलो बास पत्तालेमा हुन्छ। पत्तालेबाट गाडीमा बुङसम्म पुगेर दोस्रो बास बस्ने। त्यसपछि क्रमशः चलेम, खोलाखर्क, तैमे, छेस्काम, टिउ, साल्पा भञ्ज्याङ, साउने खर्क, गुदेल र सल्लेरीमा बास। सल्लेरीबाट गाडी वा हवाईजहाजमा फर्कन सकिन्छ।   पदमार्गका तैमे र साउने खर्कमा होटल तथा लज सुविधा छैन।  यी दुई ठाउँमा क्याम्पिङ गर्नुपर्छ। अन्यत्र सामान्य खाना र बास सुविधा पाइन्छ।

पदमार्गमा आवश्यक पर्यटकीय पूर्वाधार विकासमा गाउँपालिका जुटेको छ। खासमा प्रशस्तै पर्यटकीय संभावना बोकेको गाउँपालिका हो महाकुलुङ। साबिकका बुङ, छेस्काम र गुदेल गाविसलाई समेटेर गाउँपालिका बनाइएको। यसको सिमानामा मेरा पिक, सिलुछोडाँडा र केन्पोडाँडा छन्। गाउँपालिकाको क्षेत्रफल ६४८.५ वर्ग किमि छ। जनगणना ०६८ अनुसार जनसंख्या ११ हजार चार सय ५२ छ। गाउँपालिकामा कुलुङ, शेर्पा, दलित, क्षेत्री, बाहुनको बसोबास छ। सिंगो गाउँपालिकामा कुलुङको बाहुल्य छ। यहाँ किरात, बौद्ध र हिन्दू धर्माबलम्बीको बसोबास छ।

अन्त्यमा, स्थानीय युवाले पहिचान गरेको नयाँ पदमार्गको विकास र प्रवद्र्धनमा प्रदेश सरकार र पर्यटन बोर्ड लगायत सरोकारवालाहरूले हातेमालो गर्नु पर्ने देखिन्छ। युवाको होस्टेमा हामी सबैले हैँसे गर्नु पर्छ।  
कसरी पुग्ने ः काठमाडौंबाट विपी राजमार्गको खुर्कोट खण्ड,  घुर्मी भएर मध्यपहाडी लोकमार्ग हुँदै ओखलढुङ्गा बजारबाट सोलुखुम्बुको पत्तालेसम्म जीपमा ७ घन्टा। पत्ताले–बुङ जिपमा ५ घन्टा। अथवा काठमाडौं–फाप्लु ४५ मिनेट हवाईयात्रा। फाप्लु–बुङ जिपमा साँढे ४ घन्टा। बुङबाट १० दिन पदयात्रा।

कुमारी पदमार्ग
विक्की कुलुङ

संयोजक, महाकुलुङ पर्यटन सूचना केन्द्र
हामीले पाँचपोखरी–मेरा ट्रेकको पर्यटकीय नक्शा, बुकलेट र भिडियो बनाइसकेका छौं। महाकुलुङ गाउँपालिका थप पूर्वाधार विकास गर्दैछ। गाउँपालिका, प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड लगायतसँग हातेमालो गरेर हामी यो कुमारी पदमार्गको विकास र प्रवद्र्धन गर्ने छौं।  
सम्पर्क : ९८४२२६१३७५

प्रकाशित: ७ असार २०७६ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App