जेठ दोस्रो साता त्रिवेणीधाम पुग्दा नारायणी नदीको किनारमा गुरुकुलका कलिला नानी योगका विभिन्न आसनमा रमाउँदै थिए। असार पहिलो साता कागेश्वरी मनोहरा–६ स्थित एक निजी विद्यालयमा पुग्दा स्कुले नानीहरू उसैगरी ध्यानमा मग्न भेटिए।
नारायणी र मनोहरामा मात्र होइन, गुरुकुल र सन्त आश्रममा सीमित योग पछिल्लो समय मुलुकका धेरै स्कुल र घर–घरमा फैलिन थालेको छ। अभिभावकसँगै नानीहरूले गर्ने योगका आसनले र समाजको वातावरण सन्तुलित बन्दै छ। नेपाली समाजको हरेक क्षेत्रमा योगको प्रभाव बढ्दै गएको योग प्रशिक्षक सरिता रेग्मी सुनाउँछिन्। मन्टेश्वरीमा पढ्ने नानीदेखि सरकारी कर्मचारीसम्म सबैले योगमा रुचि देखाएको उनले सुनाइन्। ‘योग नेपालीको दैनिकीको एक अंग बन्न थालेको छ,’ उनले थपिन्, ‘यसबाट समाजमा सकारात्मक भाव बढ्दो छ।’
गुरुकुल अनि साधु–सन्त आश्रममा सीमित योग पछिल्लो समय निजी स्कुल र गृहस्थ आश्रममा झुल्किन थालेको छ।
डेढ दशकदेखि योग क्षेत्रमा लागेकी उनी एक दशकयता योग गर्ने चलन ह्वात्तै बढेको सुनाउँछिन्। उनको धारणासँग सहमत छन्, योग प्रशिक्षक हरिओम अधिकारी पनि। ‘हामीले दुई वर्षदेखि गाउँका बूढापाका र केटाकेटी जम्मा गरेर नियमित योग अभ्यास गर्दै आएका छौं,’ टोखा नगरपालिका–१ झोरका हरिओम अधिकारीले भने, ‘योग गर्न जम्मा भएका सर्वसाधारणमा सकारात्मक भाव बढेको महसुस भएको छ।’
योग गर्ने समूहका साथीभाइमाझ ध्यान अवधिभर मात्र होइन, गाउँ–समाजका अन्य कामका कुरामा पनि तालमेल बढ्दै गएको उनको बुझाइ छ। लामो समयसम्म सुसुप्त अवस्थामा जस्तै रहेको योगको पछिल्लो समयमा आएको जागरणले समाजलाई सकारात्मक प्रभाव पारेको छ। योगमा रुचि बढेसँगै सर्वसाधरणको खानपान र जीवनशैलीमा समेत परिवर्तन आउन थालेको छ। ‘योग गर्नुअघिसम्म माछामासु धेरै खाने गर्थे,’ रामकोटका प्रकाश गिरीले भने, ‘अहिले त्यस्ता खान्कीमा रुचि घटेको छ।’
योगको मूल खोज्दै नेपाल आउने पर्यटको संख्या पछिल्लो दिनमा बढ्दै गएको छ।
७ वर्षदेखि निरन्तर योग गरिरहेका उनी योगले सोच्ने शैलीमा समेत परिवर्तन ल्याउने बताउँछन््। यसमा बाबा रामदेवले सहजीकरण गरिदिएका छन्। पहिले–पहिले योग भनेको साधुसन्तले गर्ने भन्ने हुन्थ्यो। अहिले योग जोकोहीले गर्न सक्छन् भन्ने जनचेतना मानिसमा आइसकेको छ। यो पतञ्जली योगमा आधारित पुरानै विधा हो। नेता, अभिनेतामात्र होइन, बन्दुक काँधमा बोकेर डिउटी गर्ने सुरक्षाकर्मी समेत योगाभ्यासमा सहभागी भएको देखिन थालेका छन्। योगको आकर्षण स्वदेशीमा मात्र हैन, विदेशीमा समेत देखिन थालेको छ। योगका प्रशिक्षण विदेशमा हुने गरे पनि योगको मूल खोज्दै उनीहरू नेपाल आउने गरेको पाइन्छ। ‘अमेरिका र नेपालमा सिकेको योगमा धेरै भिन्नता भेटाए,’ केही समयअघि भक्तपुरको तेलकोटस्थित नेपाल योगा एकडेमीमा योग सिक्दै गरेकी एन्जिलाले भनिन्, ‘उता सतही रूपमा योग गरिन्थ्यो, यहाँ योगको मुहानमा पुगिँदैछ।’
उनले भनेजस्तै योगको गहिराइ खोज्दै नेपाल आउने विदेशीको सख्ंया पछिल्लो समय बढ्दो छ। आफ्नै देशमा अभ्यास गरिरहेका उनीहरू ‘असली योग’ सिक्न भन्दै भारत र नेपाल आउन थालेका हुन्। प्राकृतिक सुन्दरता र आध्यात्मिक गहिराइको संयोजन नेपाल रहेको र यही भूमिमा शारीरिक र मानसिक स्वास्थ्य सुधार्ने उपायमा लागेको उनीहरूको बुझाइ छ।
मनको शान्तिको लागि समेत योग सिक्न नेपाल आउने पर्यटकको संख्या बढ्दै गएको योग गुरु डा. चिन्तामणि गौतम सुनाउँछन्। भक्तपुरको तेलकोटमा रहेका नेपाल योगा एकडेमी र नेपाल योगा रिट्रिटमा विदेशी आउने क्रम बढेको उनले सुनाए। ‘वर्षमा दुई सय जति त शिक्षक बन्ने लक्ष्यका साथ आउने गर्छन्,’ उनले सुनाए, ‘यसबाहेक योगमा केही दिन रमाएर मात्र फर्कने पनि थुप्रै छन्।’
‘योग गर्नुअघिसम्म माछामासु धेरै खाने गर्थे,’ रामकोटका ३७ वर्षीय प्रकाश गिरीले भने, ‘अहिले त्यस्ता खान्कीमा रुचि घटेको छ।’
योगलाई शारीरिक रूपमा मात्र नभई मानसिक र अध्यात्मसँग पनि जोडेर योग बुझ्नु पर्ने उनी बताउँछन्। योगमा पिएचडीसमेत गरेका योग गुरु गौतम योगले पर्यटन अभिवृद्धिको लागि पनि राम्रो भूमिका खेल्न सक्ने बताउँछन्। उनले हिमाल चढ्नुअगाडि र हिमाले चढेपछि फ्रेस हुने भन्दै योग गर्न आउने क्रम बढेको सुनाए।
नेपालमा एक दर्जन जति व्यवस्थित योग केन्द्र रहेको जसमा विदेशी तथा स्वदेशीले परम्परागत तरिकाबाट योगका विभिन्न आसन सिक्ने गरेका छन्। कतिपयले त नेपालमा योग सिकेर विदेशमा शिक्षक बन्ने सोच समेत बनाएका छन्। नेदरल्याण्डमा बसेर बिदामा नेपाल आएका प्रकाश तिमल्सिना विदेशमा योगको क्रेज बढिरहेको सुनाउँछन्। ‘फर्केपछि स्वदेशमै योग सेन्टर खोल्ने सोच छ,’ उनले भने, ‘यसबाट आफ्नो स्वास्थ्य पनि राम्रो कमाइ पनि राम्रो।’ योग कुनै जाति, समुदाय, क्षेत्रको नभएर समग्र संसारको सम्पत्ति भएको बताउँदै यसले मानव जातिको कल्याण गर्ने उनले सुनाए।
त्यसैले होला, नेपाल योग एसोसियनले ‘योग, ध्यान, अध्यात्म र पर्यटन सँगसँगै’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ। ‘योगको माध्यमबाट संसारभर नेपाललाई चिनाउने अभियानका साथ आफूहरू अघि बढेको नेपाल योग एसोसियनका महासचिव राजन सिंखडाले बताए।
स्वस्थ्य, निरोगी, दीर्घजीवी हुनको लागि सबैभन्दा सरल र प्राकृतिक विधि योग रहेको सिंखडाको बुझाइ छ। ‘न हामी उपचार गरेर निरोगी हुन्छौं, न औषधी सेवन गरेर,’ उनी थप्छन्, ‘स्वस्थ खानपिन र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाए हामी निरोगी र ऊर्जावान बन्छौं।’ सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ तारिखका दिन यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइन थालिएको छ। नेपालमा भने २०७२ सालदेखि राष्ट्रिय योग दिवस माघ १ गतेलाई मानिएको छ। सरकारले २०७२ साउनमा उत्तरायण सुरु भएको दिन पारेर माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो।
भारतीय योग गुरु बाबा रामदेवले विभिन्न सञ्चारमाध्यमद्वारा योगको प्रचार–प्रसार सुरु गरेसँगै नेपालमा पनि योगप्रति मानिसको मोह बढ्न थालेको हो। सुरुका दिनमा टिभीमा बाबा रामदेवसँगै योग अभ्यास गर्ने नेपालीको संख्या निकै थियो। ‘हामीले बाबा रामदेवको योग हेरेरै आशन सिकेका हौं,’ ललितपुर, टीकाथलीका सुकदेव महर्जनले भने, ‘योग गर्दा मन शान्त र शरीरलाई आराम भएको महसुस भयो।’
६ वर्षदेखि योगासनमा रमाउँदै आएका उनी बिरामी भएको समयबाहेक अन्य समयमा १ घन्टाजति योगमा बिताउने गरेको बताउँछन्। उनको कुरासँग योग प्रशिक्षक रेग्मी पनि सहमत छिन्। ‘हो, विगतमा योग सिकाउने संस्था नभएका होइनन,’ उनले भनिन्, ‘एक दशकअगाडि बाबा रामदेव टिभीमा देखिन थालेपछि योगको प्रभाव निकै बढ्यो।’
के हो योग ?
आत्माको परमात्मासितको जोडलाई नै योग भन्ने गरिन्छ। पछिल्लो समय यसको परिभाषा बदलिएको छ। यसलाई शारीरिक र मानसिक समस्याको हलको रूपमा पनि लिन थालिएको छ। यसैले योगलाई स्वास्थ्य, शान्त र अध्यात्मको त्रिवेणी मान्छन्। कतिपयले योग र योगामा झुक्कीने गरेका छन्। योगमा ८ आसन हुन्छ। त्यसमा याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि, त्याग पर्छ। योगा त्यसमध्येको एउटा आसन हो।
नेपाल संस्कृत विश्वविद्यालय योग विभाग प्रमुख डा. हरिप्रसाद पोखरेलले नेपाललाई विश्वमै योग पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने बताउँछन्। अहिले बदलिँदो जीवनशैली तथा खानपानका कारण मानिसलाई स्वस्थ रहन पनि योग आवश्यक रहेको उनले सुनाए।
अन्जनकुमार थापा, नेपाल योग एसोसिएसन, उपाध्यक्ष
प्राचीन कालमा ऋषिमुनिहरूले गर्ने गरेका हरेक क्रियाकलाप प्राकृतिक उपचारको विधि तथा शारीरिक रूपमा गर्ने अभ्यास, जसलाई योग भनिन्छ। योगको सान्दर्भिकता दिन दुगुना र रात चौगुनाले बढेर आजको दिनसम्म आइपुग्दा त्यसको महत्वले थप स्थान पाएको छ।
मानिसको शरीरमा हुने विभिन्न प्रकारका समस्यालाई प्राकृतिक रूपमा आसन र प्रणायामको माध्यमबाट निको पार्न सकिन्छ भन्ने कुरा आजको दिनमा प्रमाणित भएको छ। अस्पतालमा उपचार हुन नसक्ने बिरामीलाई फिजियोथेरापीमार्फत् उपचार गराइनुले पनि योगको महŒव थप प्रष्ट भएको छ।
योग साधनाले व्यक्तिलाई प्रशस्त फाइदा त पु¥याउँछ नै साथै सकारात्मक सोच, व्यक्तित्व विकास, सादगीपूर्ण जिन्दगी तथा स्वास्थ्य रहन मद्दत गर्छ। हिमालय पर्वतको देश नेपाल, शिवको पवित्रभूमि पशुपतिनाथको वासस्थान भएकाले संसारका अन्य देशभन्दा योगको लागि नेपाल उपयुक्त हुन सक्छ। त्यसकारण नेपाललाई योगभूमिको रूपमा विकास गर्न सकिन्छ।
विश्वभर योगको महत्वबारे प्रचार–प्रसार भइरहँदा अमेरिका युरोप र अस्ट्रेलियालगायत विकसित मुलुकका नागरिक योगप्रति आकर्षित भएका छन्। अहिले वार्षिक करिब दुई हजारदेखि तीन हजार पर्यटक योग र साधनाको लागि नेपाल आउने गरेको तथ्यांक छ।
विभिन्न ट्रेकिङ कम्पनीले योग र ट्रेकिङलाई जोडेर टुर प्याकेज प्रस्तुत गर्ने गरेका छन्। साथै काठमाडौं र पोखरा जस्ता पर्यटकीय स्थलमा योग आश्रम तथा होटलले समेत योग अभ्यास गराउने गरेका छन्।
योग साधनाको लागि योगलाई महत्व दिएर योग होटल र योग रिसोर्ट खुल्ने क्रम जारी छ। संसारभरका पर्यटक अहिले नेपालमा योग टिचर्स तालिमका लागि आकर्षित भएका छन्। विद्यार्थीका रूपमा भर्ना भएर दुई सय र पाँच सय घन्टा योगसम्बन्धी अध्ययन र अभ्यास गरी योगा मास्टर बन्न सकिन्छ। यसरी योगा मास्टर भएकाहरू संसारभर गएर योग सिकाएर जीविकोपार्जन गर्न सक्छन्।
नेपालमा हरियाली चौर, चारैतिर वन–जंगल, पहाड, हिमशृंखला र सुन्दर सफा मौसममा चराको चिरविर सुन्दै सूर्योदयको समयमा गर्न पाइने योग, प्रणायाम संसारमै अद्वितीय हुन सक्छ। यो सुन्दर भूमिमा योगको माध्यमबाट अध्यात्म पर्यटनको सम्भावना देखिन्छ। भविष्यमा अन्तर्राष्ट्रिय योग विश्व विद्यालयको सुरुवात गर्न सकिएको खण्डमा नेपाल योगको उद्गम स्थल बन्न सक्छ।
प्रकाशित: ७ असार २०७६ ०३:०४ शनिबार