७ वैशाख २०८१ शुक्रबार
खेल

ब्याडमिन्टनमा स्वर्ण पदक बिजेता सम्मानित

काठमाडौं– ब्याडमिन्टनमा स्वर्ण पदक जितेर फर्केका तामाङ दिदीभाइ नङ्सलदेवी र रत्नजितलाई शनिबार जेस्ट ब्याडमिन्टन एकेडेमीले सम्मान गरेको छ ।

गत साता इस्लामबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा दिदीभाइले मिक्स डबल्समा स्वर्ण पदक जितेका थिए । उनीहरूले पाकिस्तानका मोहम्मद इरफान सइद भाटी र मेहमोना अमिनको जोडीलाई २१–१३, २१–१५ ले हराएका थिए । ब्याडमिन्टनमा नेपालले जितेको त्यो अहिलेसम्मकै ठूलो सफलता हो । यसअघि दुई भिन्नभिन्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सुमिना श्रेष्ठ र पूजा श्रेष्ठले महिला डबल्समा रजत पदक जितेका थिए । नङ्सल र रत्नजित सहितको ७ सदस्यीय टोली मंगलबार स्वदेश फर्केको थियो ।

स्वर्ण विजेता उनीहरूलाई नगदसहित सम्मानित गरिएको हो । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, जेस्ट ब्याडमिन्टन एकेडेमीका अध्यक्ष मधुसुदन पाठक र एकेडेमीका तालिम संयोजक तथा पूर्व राष्ट्रिय खेलाडी सुदीप योन्जन लगायतले सम्मान गरेका थिए ।

अध्यक्ष श्रेष्ठले जेस्ट ब्याडमिन्टनले सम्मान गरेर खेलाडीलाई हौसला बढाएकोमा आभार व्यक्त गरे । ‘नेपाली ब्याडमिन्टन खेलाडीले पनि अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न सक्छ भन्ने सन्देश दिदीभाइको जोडीले दिएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘हामीले पनि छाती फुलाउने मौका पायौं । निरन्तरको मिहिनेतले अब डबल्समा मात्र हैन सिंगलमा पनि पदक जित्न सक्छौं भन्ने मनोबल बढेको महसुस गरेका छौं । सिंगलमा समेत स्वर्ण पदक जित्ने लक्ष्यसाथ संघले आवश्यक तयारी गर्नेछ ।’

एकेडेमी अध्यक्ष पाठकले अन्तर्राष्ट्रिय स्तरमा पहिलोपटक स्वर्ण पदक जित्ने खेलाडीलाई सम्मानित गर्न पाउँदा खुसी लागेको अनुभव सुनाए । ‘खेलाडीको मनोबल बढाउनकै लागि हामीले सम्मान गरेका हौं,’ उनले भने,‘ एकेडेमी स्थापनाको छोटो समयमा यसरी सम्मान गर्न पाउनु हाम्रो लागि पनि खुसी विषय हो ।’

नङ्सलदेवीले सम्मानबाट ब्याडमिन्टनमा अझै राम्रो प्रदर्शन गर्ने प्रेरणा मिलेको बताइन् । गत महिना सम्पन्न प्रथम जेस्ट खुला ब्याडमिन्टनमा रत्नजित च्याम्पियन बनेका थिए । एकेडेमी झन्डै दुई महिनादेखि सञ्चालनमा आएको हो ।

प्रकाशित: १४ कार्तिक २०७३ ०४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App