७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘यो गणतन्त्र होइन, राज्य आतंकतन्त्र हो’

मृतक कुमार पौडेलको घरमा जम्मा भएका स्थानीय तथा आफन्त। तस्बिर: टंक/नागरिक

सर्लाही - प्रहरी कारबाहीमा मारिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादीका जनकपुर ब्युरो सदस्य एवं सर्लाही इन्चार्ज कुमार पौडेलका वर्षीय पिता खिलकराज पौडेलले छोराको हत्या भएको दाबी गरेका छन्। ‘निशस्त्र अवस्थामा रहेको मेरो छोरालाई भिडन्तको नाममा हत्या गरिएको छ,’ भावविह्वल अवस्थामा घरमै रहेका पौडेलले नागरिकसँग भने, ‘हिजो छोराको लास हेर्छु भन्दा पनि दिइएन, लास कहाँ लगेर राखिएको छ, अहिलेसम्म प्रहरीले कुनै खोजखबर गरेको छैन।’ राज्यले हत्या आतंक मच्चाएको र आफ्नो छोरालाई प्रहरीले नियोजित रुपमा मारेको पौडेलको आरोप छ।

मृतक कुमारका भाइ हरिकृष्ण पौडेलले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। ‘निशस्त्र व्यक्तिलाई हातमा पेस्तोल थमाएर, दोहोरो भिडन्तको नाममा हत्या गरिएको छ,’ उनले भने, ‘तपाई पत्रकारहरूले निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइदिनोस्।’ निष्पक्ष छानबिनको प्रत्याभूति नभएसम्म दाजुको शव नबुझ्ने समेत उनले बताए। स्थानीय शीतल बोहराले पनि निष्पक्ष छानबिनको माग गरे। ‘घटना शंकास्पद देखिएको छ,’ उनले भने, ‘त्यसैले निष्पक्ष छानबिन हुनुपर्छ।’

वागमती नगरपालिका–२, धरहरास्थित मृतक पौडेलको घरमा शुक्रबार बिहानैदेखि स्थानीय एवं आफन्तको भीड लागेको थियो। राज्यप्रति आक्रोशित उपस्थित सबैले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। बिहीबार दिउँसो २ बजे सर्लाहीकै लालबन्दी नगरपालिका–१ लखन्देही खोलादेखि पूर्व र चन्द्रपुर जंगल पश्चिम सडकमै प्रहरीको गोली लागेर ४७ वर्षीय पौडेलको मृत्यु भएको थियो। पौडेलसहित विप्लवका कार्यकर्ता दक्षिणबाट उत्तरतर्फ गइरहेको भन्ने विशेष सुराकीका आधारमा पछ्याउँदै गएको प्रहरी गस्ती टोलीको कारबाहीमा पौडेल मारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार प्रहरी टोलीलाई देख्नेबित्तिकै मोटरसाइकल छाडेर भाग्दै फायर खोलेपछि प्रहरीको जवाफी फायरमा पौडेलको घटनास्थलमै मृत्यु भएको हो। दुईवटा मोटरसाइकलमा चार जना रहेको र भाग्ने क्रममा अर्का एक व्यक्तिलाई समेत खुट्टामा गोली लागेको प्रहरीको दाबी छ। खुट्टामा गोली लागेका अर्का व्यक्तिसहित तीनजना जंगलतर्फ भागेको र खोजबिन गर्दा फेला पर्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनस्थलबाट विष्फोटका लागि प्रयोग हुने डेडकर्ड तीन फिट, फ्युज वायर पाँच फिट, मेड इन युएसए लेखिएको रिभल्भर एक थान तथा त्यसमा लाग्ने चार राउन्ड गोलीसहित पौडेलले बोकेको झोलाबाट कटुवा पेस्तोल थान–१ तथा त्यसमा प्रयोग हुने दुई थान गोली बरामद भएको दाबी गरेको छ। त्यस्तै अखिल नेपाल भूमिहीन संघ लेखिएको कसैको नाम उल्लेख नगरिएको परिचयपत्र दुई सय थान र ना२२प ६४ नम्बरको पल्सर एवं अनटेस्ट एफजेड गरी दुई थान मोटरसाइकलसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

फायर खोलेपछि जवाफी कारबाही :प्रहरी

पौडेलविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आगो लगाएको र संगठित अपराध, इलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीमा बम विष्फोट, इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीमा बम विष्फोट, इलाका प्रहरी कार्यालय हरिवनमा विष्फोटक पदार्थ तथा संगठीत अपराध मुद्धा दर्ता रहेको प्रहरी प्रवक्ता प्रनाउ राठौरले जानकारी दिए। मृतक पौडेलको शव पोस्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा राखिएको छ।

सर्लाहीकै वागमती नगरपालिका–२ धरहराका पौडेल चुरे भावर राष्ट्रिय एकता पार्टी स्थापना भएपछि सर्लाही अध्यक्ष बनेका थिए। सागरनाथ वन विकास परियोजनाको जमिन अतिक्रमण गरी बसोबास एवं खेतीपाती गरिरहेकाहरूको नेतृत्व गर्दै आएका पौडेल तत्कालीन नेकपा माओवादी पसेका थिए। माओवादी फुटाएका मोहन वैद्यसँगै पौडेल सोही पार्टीमा लागेर केन्द्रीय सदस्य बनेका थिए। वैद्य नेतृत्वको माओवादीबाट अलग्गिएका विप्लवले नयाँ पार्टी स्थापना गरेसँगै पौडेल स्थापनाकालदेखि सोही पार्टीमा आबद्ध भई भूमिगत बनेका हुन्। प्रहरी कारबाहीमा मारिएका पौडेल विप्लव समूहको अहिलेसम्मकै उपल्लोस्तरका नेता हुन्।

यता विप्लव समूहले भने निशस्त्र आफ्ना कार्यकर्तालाई काल्पनिक भिडन्तको नाममा गैरन्यायिक हत्या गरिएको दाबी गरेको छ। घटनाबारे निष्पक्ष छानबिन गर्न र त्यसका लागि सहयोग गर्न मानवअधिकारकर्मी, सञ्चारकर्मीसहित सरोकारवालाले आग्रह गरेको छन्।

दोहोरो भिडन्त कि नियन्त्रणपछि हत्या ?

प्रहरीले दोहोरो भिडन्तका क्रममा जवाफी कारबाहीमा पौडेलको मृत्यु भएको भने पनि घटना शंकास्पद देखिएको छ। दिउँसो दुई बजे भएको घटनाबारे जिल्लास्थित प्रहरी नेतृत्वले साढे पाँच घण्टापश्चात् मात्र सञ्चारकर्मीलाई इमेलमार्फत जानकारी गराएको थियो। साढे चार बजे प्रहरीले शव उठाएपछि मात्र स्रोतमार्फत घटनास्थलबारे सञ्चारकर्मीले जानकारी पाएका थिए। घटना हुनेबित्तिकै विभिन्न स्रोत मार्फत थाहा पाएका सञ्चारकर्मीले पटक–पटक फोन गर्दा पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई, प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राठौरले फोन उठाएका थिएनन्। एकैपटक साँझ साढे सात बजे जिल्ला प्रहरी कार्यालयबाट सञ्चारकर्मीलाई घटनाको विवरण इमेलमार्फत जानकारी गराइएको थियो। पत्रकारहरूलाई समेत घटना लुकाइनुले शंका उब्जिएको नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुर बताउँछन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर चोकबाट झन्डै तीन किलोमिटर उत्तरस्थित घटनास्थल पुग्दा खसीबाख्रा चराइरहेका स्थानीयले दोहोरो भिडन्त झल्कने गरी बन्दुक पड्किएको आवाज नसुनिएको बताएका छन्। बाख्रा चराइरहेकी एक महिलाले भनिन्, ‘हामी यहींनेर बिहानदेखि १२ बजेसम्म खेतमै काम गरेर घर फर्कियौं। दिउँसो तीन बजेतिर फेरि बाख्रा चराउन आउँदा प्रहरीले यता नआउनुस् भन्दै हामीलाई फर्काएपछि प्रहरीको लावालस्कर गाडी आयो अनि त्यसै फर्कियो।’

सञ्चारकर्मीहरूले विप्लवका नेताको प्रहरी कारबाहीमा मृत्यु भएको र लास जिपमा हालेर लगेको भनेपछि स्थानीय अचम्मित बनेका थिए। अर्का स्थानीयले गोली पड्केको आवाज नसुनिएको बताए। ‘दोहोरो भिडन्त भए त बररर गोली चलेको आवाज सुन्नुपर्ने हो तर त्यस्तो कुनै आवाज सुनिएन,’ ती स्थानीयले भने।

सत्ताधारी दलकै कार्यकर्ताको आरोप

विप्लव इन्चार्ज पौडेलको दोहोरो भिडन्तका नाममा ‘हत्या गरिएको’ सत्ताधारी दलकै नेता कार्यकर्ताले आरोप लगाएका छन्। तत्कालीन एकीकृत नेकपा माओवादीका हरिवन नगर इन्चार्ज एवं हाल नेकपाका नेतासमेत रहेका इन्द्र पाठकले पौडेलको गैरकानुनी हत्या भएको दाबी गरेका छन्। उनले बिहीबार राति पौने नौ बजे आफ्नो फेसबुकमा कुमार पौडेलको फोटो अनि हसिँया–हतौडा अंकित लोगोसहित लेखेका छन्, ‘गैरकानुनी हत्या ! रगतको होली बन्द गरी तुरुन्त वार्ताको वातावरण बनाई परिस्थितिलाई सामान्य बनाऊ, होइन भने ज्ञानेन्द्रको हबिगत नहोला भन्न सकिन्न।’

त्यस्तै नेकपाका केन्द्रीय सदस्य केशव ढुंगानाले आफ्नो फेसबुकमा लेखेका छन्, ‘आज कुमार पौडेल राज्यको तर्फबाट मारिएको खबर सुन्दा दुःख लागेको छ। दोहोरो भिडन्त नभई यो गैरन्यायिक हत्या हो भने कदापि राम्रो भएन।’ उनले थपेका छन्, ‘अतः मेरो पार्टीका सिनियरहरूलाई सुझाव दिन चाहन्छु कि विद्रोहविरुद्ध राज्यको तागत प्रयोग नगरौं, अधिकतम प्रयास गरी वार्ताद्वारा नै समस्याको समाधान खोजौं।’

त्यस्तै तत्कालीन नेकपा एमालेसम्बद्ध अनेरास्ववियुका नेता श्रीकृष्ण उप्रेतीले पौडेलमाथि दोहोरो भिडन्तको नाममा बर्बर आततायी रूपमा हत्या गरिएको दाबी गरेका छन्। बिहीबार राति पौने १० बजे फेसबुकमा उनले लेखेका छन्, ‘चुरे–भावरको आन्दोलनताकादेखि नै प्रत्यक्ष चिनेको मैले उहाँलाई, त्यसपछि पनि सुकुम्बासीहरूको हक र हितका लागि कयौं पटक जेलनेल भोगेकै देखेको, पछिल्लो समय पनि एक कम्युनिस्ट पार्टीको निकट रहेर सर्लाहीका सुकुम्बासीलगायत तमाम शोषित–पीडितहरूको मुक्तिकै खातिर लडिरहेकै अवस्थामा उहाँमाथि बर्बर र आततायी रूपमा दोहोरो भिडन्तका नाममा हत्यासमेत गरियो, यो अमानवीय र आपराधिक कदमको जति विरोध गरे पनि कम हुन्छ।’

‘परिवार सम्पर्कमा आएका छैनन्’

मृतक पौडेलको शव दुई दिनदेखि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमै छ। शव पोस्टमार्टमको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिए। शरीरमा गोली रहे नरहेको यकिन गर्न एक्सरे एवं पोस्टमार्टमको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै प्रनाउ राठौरले भने ‘मृतकका परिवारका सदस्य कोही पनि हाम्रो सम्पर्कमा आउनुभएको छैन। हामी सम्पर्कको प्रयास गरिरहेका छौं।’
मृतक पौडेलका भाइ हरिकृष्णले भने प्रहरीबाट कुनै खबर नआएको बताए। ‘लास कहाँ राखिएको छ भन्ने हामीलाई कुनै खबर गरिएको छैन,’ उनले भने, ‘हिजो बुबा र भाञ्जा नवलपुरमा शव हेर्न जाँदा पनि दिइएन।’

प्रकाशित: ७ असार २०७६ ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App