coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मेयरले भ्रष्टाचार गरेको उपमेयरको आरोप

रौतहट– रौतहटको ईशनाथ नगरपालिकाकी उपमेयर हुस्नआरा खातुनले नगरप्रमुख र प्रशासकीय प्रमुख मिलेर कार्यपालिकालाई बाइपास गरी व्यापक भ्रष्टाचार गरेको आरोप लगाएकी छन्। लक्ष्मीनियास्थित आफ्नै निवासमा शुक्रबार पत्रकार सम्मेलन गरी उपमेयर खातुनले निमित्त प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुख मिलेर नगरपालिकालाई मेयरमुखी बनाएको आरोप लगाएकी हुन्।

संविधानले उपमेयरलाई दिएको अधिकारको वेवास्ता गरी मेयर सन्तोष मेहता र निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताको मिलोमतोमा मनोमानी ढंगबाट बजेट सिध्याउने दाउमा धमाधम कमसल र गुणस्तरहिन कार्य गरेर चरम भ्रष्टाचार बढाएको आरोपसमेत उपमेयर खातुनले लगाएकी छन्। उपमेयरको सम्पूर्ण अधिकारलाई बाइपास गरेर दुवैजनाले नैतिक तथा आर्थिक भ्रष्टाचार गरेको आरोप उपमेयर खातुनले लगाएकी हुन्।

चालु आर्थिक बर्षको अन्त्य हुन लाग्दा पनि वडाहरुको बजेट, उपमेयरको बजेट र मेयरको बजेट कति सिलिंग गरिएको सम्बन्धमा कुनै जानकारी नदिएको, जानकारी लिन खोज्दा मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृतले दिन नमानेको आरोप पनि उपमेयर खातुनको छ। उपमेयरलाई नगरपालिकाको कामसम्बन्धी कुनै जानकारी नै नगराउने नियत दुवैजनाको भएको आशंका उपमेयरको छ।

अहिलेसम्म न्यायिक इजलाशसमेत बन्न नसकेको गुनासो गर्दै उपमेयर खातुनले न्यायिक समितिको नाममा निस्कने बजेट मेयरका मान्छेहरु उपभोक्ता समिति बनाएर चलाउने गरेको आरोप लगाउँदै न्यायिक समितिको बजेटबारे नै छानबिन हुनुपर्ने बताएकी छन्।

बहुमत सदस्य भए पनि कार्यपालिकालाई वाइपास गरेर मेयर सडक बोर्डको रकमबाट निर्माण भएको बाटो, आफनै नातागोतालाई उपभोक्ता समितिमा राखेको, विजुलीका सामान लगायत आवश्यक सामग्री खरिदमा चरम अनियमितता गर्दै आएको भए पनि सम्बन्धित निकायबाट कुनै वास्ता नगरिँदा आफू आश्चर्यमा परेको बताएकी छिन्।

ईशनाथ नगरपालिकाको मेयर सन्तोष मेहताले उपमेयर खातुनद्धारा लगाइएको आरोप सरासर गलत रहेको दाबी गरेका छन्। रौतहटको १८ वटा स्थानीय तहमा रहेका उपमेयर भन्दा बढी सेवासुविधा यहाँको उपमेयरलाई दिइएको बताउँदै मेयरसँग बहुमत नरहँदा आपसी सहमति एवं समझदारीमा सम्झौता गरेर विकास निर्माण लगायत अन्य कार्यहरु द्रुत गतिमा बढाइएको मेयर मेहताले स्पष्ट पारेका छन्। कुनै पनि विकास निर्माणको काम हुन लाग्दा केही व्यक्तिहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी गराएको र कैयौँपटक टोली आएर यथार्थ स्थिति बुझिसकेको दाबी पनि मेयर मेहताले गरेका छन्।

नगरपालिकामा संस्थागत भ्रष्टाचार नरहेको, विकास निर्माणमा सक्रिय भुमिका गरिरहेको तथा उपमेयरमा कुनै गल्ति नभएको तर उनको श्रीमानको कारण जानी जानी यस्ता समस्याहरु खडा गरिएकोमा दुख व्यक्त गर्दै उपमेयरको पीडा कम गरेर आउँदो १० गते आगामी आर्थिक बर्ष २०७६÷०७७ को योजना छनौट गरेर नगर अधिवेशन सम्पन्न गर्न  आफूहरु लागिपरेको मेयर मेहताले स्पष्ट पारेका छन्।

प्रकाशित: ६ असार २०७६ १२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App