काठमाडाैं– चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन्।
चिनियाँँ राष्ट्र प्रमुखबाट १४ वर्षपछि यो पहिलो पटक उत्तर कोरियाको भ्रमण भएको पनि समाचारमा जनाइएको छ। राष्ट्रपति सी चीनको दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार प्योङयाङ पुगेका हुन्। त्यहाँ उनले उत्तर कोरियाली नेता किम जोङ अनसँग द्विपक्षीय वार्ता गरे। चीन र उत्तर कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको यस वर्ष यी दुई देशले ७० औँ वर्षगाँठ मनाइरहेका छन्।
यसै उपलक्ष्यमा चिनियाँँ राष्ट्रपति सी उत्तर कोरियाको औपचारिक भ्रमणका लागि पुगेकाे बताइएको छ। चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ् अनको उपस्थितिमा दुबै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउने सम्बन्धी एक सम्झौतामा पनि बिहीबार हस्ताक्षर भएको थियो।
आर्थिक तथा पराम्परागत सम्बन्ध कायम रहँदै आएका यी दुई देशबीच राष्ट्रपति सिको यस भ्रमणबाट परम्परागत सम्बन्धमा नयाँ अध्याय शुरु भएको प्रतिक्रिया राष्ट्रपति सिले नै दिएका छन्। राष्ट्रपति सिले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको धारणा उत्तर कोरियामा रहँदा व्यक्त गरेका थिए।
चीन र उत्तर कोरियाबीचको असल सम्बन्धले दुई देश र ती देशका नागरिकका साथै विश्व तथा क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका लागि पनि प्रत्यक्ष रुपमा लाभ पुग्ने धारणा चिनियाँ राष्ट्रपति सिले राखेका थिए।रासस
प्रकाशित: ६ असार २०७६ ११:४३ शुक्रबार