coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विप्लव समूहका ८५ नेता कार्यकर्ता जेलमा

काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८५ नेता/कार्यकर्ता जेल परेका छन्। आतंककारी तथा विध्वंसात्मक गतिविधि गरेको अभियोगमा पक्राउ परेका ५ सय २ नेता/कार्यकर्तामध्ये ८५ जनालाई कारागार चलान गरिएको हो।

प्रहरीका अनुसार कारागारमा रहेका र अनुसन्धानपछि रिहा भएकामाथी ४ सय ७४ वटा मुद्दा दर्ता गरिएको छ। आतंककारी, विध्वंसात्मक तथा संगठीत अपराध र लुटपाटमा संलग्न रहेको अभियोग लगाउँदै नेकपामाथी २०७५ फागुन २ गतेको मन्त्रिपरिषदले प्रतिवन्ध लगाउँदै उसका गतिविधि नियन्त्रणमा चारवटै सुरक्षा निकाय परिचालन गरेको छ। गत फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपालाई लुटेरा समूहको संज्ञा दिदै सरकार चुप लागेर नबस्ने चेतावनी दिएका थिए। त्यसको ५ दिनपछि विप्लवमाथी सरकारले प्रतिवन्ध नै लगाएको थियो।

सरकारले प्रतिवन्ध लगाएपछि विप्लव सहित केन्द्र देखि स्थानीय स्तर सम्मका नेता कार्यकर्ता भूमिगत भइसकेका छन्। उनीहरुको खोजीमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयन्त्रलाई विशेष सुरक्षा कार्यदलका रुपमा परिचालन गरिसकेको छ। चारवटै सुरक्षा निकायका विशेष अनुसन्धान टोलीलाई विप्लवका नेता/कार्यकर्ता खोजिमा परिचालन गरिएको गृह मन्त्रालय स्रोतको भनाई छ। केही दिन अघि मात्रै सरुवा भएका ७ वटै प्रदेश अन्तर्गतका नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआइजीहरुलाई गृहमन्त्री रामबहादुर थापाले विप्लवका गतिविधि पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका छन्। पछिल्लो पटक सोलुखुम्बुमा विप्लव  समूहकै कारण प्रहरी चौकी छोडेरै हिड्नु परेको घटनालाई गम्भीर रुपमा लिदै त्यस अनुसार नै सुरक्षा कारबाही बढाउँन गृहमन्त्री थापाले दुवै निकायका डीआइजीहरुलाई निर्देशन दिएको स्रोतको भनाई छ।

प्रहरी प्रवक्ता डीआइजी विश्वराज पोखरेलले शान्तिसुरक्षामा खलल पुर्‍याउँने र विध्वंसात्मक गतिविधिमा संलग्न जुनसुकै व्यक्ति वा समूह भएपनि उन्मूक्ति नपाउँने गरी आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको बताए।

बिहीबार प्रहरी कारबाहीमा चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको छ। बिहीबार दिउँसो सर्लाहीकै लालबन्दी नगरपालिका–१, चुरे क्षेत्रस्थित लखन्देही खोलामा प्रहरी कारबाहीमा पौडेलको मृत्यु भएको हो। प्रहरीले दोहोरो भिडन्तमा उनको मृत्यु भएको दावी गरेको छ। यस अघि एक कार्यकर्ताको भोजपुरमा प्रहरी कारवाहीमा मृत्यु भएको थियो।

प्रकाशित: ६ असार २०७६ १०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App