७ वैशाख २०८१ शुक्रबार
अर्थ

भारत र चीनले पठाउँछन् दाजुभाइलाई खुवाउने ओखर

काठमाडौं– तिहारमा दिदीबहिनीले दाजुभाइलाई परिकारका रुपमा खुवाउने ओखर, बदाम चीन र भारतबाट आउने गरेको छ । देशमा ओखर उत्पादनका लागि उपयुक्त भूगोल हँुदाहुँदै पनि परनिर्भता बढ्दै जाँदा ओखर आयातमा बर्सेनि करोडौं रुपैयाँ बिदेसिने गरेको छ ।

सरकारी तथ्यांक अनुसार तिहारमा भाइमसलाका रुपमा प्रयोग गरिने ओखर भारत, चीन र फ्रान्सबाट ल्याइन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको गत आर्थिक वर्षको तथ्यांक अनुसार ५ करोड ९ लाख ४६ हजार रुपैयाँभन्दा धेरैको ओखर आयात भएको छ ।  

गत आर्थिक वर्षमा ५ करोड ९ लाखको ओखर आयात
नेपालको भूगोल नै ओखर, बदाम, गोडागुडी फल्ने सुक्खा जमिन हो, तर  सरकारी नीति र उपयुक्त कार्ययोजना नहुँदा परनिर्भर हुनुपरेको छ

तीन देशबाट दुई शीर्षकमा ओखर आयात भएको छ । ‘वालनट इन सेल’ शीर्षकमा भारत, चीन र फ्रान्सबाट १ लाख ७४ हजार १ सय ४५ किलोग्राम आयात भएको आधिकारिक तथ्यांंक छ । यो ओखर ल्याउँदा २ करोड २९ लाख २५ हजार रुपैयाँ बिदेसिएको छ ।

ओखर सबैभन्दा धेरै भारतबाट १ लाख ७३ हजार ५ सय ६० केजी आयात भएको छ भने चीनबाट ५ सय ६० केजी मात्र ल्याइएको छ । फ्रान्सबाट २५ केजीमात्र आएको छ ।

त्यस्तै, ‘वालनट, सेल’ शीर्षकमा भारतबाट मात्रै ६७ हजार ७ सय १५ केजी ओखर आयात भएको छ । केन्द्रको तथ्यांक अनुसार यो ओखरको मूल्य २ करोड ८० लाख २० हजार ८ सय ७१ रुपैयाँ परेको छ ।

ओखर, बदाम उत्पादनमा नेपालको भूगोल अति उपयुक्त हँुदाहँुदै छिमेकी देश भर पर्नु दुःखको विषय भएको कृषिविज्ञ कृष्ण पौडेलले बताए । ‘नेपालको भूगोल नै ओखर, बदाम, गोडागुडी फल्ने जमिन हो,’ पौडेलले भने, ‘सरकारी नीति र उपयुक्त कार्ययोजना नहुँदा परनिर्भर हुनुपरेको छ ।’

उनका अनुसार देशको कृषियोग्य ५२ प्रतिशत भूभागमा बदाम, ओखर फल्छ । ओखर खासगरी सुक्खा जमिनमा फल्ने भएकाले नेपालको पहाडी भेग अति उत्तम भएको पौडेलको भनाइ छ । ‘नेपाल सरकार, कृषि मन्त्रालय, विभाग र विज्ञहरू सबैले भारत, युरोपको जस्तो समथर भूभागको कृषि हेरेर नेपालको नीति बनाउँछन्,’ पौडेलले भने, ‘अरुको सिको गर्दा यहाँको कृषि घट्दै गएको छ ।’

पौडेलका अनुसार भौगोलिक अवस्था अनुसार जे फल्छ त्यो नगर्ने तर जे हँुदैन त्यसमा जोडबल लगाउने नीतिले कृषि बिग्रिँदै्र गएको छ ।

विज्ञका अनुसार पछिल्लो समय हिउँदे बालीको उत्पादन घट्दै गएको छ । धान, मकै, गहँु, कोदो, जौ जस्ता नेपालका मुख्य बालीको उत्पादन उत्साहजनक छैन । परम्पागरत बालीको खेती नै हुन छोडेको अवस्थामा मुख्य बालीको उत्पादन पनि कम हँुदा आयात बढ्दै गएको छ ।

यसको प्रमुख कारण सरकारको कृषिप्रतिको उदासीनता र युवाको विदेश पलायन भएको पौडेल औंल्याउँछन् । विदेशी मुलुकले आफ्नो उत्पादन बढाउँदै लगिरहेका छन् तर नेपालको सन्दर्भमा भने ठिक उल्टो छ । कृषिप्रधान देश हुँदाहँुदै पनि सरकारको नीति र कार्यक्रम बाली उत्पादनमुखी हुन नसकेको विज्ञ बताउँछन् । ‘उत्पादन बढाउने, कृषिमुखी कार्यक्रम नै भएनन्, भएका पनि लागू हुन सकेनन्,’ पौडेलले भने, ‘यस्तै अवस्थाबाट जाने हो भने अब भारतबाहेक युरोपका मुलुकबाट खाद्यान्न ल्याएर जिविका चलाउनुपर्ने अवस्था आउने छ ।’

पछिल्लो समय चीनतिरको आयात बढ्दै गएको छ । ओखरकै उदाहरण लिन सकिन्छ । अघिल्लो आर्थिक वर्षमा चीनबाट ‘वालनट इन सेल’ शीर्षकमा जम्मा १ सय २० केजी ओखर आयात भएकोमा गत आर्थिक वर्षमा ५ सय ६० केजी पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस शीर्षकमा भारतबाट १ लाख ७८ हजार १ सय १४ केजी ओखर आयात भएको थियो । अघिल्लो आर्थिक वर्षमा ‘वालनट सेल्ड’ शीर्षकको ओखर चीनबाट १ हजार ८ सय केजी आयात भएको थियो भने गत आर्थिक वर्षमा यो ओखर चीनबाट आएको छैन । ओखर ल्याउने देशमा गत आर्थिक वर्षमा फ्रान्स पनि थपिएको छ ।  

प्रकाशित: १४ कार्तिक २०७३ ०४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App