८ वैशाख २०८१ शनिबार
राजनीति

एउटै सडकमा तीन योजना


कैलाली–गौरीगंगा नगरपालिकाको बढैपुरदेखि तालबन्द जोड्ने सडकलाई यसपटक बजेटै छुट्याइएन। तर नगरपालिकाका मेयर र वडा नम्बर ७ का वडाध्यक्षको घर भएर जाने एउटै सडकमा तीन\तीनवटा योजना पारियो। मसुरियाको साझा बजारदेखि तालबन्द जोड्ने अर्को सडकलाई प्रदेश र संसद् विकास कोषले तीनवटा योजना दिएको छ। जुन योजना एउटै सडकमा तेह्रिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले मसुरियाको साझा बजारदेखि तालबन्द जोड्न कालोपत्रे गर्ने भनेर ३० लाख रूपैयाँ छुट्याएको सडकमा पुनः क्षेत्र नम्बर ४ का संसद् लेखराज भट्टले सोही सडकमा नाम परिवर्तन गर्दै मसुरिया–तालबन्द बाटो कालोपत्रे योजना बनाए। यो योजनामा संसद् विकास कोषको २६ लाख ६० हजार रूपैयाँ छुट्याइएको छ। 

सोही सडकलाई खनियाताल सडक निर्माण भनेर पुनः प्रदेश सरकारले ३० लाख बजेट छुट्यायो। स्रोतका अनुसार एउटै सडकमा एउटै स्थानमा तेह्राएर बजेट हालिएको छ। ‘कार्यकर्ता पोस्न र आफ्ना निकटका ठेकेदारलाई काम दिन एकै सडकमा तीन÷तीनवटा बजेट दिइएको हो,’ स्रोतले भन्यो, ‘त्यसमा पनि पहुँचको आधारमा मेयर र वडाध्यक्षको घर भएर जाने एउटै बाटोमै तीनवटा योजना हालियो।’

प्रदेश सरकारले प्रकाशित गरेको रातो किताबमा उल्लेख भएको साझा बजार–तालबन्द सडकखण्ड निर्माणका नाममा बजेट छुट्याइए पनि गत कात्तिक २६ गते क्षेत्र नम्बर ४ का संसद लेखराज भट्टले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको २४ लाख ६० हजार रूपैयाँ सोही सडकलाई मसुरिया–तालबन्द नामाङ्कण गरी  योजना बनाएका हुन्।

मसुरियाको साझा बजारदेखि तालबन्द जोड्ने अर्को सडकलाई प्रदेश र संसद् विकास कोषले तीनवटा योजना दिएको छ, जुन योजना एउटै सडकमा तेह्रिएको छ।
 

आफूहरूको गाउँका लागि आएको बजेटलाई पनि खनियाताल सडक भनेरै गौरीगंगा नगरपालिका वडा नम्बर ७ कै तालबन्द सडकमा सर्भे गरिएको बताउँदै मोहन्याल गाउँपालिका–५,का स्थानीय प्रेम बुढामगरले भने, ‘तालबन्द भएर खनियाताल जाने बाटोका लागि ल्याइएको बजेटलाई साझा बजार–तालबन्दमै सर्भे गरियो।’ मोहन्यालका स्थानीयले थाहा पाएपछि त्यो बजेटमाथि ल्याउन प्रयास गरिएको उनले बताए। ‘हाम्रो नाममा आएको बजेट पनि सोही सडकमा तेह्राएर हाल्न खोजेपछि क्षेत्र नम्बर ४ का संसद् लेखराज भट्टलाई भनेर त्यहाँबाट कटाएर माथि ल्यायौँ,’ उनले भने, ‘धन्नै हाम्रो बजेट पनि तलै हालिसकेका रहेछन्।’ पहुँचक भरमा चुरे क्षेत्रको बजेटलाई पनि तराईमै हाल्न खोजिएको उनले दुखेसो पोखे। बुढामगर तालबन्द–खनियाताल सडकखण्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष पनि हुन्।

आफूले साझा बजारबाट ल्याएको बजेटलाई खनियातालसम्म ११ किलोमिटर नयाँ ट्रयाकसमेत खोलेको उनले बताए। ‘हाम्रो बजेट तलै रोकिएको थियो,’ उनले भने, ‘लडाइँ लडेरै आफ्नो बजेट ल्यायौँ र नयाँ ट्रयाक खोल्यौँ।’

एकै सडकलाई तीन–तीनवटा बजेट दिँदा अन्य ठाउँमा नहेरिएको स्थानीय बताउँछन्। ‘हाम्रै सडकमा तीन–तीनवटा बजेट हालियो तर सोही सडकसँगकै शाखा सडकमा भने ग्राभेलसमेत हालिएको छैन,’ नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘उच्च पदीयले नै आफूखुसी आफ्नै घर टोल भएर जाने सडकमा तीन–तीनवटा बजेट हाले।’ गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवाले क्रमागत योजनाअनुसार बजेट हालिएको बताए। उनले भने, ‘एउटा सडकलाई टुङ्गोमा पु–याएपछि अर्को सडक बनाउने भनेरै क्रमागतरूपमा बजेट हालिएको हो। सबै सडक एकैपटक बनाउन सकिँदैन।’ संसद् विकास कोषको रकम पनि सोही सडकलाई लक्ष्यमा पु–याउन भनेरै हालिएको उनले बताए। उनले भने, ‘खनियाताल सडकको ठेगाना गौरीगंगा वडा नम्बर ७ भनिए पनि त्यो योजना मोहन्याल गाउँपालिकाकै हो।’ खनियाताल सडकका बारेमा भने ‘प्रिन्ट मिस्टेक’ भएको उनले बताए।

एउटै सडकमा तीनवटा योजना भएको बारे आफूलाई थाहा नभएको बताउँदै कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का संसद् लेखराज भट्टले भने, ‘प्रदेश र स्थानीय तहले हालेको बजेटका बारेमा मलाई थाहा भएन, संसदीय विकास कोषको रकम गतल ठाउँमा भए सच्चाइने छ।’ अनुगमन गरेर कमी कमजोरी भएमा संसदीय विकास कोषको रकम अर्काेतर्फ स्थानन्तरण गरिने समेत उनले बताए।

 

प्रकाशित: ६ असार २०७६ ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App