coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

धनकुटाको चुलीवनबाट प्याराग्लाइडिङको परीक्षण

धरान– धनकुटा जिल्लाको धनकुटा नगरपालिकास्थित चुलीवनबाट पनि प्याराग्लाइडिङको सफल उडान परीक्षण भएको छ।

साहसिक खेल पर्यटनअन्तर्गतको प्याराग्लाइडिङको बिहीबार परीक्षण सफल भएको हो। धनकुटा नगरपालिका ७ र ८ मा पर्ने चुलीवनबाट धरानका पाइलट राम राईले टेण्डम उडान गरेका थिए। बुढासुब्बा प्याराग्लाइडिङ प्रालि धरानका सञ्चालकसमेत रहेका पाइलट राईले चुलीवनबाट उडेर तमोर खोला किनारको याक्चना घाटमा सफल अवतरण गरेका थिए। उनीसँग स्थानीय नवीन केसी पनि उडेका थिए। गत वर्ष पनि चुलीवनबाट उडान परीक्षणको प्रयास भएको थियो। त्यसबेला प्रतिकूल मौसमले परीक्षण हुन पाएको थिएन।

नगरको पर्यटकीय विकासको सम्भावना खोजी गर्न नगरपालिकाले प्याराग्लाइडिङको उडान परीक्षण गरेको नगरप्रमुख चिन्तन तामाङले बताए। परीक्षण सफल भएकोले निजी क्षेत्रलाई व्यावसायिक उडानका लागि आह्वान गरिने र नगरपालिकाले सहयोग गर्ने प्रमुख तामाङले बताए। ‘आवश्यक पूर्वाधार बनाउँछौं, व्यावसायिकरुपमा सुरुआत गर्न निजी क्षेत्रलाई सहयोग गर्छाैं,’ उनले भने। नगरले आफ्नै क्षेत्रका युवाहरुलाई तालिम दिएर व्यावसायिक पाइलट उत्पादन गर्ने योजना बनाएको पनि प्रमुख तामाङको भनाइ छ। उनले भने, ‘हाम्रै जनशक्ति उत्पादनका लागि नगरले लगानी गरेर तालिम दिलाउने पनि योजना छ, यसले व्यावसायिक उडानका लागि जनशक्ति अभाव पनि हुँदैन, रोजगारी पनि सिर्जना हुन्छ र धनकुटाको पर्यटन गतिशील हुन्छ।’

नगरपालिकाले प्याराग्लाइडिङ उडानसँगै -याफ्टिङको पनि प्याकेज बनाएर पर्यटकलाई आकर्षित गर्ने योजना बनाएको छ। नगरका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीका अनुसार चुलीवनबाट पर्यटकहरुलाई प्याराग्लाइडिङ उडान गरेर याक्चना घाटमा अवतरण गराइन्छ। त्यहाँबाट -याफ्टिङमार्फत मूलघाटसम्म लगिन्छ। ‘फ्याफ्टिङ तमोरमा भई नै रहन्छ, प्याराग्लाइडिङको परीक्षण सफलताले पनि धनकुटाको पर्यटनमा नयाँ आयाम र उत्साह मिलेको छ,’उनले भने।
 

प्रकाशित: ६ असार २०७६ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App