coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धमाधम मर्ज हुँदै सहकारी

चितवन - पूर्वी चितवनका तीनवटा सहकारीले गएको जेठ २७ गते एकीकरण गरे। रत्ननगर नगरपालिका वडा नं ६ को बछौली नारी बचत तथा ऋण सहकारी, वडा नं १४ को पिठुवा नारी चेतना बचत तथा ऋण सहकारी र खैरहनी नगरपालिका वडा नं ८ को  खैरहनी नारी चेतना बचत तथा ऋण सहकारी संस्थाले संयुक्त साधारण सभा गरेर एकीकरण गर्ने निर्णय गरेका हुन्। एकीकरणपछि सहकारीको नाम नारी चेतना बचत तथा ऋण सहकारी संस्था राखिएको छ।

दुईवटा स्थानीय तहका सहकारीबीच एकता भएकाले प्रदेशबाट स्वीकृति लिएर सहकारी सञ्चालन गरिने साविक खैरहनी नारी चेतना बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुशीला उप्रेतीले जानकारी दिइन्। एकीकरणका लागि आयोजित संयुक्त साधारण सभाले उक्त निर्णय पारित गरेपछि प्रदेश सरकारबाट स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको छ। जग्गासहित भौतिक संरचना साविक बछौली नारी चेतना बचत तथा ऋण सहकारीको भएकाले तत्काललाई त्यही केन्द्रीय कार्यालय राख्ने सहमति भएको उनले बताइन्।

मर्ज गर्दा व्यवस्थापकीय लागत घटाउँछ, संस्थाको आकार ठूलो भएपछि जनविश्वास पनि बढ्छ, साना सहकारी मर्ज भएर ठूलो बन्दा पँुजी निर्माणमा समेत योगदान हुन्छ।’

एकता भएसँगै उक्त सहकारी जिल्लामा धेरै सेयर सदस्य हुने सहकारीमध्ये पाँचौ स्थानमा परेको उनले बताइन्। सहकारीको सेयर सदस्य संख्या चार हजार रहेको अध्यक्ष उप्रेतीले जानकारी दिइन्। चितवनमा पाँच हजारभन्दा बढी सेयर सदस्य भएका सहकारीमा युनिक, प्रभात दिदी बहिनी, चितवन र भरतपुर सहकारी रहेका छन्। भरतपुर महानगरपालिकामा पनि आठवटा सहकारी मर्ज भएर चारवटा बन्दै छन्। दिपज्योती र गौरवमय, लोक कल्याणकारी र स्वस्थ महिला, भरतपुर र नौरंगे तथा गतिशील र स्याउली बजार बचत तथा ऋण सहकारीबीच एकता प्रक्रिया अघि बढेको भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगारी प्रवद्र्धन शाखाका सहकारी निरीक्षक रामबाबु पौडेलले जानकारी दिए।

आठवटा सहकारी मर्ज भएर चारवटा हुन कानुनी प्रक्रिया टुंगिने क्रममा रहेको उनले बताए। कानुनले नै अहिले सहकारी मर्ज गर्न प्रोत्साहन गरेकाले बचत तथा ऋण सहकारी मर्जको प्रक्रियामा आउन थालेको उनी बताउँछन्। कानुनले मर्ज गर्न अनिवार्य प्रावधानको व्यवस्था नभए पनि सहकारी स्वस्फुर्त रुपमा मर्जको प्रक्रियामा सहभागी भएको उनले बताए। ‘मर्ज गर्दा व्यवस्थापकीय लागत घटाउँछ, संस्थाको आकार ठूलो भएपछि जनविश्वास पनि बढ्छ,’ उनले भने, ‘साना सहकारी मर्ज भएर ठूलो बन्दा पँुजी निर्माणमा समेत योगदान हुन्छ। यसले गरिबी निवारण र लगानीका अवसर बढी सिर्जना गर्ने मान्यता छ।’

बचत तथा ऋण सहकारी मर्ज गरिसकेपछि मूल्यांकन, अनुगमन गर्न पनि स्थानीय तहलाई सहज हुने उनले बताए। धेरै सदस्य हुने भएकाले सहकारी सञ्चालकलाई निगरानीमा पनि राख्न सकिन्छ। सहकारी मर्ज गर्ने प्रचलन पहिलेदेखि भए पनि २०७० मा सरकारले एकीकरण कार्यविधि बनाएरै सहकारी मर्जलाई प्राथमिकता दिँदै आएको उनी बताउँछन्। जनस्तरले समेत एकीकरणलाई राम्रो मानेको छ।

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय हुँदा यसअघि चितवनमा सातवटा सहकारी मर्ज भएर तीनवटा भएका थिए। गत वर्ष भरतपुर महानगरपालिकामा प्रभात र दिदी बहिनी उपभोक्ता सहकारी संस्था मर्ज भएका थिए। महानगरपालिकामा मात्रै अहिले तीन सय ६२ सहकारी रहेका छन्। बचत तथा ऋण सहकारी एक सय ७०, दुग्ध उत्पाक ७३, कृषिका ४८, बहुउद्देश्यीय सहकारी ३८ वटा रहेका छन्। नगर क्षेत्रमा रहेका अरु बचत तथा ऋण सहकारी पनि मर्जर प्रक्रियामा आएको पौडेलले जानकारी दिए।

सहकारी मर्ज गर्न सञ्चालक समिति र साधारण सभाले निर्णय गरेर संयुक्त साधारण सभा गरेर आउनुपर्ने प्रावधान रहेको छ। संस्था सञ्चालनको दर्ता नम्बर, पान नम्बरको विषयमा सहमति गरेर आएपछि स्थानीय तहले प्रमाणित गरिदिने उनले बताए। चितवनमा ६ सय ६० सहकारी रहेका छन्। त्यसमध्ये तीन सयको संख्यामा बचत तथा ऋण सहकारी संस्था रहेको पाइन्छ।

स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीचको क्षेत्राधिकार भएका गरी अहिले तीन प्रकारका सहकारी रहेका छन्। सहकारी तीन वर्गमा रहेकाले नियमन गर्न कठिनाइ भएको पौडेलको अनुभव छ। जुन स्थानीय तहमा सञ्चालित छ त्यसको सरोकार स्थानीय तहलाई पनि हुनुपर्ने भएकाले प्रदेश र केन्द्रीय क्षेत्राधिकारमा रहने सहकारी पनि स्थानीय तहले नियमन गर्न पाउनुपर्ने स्थानीय तहको भनाइ छ। स्थानीय तहमा सहकारी नियमन गर्न दक्ष कर्मचारीको समेत अभाव रहेको देखिन्छ।

प्रकाशित: ६ असार २०७६ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App