४ वैशाख २०८१ मंगलबार
अर्थ

सोलुखुम्बुमा नयाँ पदमार्ग

काठमाडौं – सोलुखुम्बु जिल्लामा नयाँ पदमार्ग ‘पाँचपोखरी–मेरा टे«क’ पहिचान गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले छनोट गरेका सय गन्तव्यमा सूचीकृत पाँचपोखरीलाई केन्द्रमा राखेर पहिचान गरिएको पदमार्ग पुरा गर्न १० दिन लाग्छ।

महाकुलुङ गाउँपालिकाको सहयोग एवं महाकुलुङ पर्यटन सूचना केन्द्रको सक्रियतामा पहिचान गरिएको पदमार्गको बिहीबार काठमाडौंमा शुभारम्भ गरियो। केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रदेश नं १ का सभासद् उत्तम बस्नेत, नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, ट्रेकिङ एजेन्स्जि एसोसियसन अफ नेपाल (टान)का केन्द्रीय सदस्य सुकबहादुर लामा, पर्यटनविज्ञ लक्की कार्की र केन्द्रका संयोजक विक्की कुलुङले पदमार्गको नक्शा र बुकलेट विमोचन गरेसँगै पदमार्ग शुभारम्भ गरिएको हो। कार्यक्रममा पदमार्गको चिनारी दिने ८ मिनेटको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।  

महाकुलुङ गाउँपालिकाको बुङबाट सुरु हुने पदयात्रा चलेम, हुर्हुरे, पाँचपोखरी, खोलाखर्क, तैमे, छेस्काम, गुदेल, साल्पापोखरी, सिलुछो, साउनेखर्क, गुदेल हुँदै बुङ पुगेर पुरा हुन्छ। पदमार्गमा हिमाली सौन्दर्य, किराती संस्कृति र जैविक विविधताको रोमाञ्चक स्वाद पाइने केन्द्रका अध्यक्ष कुलुङले जानकारी दिए। किरात कुलुङ बाहुल्य क्षेत्र भएकाले पदमार्गमा किराती संस्कृति अध्ययन गर्न सकिन्छ।

पदमार्गमा बुङ (१,६७७ मिटर), कोङकेलुछो (४,४६० मिटर), पाँचपोखरी (४,३३६ मिटर) र सिलुछो (४,१५६ मिटर) क्षेत्रको रमणीय दृश्यपान गर्न पाइन्छ। पदमार्गका दुई ठाउँ तैमे र साउने खर्क बाहेक अन्यत्र होटल सुविधा भएको कुलुङले जानकारी दिए।

पदमार्ग शुभारम्भ कार्यक्रममा सभासद् बस्नेत, पर्यटन बोर्डका सिइओ जोशी, पर्यटनविज्ञ कार्की, टानका केन्द्रीय सदस्य लामा, केन्द्रका अध्यक्ष कुलुङ र पर्यटन पत्रकार अमृत भादगाउँलेले नयाँ पदमार्गको प्रचार र विकासमा सबैले हातेमालो गर्नु पर्नेमा जोड दिए।

प्रकाशित: ६ असार २०७६ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App