८ वैशाख २०८१ शनिबार
अर्थ

मेलम्चीको काममा स्थानीय भेन्डरको अवरोध

काठमाडौं  - मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससँग जोडिएको इन्टेक थ्री निर्माण गर्न गएको श्रेष्ठ कन्सट्रक्सन प्रालिका कामदारलाई स्थानीय भेन्डर र सप्लायर्सले अवरोध गरेका छन्। स्थानीय भेन्डर र सप्लायर्सले सिएमसीबाट आफूहरुले लिनुपर्ने रकम पाउनुपर्ने माग गर्दै बिहीबार निर्माणस्थल पुगेका कामदारलाई आयोजना प्रवेशमा अवरोध गरेका हुन्। स्थानीयको अवरोधसँगै कामदार आफ्नो क्याम्पमा फर्किएका छन्।  

मेलम्ची खानेपानी आयोजनाको दोस्रो पहुँच मार्ग निर्माण गर्ने जिम्मेवारी पाएको श्रेष्ठ कन्सट्रक्सन प्रालिलाई आयोजनाले हेडवक्र्ससँगै रहेको इन्टेक थ्रीको संरचना बर्खाको भेलबाढीबाट जोगाउन आवश्यक पर्ने संरचना निर्माण गर्ने जिम्मेवारी दिएको थियो। मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले स्थानीय भेन्डर र सप्लार्यसले श्रेष्ठ कन्स्ट्रक्सनका कामदारलाई अवरोध गरेको बताए। ‘सिएमसीबाट भुक्तानी पाउनुपर्ने रकम माग गर्दै स्थानीयले अवरोध गरेको खबर पाएका छौं,’ उनले भने, ‘निर्माण कम्पनीको टोलीले आज काम गर्न पाएन। सरकारले मेलम्चीको काम अघि बढाउने हो भने सरकारले सुरक्षा व्यवस्था मिलाउन आवश्यक देखियो।’

मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो। त्यसैले सरकारले आवश्यक सुरक्षा व्यवस्था नमिलाएसम्म मेलम्चीको काम अघि बढ्न नसक्ने उनले बताए। ‘सरकारले तत्कालै शान्तिसुरक्षाको व्यवस्था गरेर काम अघि बढाउने वातावरण बनाउनुपर्ने देखिन्छ,’ प्रवक्ता पन्तले भने। मेलम्चीको ठेकेदार कम्पनी सिएमसीले नै स्थानीय ठेकेदारसँग सम्झौता गरेर निर्माण सामग्री लिएकाले सरकार जिम्मेवार बन्न नमिलेको उनी बताउँछन्। ‘सिएमसी र स्थानीय भेन्डर तथा सप्लायर्सले आफ्नै ढंगले सम्झौता गरेर निर्माण सामग्री तथा कामदार उपलब्ध गराएका हुन्,’ उनले भने, ‘भेन्डर र सप्लायर्सले सिएमसी कम्पनीसँग कानुनी लडाइँ गरेर आवश्यक रकम भुक्तानी लिनुपर्ने देखिन्छ।’

मेलम्चीको स्थानीय भेन्डर तथा सप्लायर्सले सिएमसीसँग लिन बाँकी रकम नपाएसम्म मेलम्चीको बाँकी काम अघि बढ्न नदिने घोषणा गरेका छन्। सिएमसीले उनीहरुलाईकरिब डेढ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। प्रवक्ता पन्तले आवश्यक सुरक्षा प्रबन्ध भए मेलम्चीको बाँकी काम अघि बढाइने बताए। आयोजनाले गत जेठ १७ गते बाँकी काम सम्पन्न गर्न टेन्डर आह्वान गरिसकेको छ। मेलम्चीको सुरुङ र हेडवक्र्स निर्माणको लागि छुट्टाछुट्टै दुई खालको टेन्डर आह्वान गरिसकेको छ।
 

प्रकाशित: ६ असार २०७६ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App