जनता किन रिसाउँछन् ?

शुक्रबार, ०६ असार २०७६, ०९ : ४० डा.सरोज धिताल

भाषाशास्त्रीय अध्ययनले ‘जनता’ शब्दको स्रोत जेसुकै देखाओस्, व्यवहारमा जनता भनेका  यथास्थितिप्रति असन्तुष्ट जिउँदा मानिसहरूको विशाल समूह हो। यथास्थितिप्रतिको यो असन्तोष मानव जातिको नैसर्गिक गुण पनि हो। यथास्थितिमा परिवर्तन गर्ने चाहनाको निरन्तरताकै कारण कुनै बेला अत्यन्त निरीह रहेको यो दुईखुट्टे प्राणी अहिले यति शक्तिशाली हुन सकेको हो। यथास्थितिमै रमाउने भएको भए न विज्ञान–प्रविधिले यति ठूलो क्रान्ति ल्याउँथ्यो न त लोकतन्त्र, समाजवाद, मानवअधिकारजस्ता अवधारणाकै विकास हुन्थ्यो। आध्यात्मिकता, कला–साहित्यजस्ता मानव जीवनका नरम र ललित सिर्जनशीलता पनि यथास्थितिप्रति असन्तुष्टीकै उर्वर भूमिमा टुसाउने, हुर्कने र झ्यांगिने हुन्। मानवमात्रमा अन्तर्निहित यो विशेषता– सर्वकालिक असन्तुष्टि नै समाज अघि बढाउने ऊर्जाको स्रोत हो।

आध्यात्मिक दृष्टिकोणबाट हेर्दा यो मानवीय स्वभावको अर्को आयाम पनि देखिन्छ। बौद्धमार्गमा दुःख र दुःखबाट मुक्तिबारे धेरै चर्चा हुन्छ। कुनै–कुनै बौद्ध परम्परामा दुःखका तीन रूपबारे चर्चा गरिँदोरहेछ– आफूसँग जे छ, त्यो गुम्ला भन्ने चिन्ताले सिर्जना गरेको रागजन्य दुःख स वर्तमानमा जे छ, त्यसले पुगेन वा त्यसको सट्टा अरू नै केही चाहियो भन्ने असन्तुष्टिजन्य सर्वकालिक दुःखस  अनि अर्कोचाहिँ शारीरिक पीडाजस्तै अन्य स्थूल प्रकृतिका दुःख। यी सबै खाले दुःख मानव संसारमा सिर्जित दुःख हुन् र सबै मानिसले भोग्नुपर्ने दुःख हुन्। तर अलि मिहिन दृष्टिले हेर्ने हो भने परम्परागत सत्ताधारी र जनताका दुःखबीच स्पष्ट भिन्नता देखिन्छन्। सत्ताधारीहरू आफूसँग भएको गुम्ला कि भन्ने रागजन्य दुःखबाट बढी ग्रस्त देखिन्छन् भने जनता वर्तमानमा जे छ, त्यसप्रतिको असन्तुष्टिजन्य दुःखबाट बढी  प्रताडित हुन्छन्। यो असन्तुष्टिजन्य दुःखले नै मानिसलाई मानिस बनाएको पनि छ र उसका निम्ति मुक्तिको बाटो पनि खोलिदिएको छ।   

अझै आगो नै लागिसक्यो भन्न त मिल्दैन तर कुनै पनि बेला लाग्न सक्छ। गुठी विधेयक मात्रै हैन, सरकार र सरकारपक्षीय जमातको कुनै पनि अवाञ्छित, अप्रिय व्यवहार र अभिव्यक्तिले आगो सल्काउन सक्छ। 

यथास्थितिप्रति असन्तुष्टिमा रहेको ऊर्जा सधैँ सिर्जनशीलताका निम्ति मात्र उपयोग हुँदैन, विशेष परिस्थितिमा यसको विस्फोट पनि हुन्छ। वास्तवमा कुनै पनि कालखण्डमा यो असन्तोषको चरित्रले नै तत्कालीन सत्ताको (अ)स्थायित्व निर्धारण गर्ने गर्छ। असन्तोष कति चर्को छ र त्यो कुनै खास व्यक्ति, संस्था वा घटनाप्रवृत्तिमा केन्द्रित छ कि छैन भन्ने कुराले राजनीतिक मौसममा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ।  कुनै बेला जनताबीच व्यापक असन्तुष्टि देखिन्छ, तर त्यो असन्तुष्टि कतै पनि केन्द्रित नभई छरिएका हुन्छन्। यस्तो बेला त्यो असन्तोषले तत्काल सत्ताको स्थायित्वमा खासै प्रभाव पार्दैन। तर सत्तासँग जोडिएका कुनै व्यक्ति, संस्था वा कुनै खास गतिविधिमा त्यो असन्तुष्टि केन्द्रित हुन पुग्दा भने, लेन्सले सूर्यका किरणलाई संकेन्द्रित गरेर आगो बालेझैँ हुन पुग्छ। सत्ताका अवाञ्छित क्रियाकलापले जनताका यस्ता असन्तुिष्टलाई त्यसरी नै संकेन्द्रित गर्छन् जसरी लेन्सले सौर्य किरणलाई। सानो लेन्सले संकेन्द्रित गरेका सूर्य किरणले आगो सल्काएजस्तै सत्ताको एउटा मात्र गल्तीले संकेन्द्रित गरेको असन्तुिष्टले पनि त्यसैगरी विरोधको आगो सल्काउन सक्छ। र, सल्किएको सबै आगो उत्तिकै सजिलो गरी निभ्छन् भन्ने हुँदैन।

अहिले जनतामा असन्तुष्टि व्याप्त छ। यो व्यापक असन्तुिष्टका कारक र स्रोत अनेक छन्। जब–जब ती असन्तुष्टि प्रकट हुन्छन्, तब–तब सत्तासारथीहरू झर्किन्छन् र भन्छन्– ‘यो सबै हामीले गरेको हो र !’ जनताले भोग्नुपरेका सबै समस्या अहिलेकै सरकारले जन्माएको पक्कै हैन। तर त्यो नै महत्वपूर्ण कुरा पनि हैन। मुख्य कुरा त के हो भने जे कारणले होस्, जनतामा व्यापक असन्तुष्टि छ। त्यो असन्तुष्टिलाई सत्ताधारीले प्रगतिको चाहनाका रूपमा बुझेर समाजलाई एककदम अघि बढाउन चाहिने ऊर्जाका रूपमा प्रयोग गर्न पनि सक्छन् (गर्नुपर्ने त त्यही हो)। अथवा, आफ्ना साना–ठूला अवाञ्छित व्यवहार र अभिव्यक्तिले लेन्सले घामको किरणलाई गरेझैँ जनताका असन्तोषलाई कतै संकेन्द्रित गराइदिन पनि सक्छन्। देशको इतिहासमै लोकतान्त्रिक निर्वाचनबाट यो अपूर्व बहुमतको वर्तमान सरकार बनिसकेपछि राजधानीको माइतिघर वरिपरिमात्र भएका आन्दोलनलाई हेर्ने हो भने देखिन्छ– जनताका असनतुष्टिलाई प्रगतिको ऊर्जाका रूपमा अझै राज्यले लिन सकेको छैन। अदूरदर्शीता, वस्तुस्थितिबारे छिपछिपे बुझाइ, लोभलालचका विभिन्न रूप, शीलपालनमा भयंकर कमजोरी आदिका कारण राज्यका व्यवहारले बरु लगातार लेन्सको काम गरेका छन् र जनअसन्तुष्टिलाई कतै न कतै संकेन्द्रित गराएर आगो बल्ने स्थिति तयार गरिरहेका छन्। यो आगो सल्काउने कामको दोष सरकार अरूलाई लगाइरहेको छ, तर एकछिन् शान्त भएर आत्म निरीक्षण गर्न, कहाँ–के गल्ती भयो भनी घोत्लिन अनि आफ्ना सोच र व्यवहार परिमार्जन गर्न भने बिल्कुल तयार छैन।

अब संसारमा कहीँ पनि कुनै किसिमको अधिनायकवादले काम गर्दैन। लोकतान्त्रिक राज्य चलाउन चाहिने सीप, प्राञ्जल दृष्टि, उत्तरदायित्व बोध, इमान्दारीजस्ता सद्गुण विकास नगरी कुनै पनि सरकार सफल हुन सक्दैन।

प्रस्तावित गुठी विधेयकले यस्तै ‘लेन्स’को काम ग¥यो। जनताका सबै खाले आक्रोश, असन्तुिष्ट केन्द्रित भएर माइतिघर वरिपरिमात्र हैन, घरघरमा, चिया पसलमा, कार्यालयमा जताततै पोखिने स्थिति बन्यो। अझै आगो नै लागिसक्यो भन्न मिल्दैन, तर कुनै पनि बेला लाग्न सक्छ। गुठी विधेयक मात्रै हैन, सरकार र सरकारपक्षीय जमातको कुनै पनि अवाञ्छित, अप्रिय व्यवहार र अभिव्यक्तिले आगो सल्काउन सक्छ।

अब संसारमा कहीँ पनि कुनै किसिमको अधिनायकवादले काम गर्दैन। लोकतान्त्रिक राज्य चलाउन चाहिने सीप, प्राञ्जल दृष्टि, उत्तरदायित्व बोध, इमान्दारीजस्ता सद्गुण विकास नगरी कुनै पनि सरकार सफल हुन सक्दैन। अहिले पनि संसारमा ‘सफल’ ठानिएका अलोकतान्त्रिक वा कम लोकतान्त्रिक बलिया देशहरू छन्। हिजो लोकतन्त्रको तीर्थस्थल ठानिएका देशहरू पनि अहिले घोर दक्षिणपन्थी अलोकतान्त्रिक देशमा परिणत हुँदै छन्। त्यस्ता देशमा पनि मानव मनोविज्ञानलाई बेवास्ता गरेर अगाडि बढ्न खोज्दा दश बल्ड्याङ खाएका छन्, सत्ताधारिहरू। अहिलेको संसारमा जनतामाथि सशस्त्र दमन गरेर त झन् कामै छैन, दमनका अन्य ‘अहिंसात्मक’ वा ‘कम हिंसात्मक’ रूपहरूसमेत राज्यका निम्ति झन्–झन् महँगा हुँदै गइरहेका छन्। त्यसैले कुनै पनि अन्य देशका अलोकतान्त्रिक ‘सफल’ नेताको देखासिकी नेपालमा काम लाग्ने हुँदैन। त्यो बाटोमा हिँड्ने कल्पना गर्नुभन्दा धेरै उत्तम, सकारात्मक, र सफलताको बाटो हो– समाजवाद उन्मुख लोकतन्त्रको मर्मलाई साँच्चै आत्मसात् गर्दै राज्य सञ्चालनको नयाँ सीप सिक्नु। सत्ताधारीहरूका निम्ति यो केही चुनौतिपूर्ण त होला, तर हिम्मत गर्ने हो भने इमान्दारीपूर्वक चाहना राख्ने हो भने असम्भव छैन।

जुन विशिष्ट परिस्थितिमा जेजस्ता यथार्थहरूको योगले देश यहाँसम्म आइपुगेको छ, त्यसलाई मनन गर्ने हो भने व्यक्तिगत स्वतन्त्रता र सामाजिक उत्तरदायित्व, लोकतन्त्र र समाजवाद, समृद्धि र सामाजिक न्याय, सुसंस्कृति र आधुनिकता अनि देशको यथार्थ धरातलमै टेकेर विज्ञानप्रविधिको आकाश छुने कामजस्ता सबै ‘अप्ठ्यारा’जस्ता देखिने कुरा यो देशमा सम्भव तुल्याउन सम्भव छ। तर यसका निम्ति आफू हिँडिरहेको बाटोमा अप्ठेरो आउनेबित्तिकै अरू कसैलाई सराप्न थाल्ने प्रवृत्ति भने नत्यागी हुँदैन। बारम्बार आफूलाई सोध्नुपर्छ, सत्ताधारीहरूले– ‘जनता किन रिसाउँछन् ?’ उनीहरूले बारम्बार सम्झाउनुपर्छ आफैँलाई– ‘जनताका गुनासा त सुनखानी हुन सक्छन्, अगाडि धकेल्ने ऊर्जा हुन सक्छन्।’ दुःख र गरिबीको मरुभूमिमा अलिकति सपना देखाउनुलाई नै बदमासी भन्न त मिल्दैन, तर राज्य चलाउनेले के पनि बुझ्नुपर्छ भने आन्दोलनका निम्ति सपनाको चिहान जत्तिको मलिलो जमिन अरू कतै हुँदैन। र, सपनाको चिहानमा हुर्केका आन्दोलन सजिलै हिंसात्मक पनि हुन सक्छन्।

संसारभरिका क्रान्तिका इतिहासले भन्छन्– जनताको विश्वास प्राप्त गर्न सकेकै क्रान्तिकारीहरू पनि सत्ताप्राप्तिपछि उठ्नै नसक्ने गरी भीरबाट खुर्मुरिएका छन्। र, त्यसको प्रमुख कारण एउटै देखिन्छ– शीलपालन गर्न नसक्नु। लोभलालचबाट, परिवारप्रतिको अनावश्यक अस्वस्थ अतिमोहबाट, अनि शक्तिमोहसँग जोडिएको गुटवादबाट मुक्त हुने हो भने, अपारदर्शिताको साँघुरो–अँध्यारो गल्लीबाट निस्केर पारदर्शिताको फराकिलो उज्यालो बाटोमा हिँड्ने आँट गर्ने हो भने, अलिकति विनम्रता विकास गरेर जनतासँगको सामीप्यमा रमाउन सिक्ने हो भने, बाँकी साढे ३ वर्षमा अझै केही गर्न सक्लान्, अहिलेका सत्ताधारीले। यिनले केही–केही राम्रो गर्न सक्दा सबैको भलो नै हुन्छ। हैन भने, अर्कोपटक अरू कोही आउलान् ! जो आए पनि, सत्ताधारीले याद राख्नुपर्ने यिनै कुरा हुन्, आफूलाई गर्नुपर्ने प्रश्न पनि यिनै हुन्। हेरौँ, चेत आइहाल्छ कि !








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad