१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्पोर्टस अवार्डसँग सगरमाथा र टर्किस जोडिए

काठमाडौं – एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको सह–प्रायोजकको रूपमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिएका छन्। नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित अवार्डलाई घोराही सिमेन्ट प्रालिको उत्पादन सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्सले सह–प्रायोजकको रूपमा सघाउने भएका हुन्। सगरमाथा सिमेन्टले दोस्रो पटक र टर्किस पहिलोपटक अवार्डसँग जोडिएको हो। सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले घोराही सिमेन्टका निर्देशक आदित्य सांघाईसँग र टर्किस एयरलाइन्स नेपालका प्रबन्ध निर्देशक अब्दुल्लाहा ट्युन्चर केसिसीसँग हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार सगरमाथाले अवार्डलाई ५ लाख रुपैयाँ उपलब्ध गराउनेछ। टर्किसले वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडीलाई टर्किस एयरलाइन्सबाट कुनै पनि गन्तव्यका लागि ५ लाख रुपैयाँ बराबरको दुईतर्फी टिकट उपलब्ध गराउनेछ। यस्तै एयरलाइन्सले नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र मञ्चको सिफारिसमा राष्ट्रिय खेलाडीलाई समेत हवाई टिकटमा १० प्रतिशत छुट दिनेछ। दुवै पक्षसँगको सम्झौता एक वर्षको रहने अवार्डको आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ।

सम्झौतापछि घोराही सिमेन्ट प्रालिका निर्देशक सांघाईले राष्ट्रिय आवश्यकताका आधारमा खेलकुद अवार्डसंग आफुहरू जोडिएको बताए। युवा र देशलाई एकतावद्व गर्ने माध्यम खेलकुद भएको बताउँदै उनले सोही कारण अवार्डसँग जोडिएको धारणा राखे। टर्किस एयरलाइन्स केसिसीले सफल खेलाडीलाई सम्मान गर्ने अभियानमा आफुहरू जोडिन पाउँदा खुसी लागेको बताए।

मञ्चका अध्यक्ष सुबेदीले नीजि क्षेत्रको सहकार्यले अवार्डले सफलता प्राप्त गर्ने बताए। खेल क्षेत्रबाट देशको नाम राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र खेल संस्थालाई सम्मान गर्ने पल्सर स्पोर्ट्स अवार्डको १६औं संस्करण आगामी असार १७ गते आयोजना हुँदै छ। अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक भइसकेको छ।

वर्षको उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडीको मनोनयन अवार्ड कार्यक्रमको एक हप्ता अघि सार्वजनिक गरिने मञ्चका महासचिव प्रज्जवल ओलीले जानकारी दिए। पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीले क्याम्पेनिङ सुरु गरिसकेका छन्। सो विधामा भलिबलकी रेश्मा भण्डारी, क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी साबित्रा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन प्रतिस्पर्धामा छन्।

विजेता चयन एसएमएम भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरूको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा गरिनेछ। एसएमएस भोटिङका लागि नेपाल टेलिकम, एनसेल र स्मार्ट सेल प्रयोगकर्ताले ३७७२२ नम्बरमा म्यासेज गर्न सक्नेछन्। पिपल्स च्वाइस विधा बाहेक वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक हुनेछन्। लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा असार १७ गते प्रज्ञा भवन कमलादीमा कार्यक्रमकै दिन गरिनेछ। यसपटक एक जना अन्तर्राष्ट्रिय खेलपत्रकारलाई पनि सम्मान गरिनेछ।

विगतका वर्षमा झै यसपटक पनि उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिनेछ। अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिसँग प्रायोजन सम्झौता नवीकरण भइसकेको छ। अवार्डको मुख्य सह–प्रयोजकको रूपमा किरण सु म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार र डिस मिडिया नेटवर्कको एक्सन स्पोटर््ससँग प्रायोजन सम्झौता भएको छ। एसएमएस भोटिङका लागि आप्का नेपालको टिएचटी लाइभ ३७७२२ सँग सम्झौता नवीकरण गरिएको छ। सूर्य नेपाल प्रालि, रोयल सिंगी होटल, रुस्लान फुटबल, केल्मी, टाइमेक्स, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले समेत प्रायोजकको रूपमा अवार्डलाई सघाउनेछन्। सम्झौताअनुसार सगरमाथाले अवार्डलाई ५ लाख रुपैयाँ उपलब्ध गराउनेछ। टर्किसले वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडीलाई टर्किस एयरलाइन्सबाट कुनै पनि गन्तव्यका लागि ५ लाख रुपैयाँ बराबरको दुईतर्फी टिकट उपलब्ध गराउनेछ।

प्रकाशित: ६ असार २०७६ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App