coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

१८ वर्षमा पनि बनेन धोबीखोला करिडोर

कालोपुलस्थित धोबीखोला करिडोरमा खोलिएको सडक। तस्बिरः खिलक बुढाथाेकी

काठमाडौं– कार्यालय समयमा उपत्यकाका सडक सवारीसाधनले भरिन्छन् । सबैलाई छिटो पुग्ने चटारोले सवारीसाधनको ट्याँट्याँ र टुँटुँले जामका बेला सडकमा कोलाहलजस्तै हुन्छ ।

उपत्यकाको चक्रपथको अवस्था झनै नाजुक छ । २८ किलोमिटर यात्रा गर्दा तीन घन्टाभन्दा बढी समय लाग्छ । यही समस्याको वैकल्पिक समाधान गर्न चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरबाट सुरु धोबीखोला दक्षिणतर्फ कालोपुल, रातोपुल, मैतिदेवी, बिजुलीबजार पुलहु“दै बुद्धनगर बबरमहल क्षेत्रमा रहेको बागमती दोभानसम्म निर्माण प्रक्रिया थालिएको ९ मिटर चौडा ५.५ किलोमिटर लामो निर्माणाधीन धोबीखोला करिडोर १८ वर्षमा पनि सम्पन्न भएको छैन । धोबीखोलाको दुवै किनारमा करिडोर निर्माण भइरहेको छ ।

‘ट्रयाक खोल्ने, पर्खाल लगाउने काम सकिसकेका छौं,’ धोबीखोला करिडोर सुधार आयोजना प्रमुख रामप्रसाद श्रेष्ठले भने, ‘यस आर्थिक वर्षमा सम्पन्न गर्ने योजना थियो । तर चाबहिलमाथि कपन भंगाल पुलसम्म ४ किलोमिटर थपिँदा ढिला भयो ।’ जग्गा अतिक्रमण, नदी नियन्त्रण, अतिक्रमित जग्गामा बनेका घरटहराको क्षतिपूर्ति र स्थानीयको विरोधले गर्दा समय लागेको श्रेष्ठले बताए । उनका अनुसार बागमती दोभानदेखि चाबहिल ओम अस्पतालसम्म भने दुवै किनारको काम सकिएको छ । ढलको पाइप हाल्ने जिम्मा पाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले समयमै ढल नहालिदिँदा कालोपत्रे गर्न नपाएको हो । ‘समितिले ढल समयमै हालिदिने हो भने गत आवमै कालोपत्रे गरिसक्ने थियौं ।’ समितिले अझै पनि समयमै ढलको काम सके चालु आवभित्रै कालोपत्रे गरिसक्ने दाबी गरे । समितिले ५ किलोमिटर सडकमा १८ महिनामा ढलको काम सक्ने जिम्मा लिएको २ वर्षमा समेत गरेको छैन ।

समितिले भने भूकम्प र नाकबन्दीले गर्दा समयमै काम गर्न नसकिएको स्विकारेको छ । समितिका सदस्यसचिव सिंहले भूकम्प र नाकाबन्दीले निर्माण सामग्री अभाव हुँदा काम गर्न नपाएको बताउँदै कतिपय ठाउँमा भने स्थानीयसँग विवादले गर्दा पनि काम गर्न नपाएको बताए । ‘ढल राख्दा कतिपय ठाउँमा स्थानीयको विवाद आएर रोकिएको छ,’ सदस्यसचिव सिंहले भने, ‘विवाद नभएका ठाउँमा काम गरिरहेका छौं । चाँडै नै ढलको काम सम्पन्न गर्छाैं ।’

२०७२÷०७३ देखि करिडोर उत्तरतर्फ कपनको भंगालपुलसम्म दुवैतिर ४ किलोमिटर थप भएको छ । थप समेत गरेर आयोजनाले आव २०७५÷०७६ मा सक्नुपर्छ । आयोजनाले भने विवाद नआए र समितिले ढलको काम सके समयमै सक्ने दाबी गरेको छ । ‘हामी काम गरिरहेका छौं,’ प्रमुख श्रेष्ठले भने, ‘लक्ष्य अनुसार काम भइरहेकाले निर्दिष्ट समयमै सबै १९ किलोमिटर आव ०७५÷०७६ मा निर्माण सक्छौं ।’ अहिले पहिलो फेजअन्तर्गत ट्रयाक खोल्ने, फुटपाथ बनाउने, पर्खाल, रेलिङ लगाउने काम सकिएको छ भने दोस्रो फेजअन्तर्गतको सडक ट्याक खोल्ने काम धमाधम भइरहेको छ । १९ किमी सडकको जम्मा लागत ३ अर्ब २८ करोड २० लाख रुपैयाँ छ ।

निर्माण सकिएपछि धोबीखोलाको दुवै किनारमा ९ मिटर चौडा २ लेनको पक्की सडक हुनेछ । सडकसँगै १.५ मिटर फुटपाथ र साइकल लेनसमेत हुनेछ । करिडोर बनेपछि चक्रपथबाट बागमती दोभानसम्म १५ मिनेट र सिंहदरबार, थापाथली समेत केही मिनेटमै पुग्न सकिने छ । समय र इन्धन बचतसँगै पैदल यात्रीको समेत रोजाइको सडक हुने अपेक्षा छ ।

आर्थिक वर्ष २०५६÷०५७ मा काठमाडौं महानगरपालिकाले करिडोर निर्माण प्रक्रिया अगाडि बढाएको थियो । महानगरपालिकाले काम गर्न नसकेपछि सरकारले आव २०६६÷०६७ मा करिडोर निर्माणको जिम्मा तत्कालीन नगर विकास समिति (हालको काठमाडौं उपत्यका विकास प्राधिकरण)लाई दियो । प्राधिकरणले धोबीखोला करिडोर सुधार आयोजना गठन गरी आयोजनाले पञ्चवर्षीय योजना बनाएर आव २०७२÷०७३ मा सक्ने लक्ष्य राखे पनि करिडोरको लम्बाई थपिएको भन्दै आव २०७५÷०७६ सम्म सक्ने जनाएको छ ।


 

प्रकाशित: १४ कार्तिक २०७३ ०३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App