८ वैशाख २०८१ शनिबार
राजनीति

मतपत्र च्यात्ने मुद्दामा सजाय निर्धारण स्थगित

मतपत्र च्यातिएको मुद्दामा कसुर ठहर भएका द्रोणबाबु सिवाकोटी र मधु न्यौपाने। तस्बिर:नागरिक

चितवन – भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको मुद्दामा दोषी ठहर भएका दुईजनालाई सजाय निर्धारण गर्न तोकिएको पेशी स्थगित भएको छ। चितवन जिल्ला अदालतले जेठ ३० गते मुद्दाका दुई आरोपितलाई दोषी ठहर गरेको थियो। तत्कालीन माओवादी केन्द्रका कार्यकर्ता द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेविरुद्ध मुद्दा चलाइएको थियो।

मुद्दामा कसुर ठहर हुने आदेश भए पनि सजाय निर्धारण गर्न असार ५ गतेलाई पेशी तोकिएको थियो। बिहीबारलाई तोकिएको पेशी जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठ बिदामा बसेकाले स्थगित भएको चितवन जिल्ला अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए। उनका अनुसार मुद्दाको पेशी असार १६ गतेलाई तोकिएको छ।

२०७४ साल जेठ १५ गते मध्यरातमा मतगणना हुँदै गर्दा महानगरपालिका–१९ को मतपत्र च्यातिएको थियो। २९ वटा वडामध्ये १९ को मतगणना गरेर सकिन लागेको समयमा मतपत्र च्यातिएको थियो। घटनास्थलबाटै प्रहरीले सिवाकोटी र न्यौपानेलाई पक्राउ गरेको थियो।
घटनाका दोषीलाई कारबाहीको माग गर्दै उनीहरूविरुद्ध २०७४ साल जेठ १७ गते अदालतमा मुद्दा दायर गरिएको थियो। मुद्दा दर्ता भएपछि थुनछेक आदेशमा दुवैजनालाई एक–एक लाख रुपैयाँ धरौटी लिई अदालतले छाड्ने आदेश दिएको थियो। तत्कालीन जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा १६ को उपदफा २ बमोजिम सो आदेश दिएको थियो।

प्रकाशित: ६ असार २०७६ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App