coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘सात करोड मानिस विस्थापित’

जेनेभा – संयुक्त राष्ट्रसंघले सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस विस्थापित भएको जनाएको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर)ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा कागजात बेगर नै अन्यत्र पलायन हुनेको संख्या झनै ठूलो रहेकाले विश्वव्यापी रूपमा शरणार्थी र आप्रवासनको समस्या पेचिलो बनेको जनाइएको छ ।

अघिल्लो वर्ष सन् २०१७ को अन्त्यसम्ममा हिंसा वा उत्पीडनबाट बलजफ्ती विस्थापित हुन बाध्य पारिएका व्यक्तिको संख्या विश्वभर करिब छ करोड ८५ लाख रहेको थियो ।
युएनएचसिआरका अनुसार इथियोपियामा अन्तर–जातीय द्वन्द्वका कारण ठूलो संख्यामा मानिस विस्थापित हुन बाध्य भएका छन् । भेनेजुएलाको आर्थिक संकटका कारण ठूलो संख्यामा मानिस अन्यत्र शरण लिन बाध्य भएका छन् । भेनेजुएलामा खाद्यान्न र औषधिजस्ता अत्यन्त जरुरी सामग्रीको समेत अभाव छ । सन् २०१६ यता भेनेजुएलाबाट करिब ३३ लाख मानिस अन्य मुलुकतर्फ भागेको राष्ट्रसंघको अनुमान छ ।

युएनएचसिआरका प्रमुख फिलिप्पो ग्रान्डीले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा विश्वभर विस्थापित सात करोड नागरिकमध्ये भेनेजुएलाका विस्थापितको औपचारिक आवेदकलाई मात्र समेटिएको जानकारी दिए । उनले करिब पाँच लाख भेनेजुएली नागरिकको नाम मात्र संकलन गरिएको बताए । समग्रमा, विगत २० वर्षको अवधिमा विस्थापित मानिसको संख्या दोब्बर भएको छ र यो थाइल्यान्डको जनसंख्याभन्दा बढी हो । ग्रान्डीका अनुसार यो गलत प्रवृत्ति रोकिनुको साटो झनै बढिरहेको छ ।

‘एम्नेस्टी इन्टरनेसनल’का अनुसार शरणार्थी त्यस्तो व्यक्ति हो जो आफ्नो मुलुकबाट भाग्छ र द्वन्द्व वा उत्पीडनको भयका कारण आफ्नो मुलुक फर्कन सक्दैन । युएनएचसिआरको प्रतिवेदनमा चार करोड १३ लाख आन्तरिक रूपमा देशभित्रै विस्थापित भएको, दुई करोड ५९ लाख शरणार्थी बनेको र ३५ लाखले आप्रवासीका लागि आवेदन दिएको उल्लेख छ । देशभित्रै ठूलो संख्यामा विस्थापित रहेका मुलुकहरुमा सिरिया र कोलम्बिया रहेका छन् । शरणार्थीमध्ये करिब ५५ लाख प्यालेस्टिनी लेबनान र जोर्डनसमेतका धेरै देशमा छरिएर रहेका छन् । ग्रान्डीले शरणार्थी स्वदेश फर्कने वातावरण तयार भएपछि मात्र स्वदेश फर्काइने गरेको भए पनि २० प्रतिशतभन्दा बढी निर्वासित व्यक्ति दुई दशकभन्दा बढी समयदेखि शरणार्थीकै रूपमा रहन बाध्य भएको जानकारी पनि दिएका छन् ।

 

प्रकाशित: ६ असार २०७६ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App