coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कसरी पानी संकटसँग जुधिरहेको छ चेन्नाई ?

चेन्नाई – भारतको छैटौं ठूलो सहर चेन्नाईमा पानीको हाहाकार भएको समाचार आइरहेको छ। सहरमा रहेका चारवटा जलाशय यसै साता सुकेपछि चेन्नाईमा पानीको हाहाकार भएको हो। पानीका लागि चेन्नाईका मानिस लाइन लागेर जुध्न परिरहेको छ। पानी अभावकै कारण कतिले उखरमाउलो गर्मीमा पनि नुहाउन पाएका छैनन् भने होटल सञ्चालकहरुले पानीको प्रयोगलाई लिएर उपभोक्ताहरुलाई चेतावनी दिइरहेको समाचार पनि आइरहेका छन्।

सहरमा अहिले पानीको सानो स्रोतमात्रै उपलब्ध रहेको र त्यो पनि जुनसुकै बेला पनि सुक्न सक्ने भन्दै चिन्ता व्यक्त भइरहेका छन्। जसका कारण चेन्नाईका ४० लाखभन्दा जनता अहिले सरकारले पानी वितरण गर्ने सरकारी ट्यांकरमा निर्भर हुन पर्ने बाध्यता सिर्जना भएको छ। अन्यले भने आफ्नो घरमा पानी ल्याइदिनका लागि निजी पानी उत्पादक कम्पनीहरुमा ठूलो मात्रामा पैसा तिरिरहेका छन्। धेरै पैसा तिरे पनि एउटा घरमा बल्ल पानी पु¥याउन निजी कम्पनीहरुलाई पनि कम्तीमा चार दिन लाग्ने गरेको छ। भारतका प्रमुख सहरहरुमा वर्षको अधिकांश समय पानीको ठूलो अभाव हुने गरेको छ भने धेरैजसो मानिसले आफ्नो धारामा नियमित रूपमा पानी नआउने गुनासो पनि गर्ने गरेका छन्।

पानीका चरम संकट भएपति चेन्नाईवासीले विभिन्न स्रोतको पहिचान गर्ने प्रयास गरिरहेका छन्। कतिपय अवस्थामा चेन्नाईका नागरिकले इनारबाट पानी निकाल्ने प्रयास गरिरहेका छन्। यद्यपि चेन्नाईमा पाइने जमिनमुनिको पानीको गुणस्तर अत्यन्तै खराब रहेको छ। यस वर्षको मनसुन सुरु हुन पनि ढिला भएको छ जसले गर्दा सहरमा पानीको थप अभाव उत्पन्न भएको छ।

पानीको चरम अभावपछि चेन्नाईका साना रेस्टुराँ बन्द गरिएका छन् भने कार्यक्षेत्रमा पानी जोगाउने भन्दै कतिपय कार्यालयले आफ्ना केही कामदारलाई घरमै बसेर काम गर्न भनेका छन्। सहरको मेट्रोले रेलवे स्टेसनहरुम एयर कन्डिसनिङको प्रयोगमा पनि रोक लगाएका छन्। होटलले भने आफ्ना ग्राहलाई निश्चित मात्रामा मात्रै पानी उपलब्ध गराउन थालेका छन्। सहरको एउटा सानो होटल सञ्चालक पी चन्द्रसेखरले आफ्ना ग्राहकलाई पानीको प्रत्येक थोपा प्रयोग गर्दा ध्यान दिन चेतावनी दिने गरेका छन्। ‘हामी मात्रै हैन अन्य होटल पनि बन्द हुने अवस्थामा छन् किनभने पर्याप्त मात्रामा पानीको उपलब्धता छैन,’ उनले बताए।

‘पानी किन्न सक्ने पैसा छैन’
‘सहरले हाल मौसमसम्बन्धी थुप्रै समस्या भोगिरहेको छ। निकै दिनसम्म पानी नपरेको पछिल्ला १० वर्षमा अहिले नै हो,’ रेडियो प्रस्तोता जोहाले बिबिसीसँग बताइन्।
‘हाललाई पानी किन्न सक्ने पैसा पनि छैन किनभने अहिले केही लिटर पानी किन्नका लागि हजारौं रुपैयाँ खर्च गर्न चाहने मानिसको भीड छ तर पनि उनीहरुले पानी पाउन सकिरहेका छैनन्,’ उनले बताइन्।

‘पानीकै अभावमा कैयौं रेस्टुराँ बन्द भइरहेका छन्। सपिङ मलहरु पनि राम्ररी सञ्चालन हुन सकिरहेका छैनन्। सार्वजनिक शौचालय र अन्य कैयौं चिज पनि पानी अभावकै कारण प्रभावित भएका छन्। पानी चाँडै परे हामीले पानीका पाउँछौं भन्ने आश गरिरहेका छौं,’ जोहाले भनिन्। सरकारी ट्यांकरबाट पानी प्राप्त गर्नका लागि दुई दिनसम्म आफूले घण्टौं कुरेको दुई सन्तानकी आमा, पुनिथाले एनडिटिभीसँगको कुराकानीका क्रममा बताइन्। चारजनाको परिवारका लागि दुई दिनमा मात्र साता भाँडा पाउने गरेको दुखेसो पनि उनले पोखिन्। ‘हाम्रा बालबालिका विद्यालय र कलेजसमेत जान सकिरहेका छैनन्। बिहानको एक वा दुई बजे हामीले भल्लुभार स्क्वायर ट्ंयाकबाट हामीले पानी थापिरहेका छौं,’ उनले बताइन्।

सरकारी ट्यांकरबाट पानी लिनका लागि लामबद्ध भएका बेला कतिपय स्थानमा झडप भएका समाचार पनि आइरहेका छन्। ट्यांकरमा भर पर्नुको विकल्प छैन ‘पछिल्ला वर्षहरुमध्ये यस वर्ष हामीले सबैभन्दा ठूलो पानीको अभाव भोगिरहेका छौं। पछिल्लो महिना पानीको अवस्था अत्यन्तै खराब थियो र यदि अबको केही दिनभित्र पानी नपरे झनै खराब अवस्था आउने छ। धाराबाट त एक थोपा पनि पानी आउँदैन,’ चेन्नाई निवासी राजासिमहानले बिबिसीसँग बताए।

‘पानीका लागि चेन्नाई मेट्रो वा निजी पानी आपूर्तिकर्तासँग हामी पूर्ण रूपमा निर्भर भइरहनु परेको छ। निजी कम्पनीसँग पानी मगाउनु अत्यन्तै महँगो परिरहेको भए पनि हामीसँग यो बाहेक अन्य विकल्प नै बाँकी छैन,’ उनले बताए। ‘हामीले बाल्टिन र भाँडामा पानी जम्मा गरेर राखिरहेका छौं। सहरमा रहेका सबै जलाशय सुख्खा भएका छन्। पानी संकट हट्नका लागि चाँडै पानी परोस् भनेर हामीले प्रार्थना गरिरहेका छौं,’ राजासिमहानलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

प्रकाशित: ६ असार २०७६ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App