७ वैशाख २०८१ शुक्रबार
राजनीति

बजेटबारे प्रदेशसभामै चर्काचर्की

प्रदेश नम्बर ३ को हेटौंडास्थित प्रदेश सभा बैठकमा सांसदहरु । तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर– प्रदेश–३ सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटको विपक्षी दल र सत्तारुढ दलका सांसदहरुबीच चर्काचर्की गरेका छन्। प्रदेशसभा बैठकमा बिहीबार भएको आव २०७६/७७ को राजस्व र व्ययको अनुमानमाथि प्रारम्भीक छलफलमा सांसदहरु बजेटको पक्ष र विपक्षमा प्रस्तुत भएका हुन्।

प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद राधा घलले बजेट हावामा घर बनाउने सपना जस्तै भएको भन्दै व्यङ्ग्य गरिन्। ‘गत आवमा २० प्रतिशत खर्च पनि गर्न नसकेर हतार–हतार गरिरहेको असारे विकासले भ्रष्टाचार कति निम्त्याउँछ, त्यो हेर्न बाँकी छ,’ उनले भनिन्, ‘अहिलेको बजेट अमूर्त छ, त्यसले रकमान्तर गरेर आफुले चाहेको ठाउँमा खर्च गर्दा ठूलो भ्रष्टाचार अवश्य निम्त्याउँनेछ।’ संसदीय विकास कोषमाथि नै आशंका व्यक्त गर्दै उनले सरकारका कारण सांसदको हैसियतमाथि प्रश्न उठेको आरोप लगाईन्। ‘सांसदको मर्यादामाथि चोट पुगेको छ,’ उनले भनिन्। हेटौंडा अस्पताल र भीमफेदी–काठमाडौं सडकको सरकारले अस्थित्व मेटाउन खोजेको भन्दै उनले अस्पताल र सडक नेताको नाममा नयाँ बनाउँन आग्रह गरिन्।

नेपाली कांग्रेसै सांसद निमा लामाले गतआवमै शतप्रतिशत बजेट खर्च गर्ने बताएको सरकारले २० प्रतिशत मात्र खर्च गरेको भन्दै नयाँ बजेट कार्यान्वयनमा शंका व्यक्त गरे। ‘गतआवमा प्रदेश सरकारले कर्मचारी र नीति–कानूनको अभावलगायत विभिन्न समस्या देखाएर पन्छिएको छ,’ उनले भने, ‘अब सरकारले बहाना बनाएर प्रदेशलाई प्रयोगशाला नबनाईयोस्।

विवेकशील साझा पार्टीका प्रदेश सांसद रमेश पौड्यालले सरकारले परियोजना बैंकको कुरा गरेपनि बजेटमा आकस्मिक रुपमा प्रदेश पूर्वाधार विकास कार्यक्रम ल्याएकोमा आक्रोश पोखे। ‘बैंकको कुरा गरेर हुण्डीको कारोबार त गर्दै हुनुहुन्न,’ उनले थपे, ‘बजेटले सांसदको झोलीमा योजना र रकमको व्यवस्था गरेको छ, तर, संविधानले सांसदको होईन, विधिको शासनको परिकल्पना गरेको छ।’ संघीय संसद र अन्तराष्ट्रिय रुपमै संसदलाई बजेट दिँदा भष्ट्राचार र बेथिती बढेको बताउँदै उनले प्रदेश पूर्वाधार विकास कार्यक्रमले समृद्धिको यात्रामा अवरोध ल्याउने बताए।

यता, सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सांसद पशुपति चौलागाईले बजेटको बचाउ गर्दै पूर्वाधार, उत्पादन र सुशासनमा विशेष ध्यान दिएर ल्याईएको बताए। ‘सरकारले तीन खम्बे अर्थ नीति अनुसारै बजेट ल्याएको छ,’ उनले भने, ‘प्रदेश सरकारले चुनावी घोषणापत्र र स्थानीय तहको मागलाई पनि सम्बोधन गरेको छ।’

प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले कथा सुनाउँदै जे गर्दा पनि विपक्षीले विरोध गर्ने गरेको भन्दै आक्रोस पोखे। ‘प्रदेश समृद्धिको आधारः श्रम, सिर्जना, उत्पादन र रोजगार’ नारासहित दीर्घकालिन दृष्टिकोण राखेर बजेट ल्याईएको छ,’ उनले भने ‘बजेट सुन्दर, बास्नादार, स्वस्थ छ।’

नेकपाकै सांसद जुनेली श्रेष्ठ, सरस्वती बस्नेत, केशवराज पाण्डे, जीवन खड्का, एकनाथ दाहाललगायतले बजेटको प्रशंसा गर्दै सन्तुलित विकासका लागि प्रदेश पूर्वाधार विकास कार्यक्रम ल्याउनु खुशीको कुरा भएको बताए।

बैठकको शुरुमै बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेट जातिय, भौगोलिक, बर्गीय र जनताको माग अनुसार समर्पित रहेको दाबी गरे। ‘पर्यटन, कृषि, सहकारीलगायतका क्षेत्रलाई बजेटले विशेष सम्बोधन गरेको छ,’ उनले भने, ‘समृद्ध प्रदेश बनाउन सत्तापक्ष र प्रतिपक्ष सांसदको भुमिका उत्तिकै छ।’

प्रदेशसभामा गुठी विधेयक र युरिया मल
नेकपाकी सांसद मैना अछामीले भने संघीय सरकारले ल्याउन लागेको गुठी विधेयकको समर्थन गर्दै गुठी बाहिरकाले विरोध गरेको आरोप लगाईन्। ‘म पनि गुठीमै बसेको थिएँ, गुठीमा बसेकाहरुलाई विधेयक राम्रै लाग्या छ,’ उनले भनिन् ‘गुठी बाहिरकालाई चाँही नराम्रो लाग्यो होला, तर बसेर छलफल गर्न पाएको भए आन्दोलन गर्नै पर्दैन थियो होला।’

नेपाली कांग्रेसका सांसद भीमसेन खत्री र नेकपाकै सांसद सुरेन्द्रराज गोसाईले देशमा रासायनिक मल अभावले किसान मारमा परेको भन्दै सरकारको आलोचना गरे। सांसद खत्रीले मलसमेत अभावका कारण जनतामा नैराश्यता बढेको भन्दै कृषकका छोराहरु धान रोप्न छाडेर विदेशिएको बताए। मल अभावले कालोबजारी बढेको भन्दै सांसद गोसाईले सरकारले समाजवादलाई छलछाम गर्न झुटा नाराको रुपमा प्रयोग गरेको आरोप लगाए।

प्रकाशित: ५ असार २०७६ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App