coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सांसद्को मनपरी

रौतहट– प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिदैं आइरहेको भए पनि प्रदेश संसदमा विकास समितिका सभापतिले नहरलाई पुरेर सडक निकालेको भेटिएको छ। रौतहटको संघीय निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा ‘ख’बाट प्रदेश सांसदमा निर्वाचित शेख फूलबाबु भन्ने अब्दुल कलाम आजादले आफ्नै गाउँ छेउको नहर उपभोक्ता समितिमार्फत पुरेर सडक निकालेको भेटिएको हो।

गढीमाई नपा ३ र ४ जोड्ने बागमती सिंचाइ आयोजनाको ३२ फिट चौडा नहरलाई पुरेर राम रहिम जल उपभोक्ता समितिको नाममा सडक निकालिएको हो। सिंचाइ हुँदै आएको करिब १२ सय मिटर नहरलाई पुरेर जल उपभोक्ता समितिले नै सडक निकाल्न थालेपछि स्थानीयको चासो बढेको थियो। स्थानीयले बागमती सिंचाइ आयोजनामा सम्पर्क गर्दा कुनै जानकारी नभएको बताएपछि स्थानीय आक्रोशित बनेका छन्।

बागमती सिंचाइ आयोजनाको नहर नै पुरेर सडक निकाल्न थालेको चार महिनासम्म आयोजनालाई जानकारी नहुनु चरम लापरवाहीको नमूना भएको स्थानीय शम्भु पटेलले बताएका छन्। आयोजनाको लापरवाही मात्र नभएर कर्मचारीको संलग्नता पनि भएको आरोप पटेलको छ।

बागमती सिंचाइ आयोजनाका प्रमुख विनय गामीले साउदी अरेबियाको बजेटले २०६४ मा निर्माण भएको नहर पुरेर सडक निकाल्न थालेको आफूहरुले सुनेको र निरीक्षण गरेर तत्काल रोक लगाएको बताएका छन्। आयोजना प्रमुख गामीले नहर पुरेर सडक निकाल्नु पूर्णतया गैरकानुनी काम भएको बताउँदै सडक निकाल्ने काम रोकेर जस्ताको तस्तै नहर बनाइदिने निर्देशन दिएको बताएका छन्। गामीले जल उपभोक्ता समितिसित स्पष्टीकरण समेत माग गरेको बताउँदै आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय रौतहटलाई लेखी पठाएको बताएका छन्।
सिंचाइको लागि नहर निकाल्नु अघि जग्गा अधिग्रहण गरेर विभिन्न चरण पूरा गरी नहर निकालिएको हुन्छ भने आयोजनाको पूर्व अनुमति वा स्वीकृतिबिना नहरको जमिनमा कसैले केही गर्न नमिल्ने आयोजना प्रमुख गामीको दाबी छ।

उपभोक्ता समितिले पुरेको नहरले कम्तीमा तीस हेक्टर जग्गा सिंचाइ हुने गरेको आयोजनाका डिई वरुण कर्णको भनाइ छ। आयोजनाले नहर पुर्नेलाई कानुनी कारबाही हुने बताएपछि जल उपभोक्ता समितिले बिना प्राविधिक सल्लाह गैरकानुनी रुपमा निर्माणाधीन सडकको छेउमा खेतको सतहभन्दा पाँच फिट गहिरो र तीन फिट चौडा कुलो खनेको डिई कर्णको भनाइ छ।

बागमती सिंचाइ आयोजनालाई नहर पुरेर सडक निकाल्ने काम कसको बजेटमा भएको हो भन्ने औपचारिक जानकारी नभए पनि प्रदेश सासद आजादले सिंचाइ नहुने गरी बन्द रहेको नहरलाई पुरेर सडक निकालेको र सडककै छेउमा नहर खन्न लगाएको बताएका छन्। सर्वसाधारणलाई सडक र नहर दुबैको आवश्यकता पूरा हुने प्रदेश सांसद आजादको दाबी छ।

राजमार्ग नै खनेर घन्टाघर
प्रदेश सांसद आजादले गौर–चन्द्रपुर सडक खण्डको गरुडामा राजमार्गलाई नै खनेर घन्टाघरको शिलान्यास गरेपछि अर्को विवाद उत्पन्न भएको छ। सडकसम्बन्धी कुनै पनि निकायलाई नसोधी गैरकानुनी रुपमा खाल्टो खनेर प्रदेश सांसद आजादले गत जेठमा घन्टाघरको विवादास्पद शिलान्यास गरेका थिए।

सडक डिभिजन चन्द्रपुरका प्रमुख डिई दरोगा साहले सडकमै खाल्टो खनेर घन्टाघरको शिलान्यास गरिएको सुनेपछि तत्काल काममा रोक लगाएको बताएका छन्। गैरकानुनी रुपमा राजमार्ग खनेको विषयमा गरुडा नगरपालिकासित सोधिएको र नपाको बजेट नै नभएकोले खासै जानकारी नभएको बताएपछि सडक डिभिजनले गैरकानुनी रुपमा शिलान्यास गरिएको भनिएको ठाउँलाई पुर्ने तयारी गरेको डिई साहले बताएका छन्। राजमार्गको बीच भागमै खाल्डो भएपछि दिनहु दुर्घटना हुने गरेको छ।

प्रकाशित: ५ असार २०७६ ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App