४ वैशाख २०८१ मंगलबार
समाज

सकियो सम्झौता, बनेन पुल

गाराघाटमा रहेको सानीभेरी नदीमा अलपत्र अवस्थामा रहेको पुल। तस्बिरः नागरिक

रुकुम–रुकुम (पश्चिम) को बाँफिकोट गाउँपालिका–१० र मुसीकोट नगरपालिका–१, जोड्ने पक्की पुल निर्माण कार्य दुई वर्षदेखि अलपत्र परेको छ। ठेकेदार कम्पनीले समयमै काम गर्दा उक्त पुल निर्माण अलपत्र परेको हो।

गाराघाटस्थित सानीभेरी नदीमा निर्माण भइरहेको उक्त पुल सम्झौता अनुसार २०७५ माघ महिनामा सम्पन्न भइसक्नु पर्ने हो। सडक डिभिजन कार्यालय रुकुम (पश्चिम) चौरजहारीको आर्थिक सहयोगमा निर्माण सुरु भएको उक्त पुलको सम्झौता सकिएको पाँच महिनामा भयो। म्याद सकिएको पाँच महिनासम्म पनि म्याद थपसमेत भएको छैन। दुई वर्षभित्र निर्माण गरिसक्ने गरी काम सुरु भएको उक्त पुल कहिले बन्छ भन्ने अझैसम्म पनि टुङ्गो छैन। पुल निर्माणको कार्य तोकिएको समय कटिसक्दा पनि नसकिँदा समस्या भएको छ।

पुलको लागि अहिलेसम्म एउटा मात्र पिल्लर निर्माण गरिएको छ। सुरु तीन महिनासम्म धमाधम निर्माणको काम गरे पनि त्यसपछि भने यहाँ कुनै पनि काम हुन सकेको छैन। १० करोड ८६ लाख रूपैयाँमा उक्त पुलको निर्माणको जिम्मा नागारजुन कन्ट्रक्सनले लिएको छ। २०७३ असारमा सम्झौता भए पनि पुस महिनाबाट मात्र काम सुरु भएको थियो। यो पुल बनेपछि जिल्लाको बाँफिकोट गाउँपालिका र आठबीसकोट नगरपालिकाका स्थानीयवासीलाई सदरमुकाम खलंगा तथा अन्य क्षेत्रमा पुग्न धेरै सहज हुनेछ। 

नदीमा पुल नहुँदा आठबीसकोट र बाँफिकोटबाट खलंगा आवतजावत गर्न लामो बाटोबाट छिन्खेत, गिलवाङ हुँदै जानुपर्ने बाध्यता छ। यसका साथै पुल निर्माण भए यहाँबाट सिधैँ दाङ, नेपालगन्ज पनि गाडी सञ्चालन हुने अपेक्षा स्थानीयको छ। निर्माण कम्पनीलाई पुल निर्माण छिटो सम्पन्न गर्न पटक पटक आग्रह गर्दै आएको भए पनि पुल निर्माण हुन सकेको छैन। ठेकेदार कम्पनीले काममा ध्यान नदिएकै कारण सम्झौता सकिएको पाँच महिनासम्म पनि बन्न नसकेको यहाँका स्थानीयको भनाइ छ। 

निर्माण कम्पनीले म्याद थपको लागि कार्यालयमा निवेदन दिएको र आगामी आर्थिक वर्षभित्रमा कार्यालयलाई पुल हस्तान्तरण गर्ने प्रतिबद्धता गरेको सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन प्रमुख नरेन्द्र भट्टले बताए।

 

 

प्रकाशित: ५ असार २०७६ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App