४ वैशाख २०८१ मंगलबार
अन्य

रेडपान्डालाई मान्छेबाटै खतरा

इलाम– लोपोन्मुख जनावर रेडपान्डा संरक्षणमा मानवीय गतिविधि नै प्रमुख चुनौती बनिरहेको छ।सरकारी तथा गैरसरकारी संघ–संस्थाले दशकयता यसको संरक्षणमा पहल गरिरहेपनि पर्याप्त हुन सकेको छैन।

इलाम, पाँचथर र ताप्लेजुङका लेकाली भेगमा पाइने रेडपान्डा संरक्षणका लागि रेडपान्डा नेटवर्क, उच्च पहाडी संस्था, जिल्ला वन कार्यालयलगायतले प्रयास गरिरहेका छन्।तर, बेला–बेला यिनै क्षेत्रमा मृत रेडपान्डा फेला पर्ने, कहिले वनमै पासो थापिएको पाइने गरेकाले रेडपान्डा संरक्षण अझै चुनौतीपूर्ण नै छ।संरक्षणकर्ताले रेडपान्डा बचाउन अझै प्रयास जरुरी भएको बताएका छन्।उनीहरूका अनुसार भएका रेडपान्डा संरक्षण गर्न र संख्या बढाउन प्रकृति संरक्षण र जनचेतना अभिवृद्धि आवश्यक रहेको जनाए।

रेडपान्डा नेटवर्कका सोनामटासी लामाले मानवीय क्रियाकलाप नै रेडपान्डाका लागि चुनौती हुने बताए।‘यो लोपोन्मुख जनावरलाई मानिसको गतिविधिले प्रभावित गरिरहेको छ,’ उनले भने, ‘अन्य जंगली जनावरभन्दा पनि मानिसबाट नै रेडपान्डा जोखिममा देखिएको छ।’ ज्यादै लजालु स्वभावको रेडपान्डा मानिस देख्दासमेत नभाग्ने भएकाले मानिसबाट बचाउन चुनौती देखिएको संरक्षणकर्ताको भनाइ छ।यसको बासस्थान, खानेकुरा र प्रजनन संरक्षण गर्नसके मात्रै लोपोन्मुख रेडपान्डा जोगिने उनीहरू बताउँछन्।

गतवर्ष इलाममा कुकुरले मारेको अवस्थामा रेडपान्डा फेला परेको थियो।केही समयअघि रेडपान्डाका बच्चा एउटा रुखमा मृत फेला परेका थिए। रेडपान्डा कहिलेकाहीं गाउँबस्तीतिरसमेत आउने भएपनि के कारणले यसरी आक्कलझुक्कल रेडपान्डा गाउँ पस्छन् भन्ने अध्ययन हुन बाँकी रहेको उनको भनाइ छ।

देशभित्र जिउँदो रेडपान्डाको व्यापार भएको अहिलेसम्म पत्ता नलागेपनि काठमाडौं उपत्यकामा रेडपान्डाका छालाको व्यापार हुने देखिएको लामाले जनाए।‘सन् २००७ यता काठमाडौंमा पटक–पटक गरी ठूलो संख्यामा रेडपान्डाको छाला बरामद भएको छ,’ उनले भने, ‘काठमाडौं उपत्यकाका घरहरूमा रेडपान्डाको छाला सजाएको पाएपछि प्रहरीले बरामदसमेत गरेको छ।’

प्रहरी तथ्यांकअनुसार औसतमा वार्षिक १० रेडपान्डाको छाला बरामद हुनेगरेको छ। सन् २०१६ मा प्रहरीले २ सय हाराहारी रेडपान्डाको छाला काठमाडौंका विभिन्न घरबाट सजाइएको अवस्थामा बरामद गरेको उनले जनाए।नेटवर्कका अनुसार इलाम, पाँचथर, ताप्लेजुङदेखि कालिकोट र जुम्लासम्मका २५ जिल्लामा रेडपान्डा पाइन्छ। संकटापन्न मानिएको रेडपान्डा नेपाल, भारत, चीन, भुटान र बर्मामा मात्रै पाइने लामाले जनाए। ‘नेपालमा रेडपान्डाको संख्या यति नै छ भन्ने तथ्यांक छैन,’ उनले भने, ‘नेपालमा ५ सयदेखि हजार र विश्वमा १० हजार हाराहारी रेडपान्डा पाइने अनुमान छ।’

सहायक वन अधिकृत हरिषचन्द्र सिंहले जैविक विविधतामा रेडपान्डाको भूमिका महत्त्वूर्ण रहेको बताए।‘रेडपान्डाको संरक्षण गर्नु आवश्यक छ,’ उनले भने, ‘जिल्लामा सालकको चोरी शिकार भएका घटनामा अहिले पनि मुद्दा चलिरहेको छ, रेडपान्डाको तस्करीको मुद्दा नभएपनि यसको संरक्षणमा सबैले ध्यान दिनुपर्छ।’

 इलाम र पाँचथरसँग सीमा जोडिएको भारतीय सिंहलीला नेसनल पार्कमा हरेक वर्षायाममा मानिस आउ–जाउमा प्रतिबन्ध लगाइन्छ।यो पार्कसँग सीमा जोडिएको इलामको रेडपान्डा पाइने वनमा पनि जेठदेखि कात्तिकसम्म मानिस पस्न निषेध गर्ने गरिएको छ।रेडपान्डा संरक्षणमा परियोजना नै सञ्चालन गरिएकाले स्थानीय सर्वसाधारण यसबारे सचेत हुँदैछन्।

प्रकाशित: ५ असार २०७६ ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App