८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटक आगमन १५ प्रतिशत बढ्यो

मिनराज भण्डारी

काठमाडौं - चालु आर्थिक वर्षको पहिलो चार महिनामा विश्वभरबाट हवाइ तथा स्थल मार्गबाट नेपाल घुम्न आउने पर्यटकको सख्या १५ प्रतिशतले वृद्वि भएको छ। अध्यागमन विभागले जारी गरेको तथ्यांकअनुसार सन् २०१८ को पहिलो चार महिनाको तुलनामा चालु आवको जनवरीदेखि अप्रिलसम्म नेपाल घुम्न आउने पर्यटकको तथ्यांकले उक्त वृद्धि भएको देखाएको हो।

सन् २०१८ को पहिलो चार महिनामा विश्वका करिब ३० देशबाट नेपाल घुम्न आउने पर्यटक सख्या तीन लाख ८६ हजार ३० रहेकामा आर्थिक वर्षको सोहि अवधिमा चार लाख ४५ हजार एक सय नौ पुगेको तथ्यांकले देखाएको छ। एसिया महादेशका सार्क राष्ट्रबाट मात्र यो वर्ष नेपाल आउने पर्यटकको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ। ८१ हजार पाँच सय ६ पर्यटक नेपाल आएको जनाउँदै यो वर्षको सोही अवधिमा उक्त संख्या वृद्वि हुँदै ९७ हजार एक सय ६८ पुगेको छ। जसमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् भने दास्रोमा श्रीलंका रहको छ। भारतबाट मात्र नेपाल आउने पर्यटकको संख्यामा यो वर्ष १९ प्रतिशतले वृद्धि हुँदै ५० हजार सात सय ४५ बाट बढेर ६० हजार चार सय ३८ पुगेको छ।

त्यस्तै, एसियाका अन्य देशहरुको तुलनामा यो वर्ष २३ प्रतिशतले वृद्धि भएको छ। एक लाख १४ हजार ६ सय ३० को संख्यामा पर्यटक नेपाल आएकामा यो वर्षको पहिलो सिजनमा एक लाख ४० हजार नौ सय ६० पुगेको देखिन्छ। यद्यपि नेपाल आउने पर्यटकको संख्यामा चिनिया पर्यटकको ठूलो हिस्सा रहने गरेको भए पनि यो वर्ष मार्चको तुलनामा अप्रिल महिनामा एक सय ११ संख्याले गिरावट आएको छ।

अनुपातमा हेर्दा सन् २०१८को तथ्यांकअनुसार यो वर्ष २० प्रतिशतले वृद्धि भएको देखिए पनि विगत तीन महिनादेखि उक्त संख्यामा कमि आएको हो। यो वर्षको मार्चमा १७ हजार तीन सय ९८ चिनिया पर्यटक नेपाल आएका थिए भने अप्रिलमा उक्त संख्या १७ हजार दुई सय ८७ मा झरेको छ। यो वर्ष एसियाका अन्य देशबाट नेपाल आउने पर्यटकमा सबै भन्दा बढि चीनीया पर्यटक नै छन भने दोश्रोमा थाइल्यान्डबाट रहेका छन।

नेपाल घुम्न आउने युरोपियन पर्यटकको संख्यामा पनि खासै परिवर्तन भएको देखिँदैन। गत वर्षको तुलनामा यो वर्ष साढे दुई प्रतिशतले वृद्धि देखिएको छ। सन् २०१८ को चार महिनामा ८२ हजार सात सय ७७ पर्यटकले नेपाल भ्रमण गरेका थिए  यो वर्षको सोही अवधिमा हेर्दा ८५ हजार २७ सम्म पुग्न सकेको देखिन्छ। यो वर्ष युरोपियन देशबाट नेपाल घुम्न आउने पर्यटकमा सबैभन्दा बढी बेलायतबाट रहेका छन्। बेलायतले झन्डै चार प्रतिशतले बढाउँदै २१ हजार नौ सय ५० बाट २२ हजार सात सय ८८ पुगेको छ।

अस्ट्रेलियाबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा भने यो वर्ष तीन प्रतिशतले वृद्धि भएको छ। १२ हजार ६ सय २८ को संख्या रहेको पहिलो वर्षको तुलनामा केहि प्रतिशतले मात्र वृद्धि हुदै १३ हजार दश पुगेको छ। यो वर्ष न्युजिल्यान्डबाट नेपाल आउने पर्यटकको संख्यामा २९ प्रतिशतले कमि आएको छ। यो भन्दा पहिला एक हजार नौ सय ६३को तथ्याङक रहेपनि यो वर्ष भने उक्त संख्या १३ सय ९० मा झरेको हो।

अमेरिकी मुलुकबाट आउने पर्यटकको संख्या भने यो वर्ष ११ प्रतिशतले वृद्धि भएको छ। ३५ हजार नौ सय १६ को संख्याबाट उकालो लाग्दै यो वर्षको सोही समयमा ३९ हजार नौ सय १० पुगेको छ। सन् २०१८ भरी अन्तर–सार्क देशबाट ३० लाख एक हजार नौ सय ६३ पर्यटक नेपाल आएका थिए, जुन सन् २०१७ भन्दा २६ दशमलवले वृद्धि भएको थियो। त्यस्तै एसियाका अन्य देशको तुलनामा सन् २०१७ भन्दा २०१८ मा २७ प्रतिशले वृद्धि हँुदै ३१ लाख ६ हजार सात सय ६१ पुगेको थियो।

युरोपेली देशबाट २३ प्रतिशतले वृद्धि हुँदै २४ लाख तीन हजार दुई सय ८४ पुगेको थियो भने अमेरिकी देशबाट नौ प्रतिशतले वृद्वि हुँदै १० लाख नौ हजार ६२ पर्यटकले नेपालको भ्रमण गरेको जनाइएको छ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अपेक्षित रुपमा पर्यटक संख्या बढ्न नसके पनि अन्तर्राष्ट्रिय जगतमा नेपाल भम्रण वर्षबारे प्रचारप्रसार बढिरहेकाले संख्यामा वृद्धि हुँदै जाने बताउँछन्। एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द रहेको र जेट एयरवेज ग्राउन्डेडका कारण सोचे अनुरुप बढ्न नसकेको हो,’ जोशीले भने।

नेपालमा ठूला इभेन्ट आयोजना गर्दे जाने र करिब १० हजार जनशक्तिलाई तालिम दिएकाले पर्यटक आगमन संख्या बढदै जाने उनको भनाइ रहको छ। पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेकाले सन् २०२० सम्ममा सोचेअनुरुप पर्यटकको लक्ष्यमा पुग्न सकिने उनले बताए। ‘पर्यटकले भिसा शुल्क भन्दा पनि सुलभ रुपमा भिसा पाउने चाहना राख्छन्, हामीले पर्यटक केन्द्रित पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको छ,’ उनले बताए।

त्यस्तै नेपाल होटेल एसोसियसनका प्रथम महासचिव विनायक शाहले देशमा पूर्वाधार सीमित हुँदाहँुदै पनि जारी संख्या राम्रै भएको प्रतिक्रिया जनाए। ‘भारत तथा चीन जोडने बाटो स्तरिय नभए पनि स्थल मार्ग भएर नेपाल आउने पर्यटकको संख्यालाई राम्रै मान्न सकिन्छ,’ उनको भनाइ छ। सिजनल रुपमा अहिले गर्मी सिजन भएका कारण पनि पर्यटक अझ बढ्न नसकेको हो। यो समयमा पर्यटक समुन्द्र केन्द्रित स्थानको खोजीमा हुन्छन्। त्यसकारण पनि सार्वजनिक संख्यालाई खासै नराम्रो भन्न नमिल्ने उनले बताए।

२० लाख पर्यटकलाई केन्द्रित गर्दे गरेका प्रयासमाथि लक्ष्यमा पुग्न नसके पनि राम्रो प्रयासको रुपमा लिन सकिने उनको भनाइ रहेको छ। ‘आँकडाभन्दा पनि प्रयासमा हामिले जोड दिँदै जाने हो,’ उनले बताए। ७० वर्षको इतिहाँसमा यो वर्ष रेकर्ड रहने जनाउँदै उनले २५ लाख नै पर्यटक आए पनि पर्यटकलाई बस्न सबै प्रकारका होटेलदेखि होमस्टेसम्मका भौतिक पूर्वाधारको अभाव नहुने उनको भनाइ छ।

समयअनुसार सबै क्षेत्रको विकासमा सरकारले ध्यान दिएको बताउँदै प्राप्त बजेटलाई प्रभावकारी रुपमा खर्च गर्न आवश्यक रहेको उनले बताए। त्यस्तै, पर्यटन व्यवसायी खुम बहादुर सुवेदीले नेपालमा प्रत्येक वर्ष पर्यटकको संख्या बढ्दै गए पनि अपेक्षित रुपमा बढ्न नसकेकोे बताए। ‘सूचनाको प्रभावकारितामा जोड दिन आवश्यक रहेको र नेपाल आएका विदेशीलाई प्रभाव पार्न आवश्यक छ,’ उनको भनाइ छ।

पर्यटकले सिधा उडान खोज्ने गरेको जनाउँदै सिधा उडान तालिका मिलाउन आवश्यक रहेको उनले बताए। सन् २०२० मा २० लाख पर्यटन नेपाल आउनु पर्ने केही कारण हुनु पर्ने बताउँदै नाम मात्रको भ्रमण वर्षभन्दा पनि पर्यटकको सुविधामा ध्यान दिन आवश्यक रहेको उनले बताए।

प्रकाशित: ५ असार २०७६ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App