coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वैदेशिक रोजगारबाट समृद्धिसँगै प्रतिष्ठा आर्जन

वैदेशिक रोजगारीमा गएकाका परिवार सहरमा बसाइँ सरेपछि उराठलाग्दो बनेको बलकावा गाउँ ।

सिरहा– लाहान बजारसँग जोडिएको सोनमती मझौरा गाउँका विष्णुप्रसाद साह एक दशकदेखि कतारमा छन् । उनले कतारमा पसिना चुहाएर कमाएको रकम गाउँमा पक्की घर, लहानमा घडेरी र घर जोड्न खर्च गरे । गाउँमा भव्य पक्की घर, सहरमा घरजग्गा जोडेपछि समाजमा उनको हैसियत बढेको छ ।

एक दशकअगाडि उनलाई गन्दैनगन्ने समाज अहिले सम्मानको नजरले हेर्छ । समाजले भाउ दिन थालेपछि उनी फुरुंग छन् । ‘राम्रो घर, सहर बजारमा घडेरी नहुनेलाई हाम्रो समाजले गन्दैगन्दैन’, उनले अनुभव सुनाएँ, ‘पहिला आफूलाई हेलाको नजरले हेर्नेहरूमा अहिले सम्मान पलाएको महसुस गरेको छु ।’ यो परिवर्तन आफ्नो आर्थिक हैसियतमा आएको परिवर्तनले गर्दा भएको साहको बुझाइ छ ।

‘मेरो जीवनको ऊर्जावान् समय वैदेशिक रोजगारमा खर्चेर कमाएको सहरको घरघडेरी र गाउँको पक्की घर नै हो’, उनी थप्छन्, ‘वैदेशिक रोजगारमा कमाएको पैसा घरघडेरी जोड्नमै खर्च भइरहेको छ ।’

वैदेशिक रोजगारमा जाने अधिकांशको सोच परिवारलाई अभावमुक्त बनाउने हुने उनको भनाइ छ । उनी भन्छन्, ‘बजारमा घर र छोराछोरीलाई राम्रो शिक्षा उपलब्ध गराउन हामी असह्य तापक्रममा श्रम बेच्न बाध्य छौं ।’

सामाजिक प्रतिष्ठा आर्जन गर्ने, परिवारको माग पूरा गर्ने, पक्की घर, सहरमा घडेरी, बाइक जोड्ने उद्देश्यले नै वैदेशिक रोजगारीमा जाने विदेसिएका युवा सुनाउँछन् । गाउँ समाजमा घरको उचाइ र चौडाई हेरेर ‘हैसियत’ नापिन्छ जसका कारण हाम्रो कमाइको पहिलो प्राथमिकता ठूलो घर, बजारमा घडेरी हो– उनीहरू भन्छन् ।

सिरहा महनौरका अब्दुल अजिजका छोराहरू वैदेशिक रोजगारका लागि खाडी गएको वर्षौं भयो । छोराहरूले कमाएको पैसाले अजिजले गोलबजारको मुख्य चोकमा घडेरी खरिद गरे । अहिले उनी गोलबजारमा  सबभन्दा अग्लो र चौडा घर बनाउँदैछन् । चारतले निर्माणाधीन घरले उनको हैसियत समाजमा उँचो बनाइदिएको छ । ‘यहाँका प्रतिष्ठित सबै व्यक्तिले अजिजलाई हैसियतवाला साहुको रुपमा सम्मान गर्छन्’, स्थानीय पत्रकार अर्जुन थपलियाले भने ।

महनौर गाउँबाट सहर आएको केही वर्षमै अजिजले प्रतिष्ठा आर्जन गर्नुमा उनको अग्लो चुच्चे घर कारण भएको थपलिया बताउँछन् । सामाजिक अभियन्तासमेत रहेका थपलिया भन्छन्, ‘सरकारको सहर केन्द्रित सेवा सुविधा पछ्याउँदै दक्षिणबाट उत्तरतर्फ बसाइँसराइ भइरहेको छ ।’

प्रत्येक घरबाट कम्तीमा एकजना युवा रोजगारका लागि खाडीमा छन् । उनीहरू पहिलो कमाइबाट सहरमा घडेरी जोड्छन्, पछि घर ठड्याउँछन् । विदेशको कमाइ सबै अनुत्पादक क्षेत्रमै खर्च हुने थपलिया बताउँछन् । ‘ठूलो घर, महँगो गाडी र सुकिलो जीवनशैलीमा खर्च हुन्छ वैदेशिक रोजगारीको कमाइ’, उनले भने ।

सामाजिक प्रतिष्ठासँग जोडिएकाले नै गाउँघरबाट टायलले छाएको घर हराउँदै गएको छ, त्यसको स्थान पक्की घरले लिएको छ । परालले छाएको घर भेटिन मुस्किल छ । श्रमका लागि खाडी मुलुक जाने अधिकांश युवा ग्रामीण क्षेत्रका छन् । उनीहरू किसान परिवारका छन् । खेती गरेर आर्थिक हैसियत उकास्न नसक्नेहरू रोजगारीका लागि खाडी मुलुकतर्फ जान्छन् ।
‘उनीहरूमा कृषिबाहेक अन्य क्षेत्रमा लगानी गरेर उत्पादन बढाउने जानकारी नै हुन्न’, बलकावा गाउँका मोहम्मद सहजादे भन्छन्, ‘गाउँका युवामा उत्पादनशील कामबारे जानकारी नै छैन ।’ सरकारले सुरक्षित लगानीका अवसरबारे जानकारी गराउन सके वैदेशिक रोजगारीको रकम उत्पादनशील काममा सदुपयोग गर्ने ढोका खुल्ने उनले बताए ।

गाउँ सुनसान, सहर भरिभराउ

बलकावा गाउँका अधिकांश युवा रोजगारीका लागि खाडी मुलुकमा छन् । उनीहरूको कमाइ गोलबजार, मिर्चैयाजस्ता सहरमा जग्गा र घर जोड्न खर्च भइरहेको सहजादे बताउँछन् । बलकावामा घर भए पनि तीन किलोमिटर उत्तर गोलबजारमा घर जोड्न वैदेशिक रोजगारीको पैसा खर्चिरहेका छन् यहाँका युवा । ‘पहिलाको बलकावा बजार अहिले गोलबजारमा मिसिइसक्यो’, सहजादे भन्छन्, ‘बलकावा उराठलाग्दो गाउँमा परिणत भइसक्यो, यहाँको बस्ती उठेर गोलबजार घना भइसक्यो ।’

लहानस्थित एभरेस्ट कलेजका प्राध्यापक चक्रपाणि दाहाल भन्छन्, ‘विदेशमा कमाएको पैसा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सहज र सुरक्षित वातावरण नै भएन । बैंकमा बचत गर्दा पनि कम ब्याज पाइन्छ । त्यसैले वैदेशिक रोजगारमा कमाएको पैसा घरजग्गा जोड्नमै खर्च भइरहेको छ ।’

बजारतर्फ आकर्षण बढ्नुमा सरकरी सेवा गाउँमा नपुग्नु कारण भएको उनी बताउँछन् । ‘स्कुल कलेज, गुणस्तरीय स्वास्थ्य सेवा सबै सहरमा केन्द्रित भएपछि सुविधा खोज्दै गाउँ सहरतर्फ लम्किँदैछ’, उनले भने, ‘आर्थिक रुपमा सबल भएपछि मानिस गुणस्तरीय सेवा सुविधा (विलासिता) मन पराउँछ ।’

लहान, गोलबजार, मिर्चैया, सिरहालगायतका सहरी क्षेत्रमा घरजग्गाको भाउ अकासिनुको पछाडि वैदेशिक रोजगारीको कमाइको हात रहेको दाहाल बताउँछन् । उनी भन्छन्, ‘पाँच वर्षअगाडि कौडीको भाउमा नबिक्ने जग्गाको मूल्यले आकाश छोइसक्यो ।’ सहरमा बिक्री हुने अधिकतर जग्गा खरिद गर्ने व्यक्ति कि ठूला व्यापारी हुन्छन् कि वैदेशिक रोजगारीमा गएका व्यक्ति ।

गोलबजारका एक व्यापारी भन्छन्, ‘एक वर्षभित्र यहाँ ५० कित्ता जग्गा बिक्री भयो । किन्ने सबै वैदेशिक रोजगारमा गएका व्यक्ति छन् ।’ वैदेशिक रोजगारीले सहरको मात्र नभई गाउँको जग्गाको समेत मूल्य बढाएको छ । किन्ने धेरै र बेच्ने कम भएपछि मूल्य महंगिनु स्वाभाविक भएको प्राध्यापक दाहाल बताउँछन् । सरकारको तर्फबाट कृषिमा अनुदान र वैज्ञानिक योजना गाउँमा ल्याउन सके अनुत्पादक क्षेत्रमा खर्च भइरहेको वैदेशिक रोजगारीको आय उत्पादनमूलक क्षेत्रमा सदुपयोग हुने र उत्पादकत्वका साथै रोजगारीसमेत सिर्जना हुने उनको भनाइ छ ।

जिल्ला उद्योग वाणिज्य संघ सिरहाका वरिष्ठ उपाध्यक्ष अशोककुमार साह भन्छन्, ‘यहाँको बजार हेर्दा सबैभन्दा बढी व्यापार निर्माण सामग्रीको छ ।’


 


 

प्रकाशित: १४ कार्तिक २०७३ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App