coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

क्राइम थिएन भने किन हिरासत ?

काठमाडौं - ‘म पुलिसको गाडीमा छु, हातमा हत्कडी छ र बयान दिन अदालत गइरहेको छु। मेरो बाबा कतै कुनामा उभिएर रुमालले आँखाको आँसु पुछिरहनुभएको छ। त्यो दृश्य मैले कसरी भुल्न सक्छु र !’ ‘रिहा भएको खुशीले हिरासतमा भोगेको पीडा पनि बिर्साइदियो होला ?’, आठ दिनको हिरासत बसाइपछि अदालतबाट साधारण तारेखमा रिहा भएका युट्यबुर अर्थात् स्ट्यान्डअप कमेडियन प्रनेश गौतमलाई सोमबार भक्तपुर बालकोटस्थित उनकै निवासमा गएर प्रश्न गर्दा भावुक हुँदै उनले दिएको जवाफ हो।

फिल्म ‘वीर विक्रम–२’को व्यंग्यात्मक शैलीमा भिडियो समीक्षा गरेकै कारण साइबर अपराधको अभियोगमा हिरासत पुगेपछि अहिले प्रनेश सर्वत्र चासोमा छन्। फिल्म निर्देशक मिलन चाम्सले कलाकारको ‘अपमान’ र ‘मानमर्दन’ गर्ने गरी समीक्षा गरेको आरोप लगाएर प्रहरीमा उजुरी गरेपछि उनी आठ दिनसम्म प्रहरी हिरासतमा परे। विद्युतीय कारोबार ऐनअन्तर्गत उनलाई मुद्दा चल्यो। आइतबार अदालतले साधारण तारेखमा रिहा गरेपछि अहिले उनी घरमै छन्। तर मुद्दाको अन्तिम फैसला बाँकी छ। हिरासतबाट बाहिरिएपनि उनले हिरासत बस्नुपर्दा भोगेको पीडा अझै बिर्सिएका छैनन्।

आठ दिनको प्रहरी हिरासतपछि अदालतबाट साधारण तारेखमा छुट्दा उनलाई सबैभन्दा पहिला के गर्न मन लाग्यो होला ! नेपाल रिपब्लिक मिडियाको सह–प्रकाशन शुक्रवार साप्ताहिकसँग उनको पक्राउ प्रकरण र हिरासत अनुभवबारे कुरा गर्दै उनले भने, ‘आदेश आउनेबित्तिकै मेरो दिमागमा बिटल्सको ‘फ्रि एज अ बर्ड’ र लिनेड सिनेडको ‘फ्रि बर्ड’ गीत बजिरहेको थियो। हलिउड मुभी ‘ब्रेभ हार्ट’मा मेल गिब्सन (कलाकार) लाई मार्न लागेको बेला ‘तँलाई मर्नुअघि केही भन्नु छ ? भनेर सोध्दा उसले जसरी ‘फ्रिडम’ भनेर चिच्याएको थियो। मलाई पनि त्यसैगरी ‘फ्रिडम’ भनेर ठूलो स्वरले चिच्याउन मन थियो तर त्यो अदालत थियो, भित्रै चिच्याउन मिल्दैनथ्यो।’

मेरो उद्देश्य मान्छेहरूलाई हँसाउने थियो। मैले हँसाउन खोज्दा चित्त दुखेछ ! यसका लागि त ‘आइ एम सरी’।’

फिल्म समीक्षा गरेकै कारण उनी जीवनमा पहिलोपल्ट हिरासत पुगेका थिए। हिरासतको पहिलो रात उनी पूरै ‘ब्रोकन’ थिए। किनभने उनी त्यहाँ पुलिसको अन्डरमा थिए। उनलाई त्यहाँ हत्कडी लगाएर लगिएको थियो। अनि, एउटा ठूलो हल, एक सय ७० जनाले सेयर गरेर सुत्नुपर्ने अवस्था थियो। त्यो पनि भुइँमा। ‘निकै चित्त दुखेको थियो त्यो दिन,’ स्वर मलिनो बनाउँदै उनले भने। 

हिरासतमा रहँदा उनका दिमागमा अनेक कुराहरू खेल्थे। दिनहरू कटाउनै मुस्किल हुन्थ्यो उनलाई। ‘उठेर बस्न पनि मन लागेन। खान पनि केही मन नलाग्ने। दिनभर सुतेरै मात्रै बस्थें,’ उनले सम्झिए, ‘मैले क्राइम गरेको हो त ? ए, त्यसोभए भोलिदेखि अब नबोल्ने त ? अब मैले स्ट्यान्डअप कमेडी पनि गर्न पाउदिनँ ? जोक लेख्न पाउदिनँ ? यत्रो काण्डपछि अब बाले कसरी दिनुहुन्छ स्ट्यान्डअप गर्न ? अब के हुने हो ? मलाई फँसाएर यहाँ ल्याइएको हो कि ? वकिलले त केही नै क्राइम गरेको छैनस् भन्थ्यो। केही क्राइम थिएन भने किन यहाँ हिरासतमा बस्नुपथ्र्यो होला र ? यस्तै कुरा दिमागमा खेलिरहन्थ्यो। ’

प्रनेश फिल्मको भिडियो समीक्षा गरेकै आधारमा हिरासत पर्दा बाहिर उनको पक्षमा मिडिया, राजनीतिज्ञ, बौद्धिक व्यक्तित्वलगायत ठूलो जमात उनको रिहाईका लागि आवाज उठाइरहेको थियो। अभिव्यक्ति स्वतन्त्रतामाथि गरिएको प्रहारलाई लिएर विरोध जनाइरहेको थियो। तर, हिरासतभित्र थुनिएका प्रनेश यसबारे जानकार थिए त ?

‘भेट्न आउने साथीहरूले ‘बाहिर आगो लागिरा’छ’ भन्नुहुन्थ्यो। आगो पनि एक किसिमले आगो लागिरहेकै रहे,’ प्रनेशले भने, ‘विदेशी कमेडियनहरूले तँलाई सपोर्ट गरिरहेको छ। गगन थापाले तेरोबारे ट्विट गर्नुभएको छ भन्थे। यसरी साथीहरूले बाहिर सपोर्ट भइरहेको खबर लिएर आउँदा बेग्लै खुशी दिन्थ्यो। ’

त्यसपछि बिहान जब हिरासतमा पत्रिका आइपुग्थ्यो, हिरासतभित्रकै कसैले ‘ओई प्रनेश, पत्रिकामा आएछ तेरो’ भनेर सुनाउँथ्यो। उनको पक्षमा लेखिएको उनी देख्थे। अनि मनमनै सम्झथे, ‘मलाई जसरी जेल हालियो, त्यो कानुनको दुरुपयोग भनेर लेखिएको हुन्थ्यो। थ्याङ्क गड, कोही त रहेछ मेरो सपोर्टमा भन्ने महसुस हुन्थ्यो। तर जति हल्ला गरे पनि मभित्रै छु, हल्ला गरेर त म निस्किने होइन भन्ने पनि लाग्थ्यो अनि सुतिन्थ्यो।’

रमाइलो त के भने प्रनेश कमेडी गरेकै कारण थुनामा परेका थिए। तर, उनी हरेक साँझ थुनाभित्रै आधा घन्टा हिरासतका अन्य अभियुक्त र प्रहरीहरूसामु आफ्नो प्रस्तुति दिन्थे रे। जे काम गर्दा थुनामा पर्नुभयो, त्यहाँ गएर त्यही गर्दिनुभयो ? भन्ने प्रश्नमा पेशाले आर्किटेक्चररसमेत रहेका उनी उनी मुस्कुराउँदै बोले, ‘खोइ, त्यस्तै भएछ है। त्यहाँ त झन् चिप जोक पनि भनियो। धन्न, कसैले केही भनेन्।’

समीक्षालाई लिएर बाहिर प्रनेशको समर्थन मात्रै हैन, उनले समीक्षामा निकिता चण्डक, अशोक दर्जी, सरिताराज भण्डारी लगायत कलाकारलाई जसरी टिप्पणी गरिएको थियो, त्यो गलत हो भनेर आलोचना पनि भइरहको थियो। हिरासतबाट बाहिर निस्किएपछि उनलाई आफूले त्यो गलत गरेको भन्ने महसुस भएको छ कि छैन त ?

‘त्यो भिडियोमा कसैमाथि गालीबेइज्जती छँदै छैन्। कतिपयले त्यसमा मैले रंगभेद गरेको भनेर टिप्पणी गर्नुभएको रै’छ तर मलाई त्यस्तो छ जस्तो लाग्दैन,’ उनले भने, ‘जस्तो, तपाईं या म गहुँगोरो वर्णको छौँ भने गहुँगोरो वर्ण हुनु त समस्या होइन नि ! तर, गहुँगोरो भएकै कारण तँ म भन्दा खत्तम भन्नु गलत हो। तर, मैले त्यो भिडियोमा त्यसरी होच्याएको छैन।’
‘तर ‘एज अ ह्युमनबिइङ’ उहाँ (निकिता)को कुरा थाहा नपाएर मैले उहाँलाई जिस्काएको हो भने त्यसमा त ‘आइ एम भेरी सरी’ तर त्यो रंगभेद होइन,’ उनी थप बोल्दै गए, ‘त्यसैले ‘एज अ जोक’, ‘एज अ स्टेटमेन्ट’, म त्यसमा पछुतो मान्दिनँ तर मैले बनाएको भिडियोले निकिता चाण्डकको चित्त दुखेको हो भने त्यसमा त माफी माग्छु। कसैको चित्त दुखाउने मेरो नियत थिएन। मेरो उद्देश्य मान्छेहरूलाई हँसाउने थियो। मैले हँसाउन खोज्दा चित्त दुखेछ ! यसका लागि त ‘आइ एम सरी’।’

प्रकाशित: ५ असार २०७६ ०४:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App