ठूलाले बिर्सेका गाँउघर

बिहिबार, ०५ असार २०७६, ०९ : ३९ हरिकृष्ण उप्रेती

चुरेको फेँद वा भनौँ तराईभन्दा केही माथि उठेको भावर क्षेत्रमा अवस्थित उदाउँदो सहर धरानमा यतिबेला डेंगुको संक्रमण फैलिएर अस्तव्यस्त बनेको खबर आइरहेका छन्। त्यही सहरको १८/२० किलोमिटर दूरीमा अवस्थित भेडेटारले भने त्यो नियति भोगेको छैन बरु साँझमा पुग्ने जोकोहीलाई हपहपी गर्मी हुने अहिलेको धूपमा पनि अझै सिरकमै घुस्रन बाध्य बनाउँछ। यसले नेपालको विविधतायुक्त हावापानीको मौजुदा अवस्थालाई इंगित मात्र गरेको छैन बरू विकासका आधारभूत आवश्यकता जस्तैः सडक, शिक्षा र स्वास्थ्यले परापूर्वकालदेखिका रमणीय गाँउले बस्तीमा पाइला नटेक्दा धरानमा यो अवस्था आएको हो भन्दा अतिशयोक्ति हुने छैन। अनगन्ती सम्भावना बोकेका गाँउहरू आज पनि धनदौलत कमाउने लोभमा मुग्लान पसेका वा सुखसयलका लागि अन्यत्र गएका युवा पंक्तिलाई कुरेर बसेका छन्।

टेलिभिजनका पर्दामा देखाइएका ती र अन्यत्रका त्यस्तै कारुणिक दृश्यहरूले एकथरी विज्ञलाई जलवायु परिवर्तनको प्रमाणका रूपमा पहाडको फेँदिसम्मै डेंगु फैलन पुगेको समाचारका हेडलाइन, राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रमा आआफ्ना भनाइहरूलाई प्रस्ट्याउन पक्कै सहज बनाएको छ। तर  व्यवहारमा सबैले बिर्सेका गाउँघरको शीतल, स्वस्थ र मनोरम हावापानीको कम्तीमा धरानवासीलाई झलझली याद आएको होला यतिबेला। कैयन् अस्थायी रूपमै भए पनि धरान छाडेर पुख्र्याैली गाँउ पो गएका छन् कि ?  खोजीको विषय हुन सक्छ।

विकासले दिने अवसर पछ्याउने रहरमा गाउँघर क्रमशः रित्तिँदै र उजाड हुँदै गएका छन्। बाँझिएका खेतबारी, युवाविहीन गाँउ नै अहिले नेपालको पाश्र्वचित्र बन्न पुगेको छ।

शीतल हावापानीको स्वाद लिन वा भनौँ स्वस्थ रहनकै लागि भए पनि होमस्टे गाँउ खोज्नुपर्ने भएको छ वा वर्षे र हिउँदे घरको अर्थात् मौसमी बासको विकल्पसमेत सोच्नुपर्ने अवस्था आएको छ, नेपालमा। ज्ञातव्य छ– उपत्यकावासीलाई चन्द्रागिरि र नगरकोटले केही क्षण सुस्ताउने थलो दिएजस्तै पहाडी क्षेत्रले मनमोहक हिमशृंखला नियाल्ने भरपर्दा स्थान र टाकुरा प्रशस्त दिएका छन्। तैपनि हाम्रो चेत अझै खुलेको छैन र गाँउमा सुविधा पु¥याउने तर्फभन्दा विभिन्न नामका सहर बन्ने र बनाउने होडबाजीमा सबै तह र तप्का जुटेको देखिन्छ। 

बस्ती–बस्तीमा विकासका न्यूनतम आधारशिला खडा गर्ने वा विकासका क्रियाकलाप बस्तीबाहिर लगेर जनतालाई निरन्तर भागदौड गर्न बाध्य बनाउने भन्ने बहसको ठोस निकास आजपर्यन्त नेपालले दिन सकेको छैन। इन्जिनियरहरूले नदी किनारलाई पछ्याएर बाटो बनाउँदा सहज अनि लागत न्यून हुने मानेको देखिँदै गर्दा गाँउबस्तीमा रहेकाहरू भने धुवाँ–धुलोले प्रताडित नै हुन परे पनि आआफ्ना सबै मूल्य–मान्यता चुकाएर विकासको महँगो स्वाद लिन बेपर्वाह हिसाबले गाँउबाट बेँसी झरेर मानिस सोही बाटो किनारमा रहेका उर्वर खेतमा टहरो हाल्न चटारो गर्छन्। सक्नेहरू अझ राजधानी, जिल्ला सदरमुकाम वा अहिलेको प्रादेशिक राजधानी छेउछाउ घरघडेरी जोड्ने लिगलिगे दौडमा लागेका देखिन्छन्। विकासले दिने अवसर पछ्याउने रहरमा गाउँघर क्रमशः रित्तिँदै र उजाड हुँदै गएका हुन्। बाँझिएका खेतबारी, युवाविहीन गाँउ नै अहिले नेपालको पाश्र्वचित्र बन्न पुगेको छ।

गरिबका छोराछोरी नुनतेलका लागि खाडी मुलुक चहार्दै गर्दा पहाडी भेगमा बसोवास गर्दै आएका हुनेखानेहरू क्रमशः सहरबजार झरेको र तिनका छोराछोरी युरोप–अमेरिका भासिएको सजिव चित्रमा पनि गाँउकै बासिन्दाको बाहुल्यता रहेको सहजै अनुमान गर्न सकिन्छ। नेपाली परम्परा निफन्दा वा भनौँ मिहिन ढंगले केलाउँदा उब्जनी कम हुने, पानीका स्रोत यथासक्य नजिक रहेका पारिलो पाखामा बस्ती बसाल्ने अनि बेँसीमा प्रशस्त मात्रामा धान, गहुँ र तोरीलगायतका फसल उब्जाएर जीवन निर्वाह गर्ने चाँजोपाँजो मिलाएर आआफ्ना छोराछोरीको भविष्य उज्यालो बनाउने ध्येयले गाँउघरमै कखरा पाठशाला, प्राथमिक विद्यालय हुँदै माध्यमिक तहसम्म पढाइ–लेखाइ गराउने प्रबन्ध मिलाएको अवशेष गाँउघरमा अझै देखिन्छन्। तर विद्यालय तहको पढाइ सकिनासाथ सहर पसेका जोकोही सर्वसाधारण गाँउले, विज्ञ बनेपश्चात् आफू जन्मेको ठाँउ फर्कनुको बदला सके सात समुद्रपारि नभए पनि राजधानीलगायतका व्यापारिक दृष्टिकोणले महŒवपूर्ण ठानिएका वा सुविधायुक्त धरानलगायतका सहरबजारमा घरघडेरी जोड्ने प्रपञ्चमा लाग्न गएकाले नै गाँउले बस्तीहरू क्रमशः पातलिँदै गएका हुन्। सहरमा बस्नेकै हाउभाउले गाँउमा रमाएका सर्वसाधारणलाई समेत आआफ्ना बस्ती छाड्न प्रेरित गरेको हुनुपर्छ सायद !

केही दशकअघिसम्म मात्रै मानिस चिसो हावापानी भएका स्थान खोजेर बस्ने गर्थे। तराई र बँेसीमा औलोको प्रकोप हुनसक्ने त्रासले सबैजना गाउँमै बस्थे। त्यसकै ज्वलन्त उदाहरण हुन्– आजका प्रख्यात होमस्टे गाउँहरू (स्याङ्जाको सिरुबारी अनि लमजुङका घलेगाँउ र काउलेपानी वा कास्कीको घान्द्रुकलगायतका पर्यटकीय गाँउ)। लाहुरे समाजको बाहुल्य रहेका उल्लिखित बस्तीका कैयन् सदस्य जागिरे जीवनबाट अवकाश पाएपछि केही सीपसहित आआफ्ना गाँउघर फर्कने क्रम थियो विगतमा। तर हिजोआज तिनै लाहुरेका सन्तान पिआरधारी बनेर बेलायत वा हङकङतिर बस्छन्। मूलतः बेलायती सेनामा कार्यरत लाहुरे जागिरे जीवनपश्चात् पनि सक्रिय भएर समाजमा योगदान गर्न सकुन् भन्ने अभिप्रायले हुनुपर्छ सायद– सम्बन्धित रेजिमेन्टले व्यक्तिको रुचि र दक्षता अनुसारका सीप सिकाएर फर्काउने प्रबन्ध गर्ने गरेको बताउँछन्, तत्कालीन लाहुरेहरू। त्यसैले उनीहरूले जागिरे जीवनको उत्तराद्र्धतिर लाहुरे हुँदा नै केही न केही सीप सिकेका हुन्थे। यसरी उनीहरूले गाउँघरलाई क्रमशः बस्नलायक बनाउने गरेको भेटिन्छ।

सुरुवाती अवस्थामा समाज बदल्ने कसम खाएर सेवाभावले राजनीतिमा लागेका जनप्रतिनिधिले गणतन्त्रपश्चात् राजनीतिलाई एकाएक पेसा–व्यवसायमा बदलेपछि गाँउघर थप रित्तिने क्रम बढ्दै गएको छ।

यद्यपि नेपालको भौगोलिक बनावट नियाल्दा तराईलाई अन्नको भण्डार, पहाडलाई उपयुक्त बसोवास र हिमाली क्षेत्रलाई पर्यटन, पशुपालन, जडीबुटी र फलफूल खेती स्थल बनाउन सकिने सम्भावना अझै छ। यसलाई पछ्याउन सके मुलुकले विकासे फड्को मार्न सक्नेमा कसैको विमति नहोला। आवश्यउक छ त केवल भरपर्दाे यातायात, बिजुली, शिक्षा र स्वास्थ्यको विश्वसनीय प्रबन्ध।

तर नेपाली विकासको गतिसँगै पछिल्लो समय भेँडेटारको चिसो हावामा कावा खाँदै जीवन डोहो¥याएका परिवार– सभ्य बस्तीको परिचय बनाएको धरान झरेर साँघुरो घेरामा आफूलाई कैद गर्न सक्दा भाग्यमानीको कित्तामा उभिन सफल भएको बाहिरी आवरणमै रमाउन पुगिरहेको प्रतीत हुन्छ। समाजले धरानमा घरघडेरी जोड्नुलाई सामाजिक प्रतिष्ठाको मानक निर्धारण गरेको छ। र त सबै क्षेत्रमा चाप पारेरै भए पनि जिउनुपर्ने अवस्था सिर्जना हुन पुगेको छ। जमेको पानीले उपयुक्त निकास पाउन नसक्दा आज डेंगुलगायतका संक्रमणले महामारीको रूप लिने अवस्था आएको र त्यसकै चपेटामा धरानवासी परेका छन्। आउनसक्ने यस्तो अवस्थाको भेउ नै पाउन सकेन कसैले समय छँदै र आजको परिणाम भोग्न अभिशप्त भएको छ, त्यस भेगको समाज। 

पंक्तिकारको जानकारीमा रहेका पाल्पाको तानसेन र गोरखाको आँपपीपलमा सञ्चालनमा रहेका दुईवटा तत्कालीन समयमा कहलिएका मिसन हस्पिटल आज पनि सरकारमातहत चलिरहेका छन्। भलै, अहिले के कसरी चलिरहेका छन्, बेग्लै बहसको विषय हुन सक्छ। ती हस्पिटल बन्दाका बखत सम्भवतः तत्–तत् क्षेत्रमा सडक यातायात पुगेको थिएन। थियो त केवल चिसो हावापानी, बाक्लो ग्रामीण बस्ती र सहृदयी अनि सरल स्वभावका सर्वसाधारण मात्रै। ती हस्पिटल स्थापनाका लागि हावापानीले नै विदेशीलाई मोहित तुल्याएको हुनुपर्छ ऊबेला। धरानस्थित घोपा क्याम्प भनेर प्रसिद्ध स्थानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले समेत आफ्नै आँगनमा फैलेको डेंगु नियन्त्रणमा ल्याउन नसक्नुले पुनः सर्वसाधारणलाई आआफ्नै पुराना बस्तीमा फर्कनुपर्ने अवस्थाको संकेत गरेको छ। पाँचथरको छथर गाँउपालिकाले आफ्नो क्षेत्रमा आएर व्यवसाय गर्नेलाई ५ लाख बजेट दिने घोषणाले केहीलाई आकर्षण गरेको हुनुपर्छ। झापाका केही मानिस इलामतर्फ फर्कन थालेको समाचारले सेवा सुविधा पु¥याउन सके गाँउलाई पुनः हराभरा बनाउन सकिन्छ भन्ने देखाएको छ।

सुरुवाती अवस्थामा समाज बदल्ने कसम खाएर सेवाभावले राजनीतिमा लागेका जनप्रतिनिधिले गणतन्त्रपश्चात् राजनीतिलाई एकाएक पेसा–व्यवसायमा बदलेपछि गाँउघर थप रित्तिने अवस्था टड्कारो हुँदै गएको छ। पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलगायतका ठूला भूपुहरूले आआफ्ना कार्यकाल सकिनासाथ गाँउ फर्कने अठोट गरेका भए वा त्यस्तो उदाहरण देखाउन सके त्यस क्षेत्रका समुदायमा रहेको हीनताबोध र आफ्नो गाँउमा बस्दा पछि परिन्छ भन्ने नकारात्मक भावना सकारात्मक बनाउन अझै सकिन्छ। पदधारीको भाषण र भनाइलाई व्यवहारमा रूपान्तरण गर्ने अवस्था बनाउन अझै सकिएको छैन। किनभने पूर्वमहामहिमहरूले राजधानीमै सरकारी आवाससहितको सुविधा खोजिरहेका खबर बेलाबखत आइरहन्छन्।

आफ्नो क्षेत्र बनाउने वाचा–कसम खाएका माननीय वा महामहिम सबै अगुवा आफूलाई छाडेर चुनावका बेलामात्रै पर्यटक बनेर गाँउ फर्कने रोगले ग्रस्त भएपछि जुगौँदेखि त्यँहा बसिरहेका सर्वसाधारणलाई पनि सोही रोगले च्याप्दै जाँदा धराने डेंगुको मारमा पर्ने खतरा बढ्दै गएको छ यत्रतत्र सर्वत्र। आफूले पछ्याइआएका अगुवाले नै बाटो भत्काएपछि सोझा, सीधा सर्वसाधारणको अवस्था स्वतः नाजुक हुने नै भयो। मुलुकले चिनेका ठूला ओहोदामा एकपटक विराजमान भएकाहरूले क्रमशः गाँउघरमा फर्कने नैतिकता मात्रै देखाउन सके तत्–तत् क्षेत्रमा विकासका गतिविधिले प्रश्रय पाउँदा हुन्। पप्पुहरूले पनि विकास–निर्माणमा तदारुकता देखाउँदा हुन्। सर्वसाधारणमा पनि गाँउमा बसेर सरल जीवन जिउने आशा पलाउँदो हो। संघीयताले साँच्चै त्यस्तो अवस्था ल्याउन सक्ला कि नसक्ला ?       








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad