७ वैशाख २०८१ शुक्रबार
समाज

हाल्जी गुम्बा भत्कने खतरा

उपल्लो हुम्लाको लिमीस्थित हाल्जी गुम्बा । तस्बिरः अमृत भादगाउँले

लिमी (हुम्ला)– उपल्लो हुम्लाको विकट गाविस लिमीमा अवस्थित हाल्जी गुम्बा भत्कने अवस्थामा पुगेको छ । दसौं शताब्दीमा बनेको यो गुम्बा जीर्णोद्धारमा सरकारले चासो नदेखाएको भन्दै स्थानीय दुःखी छन् ।    

‘भत्कने खतरा छ,’ गुम्बाका पुजारी तार्के लामा भन्छन्, ‘यति महŒवको गुम्बा जीर्णोद्धारमा सरकारले ध्यान नदिएको देख्दा दुःख लाग्छ ।’

शताब्दीऔंदेखि गाउँलेकै प्रयासमा गुम्बा संरक्षित छ । गत सालको भुइँचालोपछि गाउँलेले गुुम्बामा काठको टेको लगाएका छन् ।

हजार वर्ष पुरानो हुम्लाको हाल्जी गुम्बा ०७२ जेठ ८ गतेको अनुकम्पले थिलथिलो बनेको छ, जीर्णोद्धार गर्न अबेला भइसक्यो    

दसौं शताब्दीमा बनेको तीनतले गुम्बा जीर्णोद्धार गर्नुपर्ने आवाज उठिरहेकै बेला ०७२ जेठ ८ गतेको परकम्पन (भूकम्प) को केन्द्रबिन्दु लिमी नै बन्यो, त्यसले यो सम्पदा झनै खतरामा प¥यो । गुम्बाको गारो चर्किएको छ । काठका खाँबा हल्लिएका छन् । पानी रसाउन थालेको छ ।

जनबोलीमा हाल्जी गुम्बा भनिए पनि यसको खास नाम ‘ड्रिक्युङ काग्यु थुप्तेन रिन्छेलिङ गुम्बा’ हो । लिमीका तीन गाउँ, तिल, हाल्जी र जाङका बासिन्दा यसलाई मूल गुम्बा मान्छन् । गुम्बामा हाल्जीका प्रत्येक घरबाट त्यहाँ एक–एक जना टोपे (लामा) चढाउने चलन छ । दुई छोरा हुँदा कान्छो र तीन छोरा हुँदा माइलो अनिवार्य टोपे बन्नुपर्ने नियम छ ।    

तिब्बतका लोचवा (अनुवादक) रिन्छेन जाङ्मोले बनाएको गुम्बामा पुराना मूर्ति, पुस्तक, लिखत र बौद्ध धर्मसँग सम्बन्धित सामग्री छन् । प्राचीन भएकाले गुम्बाको संरचना जीर्ण बनिसकेको छ भने कतिपय मूर्ति खिइएका र टुटफुट अवस्थामा छन् ।
‘कैलाश मण्डला’ पुस्तकका लेखक छक्कबहादुर लामा हाल्जी हुम्लाकै सबैभन्दा पुरानो गुम्बा भएको बताउँछन् । उनका अनुसार लोचवा रिन्छेन जाङ्मोले आफ्नो जीवनकालमा एक सय आठ गुम्बा निर्माण गरेका थिए । तीमध्ये हाल्जी अन्तिम गुम्बा हो । उनले बनाएका गुम्बा गुगे, पुराङ, लद्दाख पनि हुन् ।

भुइँचालोले तिल र जाङका गुम्बामा पनि क्षति पु¥याएको हाल्जीका अगुवा कोजुक ओवजोङ तामाङ बताउँछन् । ‘गाउँका घरहरु पनि चर्केका छन्,’ उनको गुनासो छ, ‘तर कसैले राहत पाएका छैनन् ।’

हाल्जी गुम्बा जीर्णोद्धारका लागि पहल गरिएको प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले जानकारी दिए । ‘हामीले पुरातŒव विभागलाई पत्र लेखेका छौं,’ उनले नागरिकसँग भने, ‘पुरातŒवको टोली अध्ययन गरेर फर्किसक्यो ।’
यो गुम्बा पर्यटकीय ‘प्रोडक्ट’ बनेको छ । लिमी पदयात्रा गर्ने विदेशी यो गुम्बा नघुमी फर्कंदैनन् । विदेशीले गुम्बाभित्र फोटो खिच्न पाँच सय रुपैयाँ तिर्नुपर्छ । यसपल्ट मात्रै १२ सय विदेशीले उपल्लो हुम्ला घुमिसकेको तथ्यांक जिविस हुम्लाका कर्मचारी विशाल बोहराले सुनाए ।  

गुम्बाको भुइँतलामा चार दिशामा फर्केका बोधिसत्व नामबर नाङजेदका मूर्ति छन् । भिन्नभिन्न मुखडाका मूर्ति पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशामा छन् । लोचवाले बनाएका १०८ गुम्बामध्ये चारवटामा मात्र यस्तो मूर्ति राखिएको पुजारी तार्के लामाले बताए । त्यसैले बौद्धमार्गी माझ यसको ठूलो महŒव छ ।  

 

प्रकाशित: १४ कार्तिक २०७३ ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App