८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘चीन र उत्तर कोरिया सम्बन्ध नयाँ युगमा प्रवेश’

उत्तर कोरियाली नेता किम जोङ–उन (बायाँ) र चिनियाँ राष्ट्रपति सी चिनफिङ । फाइल तस्बिरः एजेन्सी

बेइजिङ – चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन्। उनले यी दुई देशबीचको सम्बन्धलाई थप नयाँ सम्बन्धका साथ अघि बढाउनका लागि आह्वान पनि गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले यो सम्बन्धले दुई देशका नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुग्नुका साथै विश्व तथा क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका लागि पनि लाभ पुग्ने धारणा राखेका छन्। उत्तर कोरियाको सरकारी पत्रिका ‘रोडोन सिनमुन’मा बुधबार प्रकाशित चिनियाँ राष्ट्रपति सीको लेखमा सो कुरा उल्लेख भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ। राष्ट्रपति सीको उत्तर कोरिया भ्रमणको अघिल्लो दिन प्रकाशित लेखमा उनको यस्तो धारणा आएको हो।

सीले बिहीबारदेखि उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण गर्दै छन्। सीको दुई दिने राजकीय भ्रमण चीनको उच्चस्तरीय नेता वा राष्ट्रपतिले १४ वर्षपछि गरेको पहिलो भ्रमण हुनेछ भने सन् २०१२ मा चीनको शक्तिमा आएपछि सीले गरेको पहिलो उत्तर कोरिया भ्रमण हुनेछ।

‘रोडोन सिनमुन’मा बुधबार प्रकाशित लेखमा राष्ट्रपति सीले कोरियाली वर्कस् पार्टीका अध्यक्ष किम जोङ उनको निमन्त्रणामा आफूले उत्तर कोरियाको राजकीय भ्रमण गर्न लागेको बताउँदै यस भ्रमणले चीन र उत्तर कोरियाबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने धारणा राखेका छन्।

यस वर्ष चीन र उत्तर कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठ मनाइँदैछ। सोही अवसर पारेर चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गर्न लागेको समाचार यस अघि नै सार्वजनिक भएको थियो। चिनियाँ राष्ट्रपति सीले बिहीबारबाट गर्न लागेको दुई दिने राजकीय भ्रमणबारे दुवै देशमा व्यापक प्रचारप्रसार गरिएका छन्।

प्रकाशित: ५ असार २०७६ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App