coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बेस–क्याम्प नपुगी हिमाल आरोहण प्रमाणित

काठमाडौं - ६ हजार पाँच सय मिटरभन्दा माथिका हिमाल आरोहण गर्न जाने समूहमा एकजना सरकारी कर्मचारी सम्पर्क अधिकारी (लियाजन अफिसर) को रूपमा जानुपर्ने व्यवस्था छ। सो व्यवस्थाअनुसार यो मौसममा ९८ कर्मचारी लियाजन अफिसर भई आरोहण दलमा सहभागी भए तर तीमध्ये २२ जनामात्रै बेस क्पाम्प पुगे। बाँकी बिरामी भएँको भन्दै बेस क्पाम्पबाटै फर्के।

लियाजन अफिसरले हिमाल आरोहणमा जाने समूह वा व्यक्तिलाई हिमाल आरोहण पूरा गरेको प्रमाणित गर्नुपर्ने हुन्छ। लियाजन अफिसरले प्रमाणित गरेपछि मात्रै सम्बन्धित व्यक्तिले हिमाल आरोहण गरेको कानुनी मान्यता पाउँछ। हिमाल आरोहण समूहबाट एकजना लियाजन अफिसरले दुई हजारदेखि तीन हजारसम्म डलर सुविधा पाउँछन्। यसबाहेक हिमाल आरोहण गर्ने समूहले उनीहरूलाई थप सुविधा दिने गर्छ। त्यसैले लियाजन अफिसर भई आरोहण दलमा जान सरकारी कर्मचारीहरूमा सोर्स–फोर्स र पहुँच लाग्ने गर्छ। अघिल्ला वर्षहरूमा झैं यस मौसममा पनि लियाजन अफिसरमा अवसर पाउने कर्मचारीहरूमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अख्यियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालयजस्ता पहुँचवाला कार्यालयका कर्मचारी हाबी छन्। यसैगरी आधिकारिक टे«ड युनियनका अध्यक्ष, महासचिव, सदस्य, सत्तारूढ कर्मचारी संगठनका अध्यक्षलगायत पहुँचवाला कर्मचारी नेताहरू पनि लियाजन अफिसर भई हिमाल आरोहणमा पुगेका छन्।

लियाजन अफिसर बाटामै बिरामी भए बीच बाटोबाटै फर्कन सक्ने व्यवस्था छ। यो व्यवस्थालाई दुरूपयोग गर्दै अधिकतर लियाजन अफिसर बेस–क्याम्प नपुगी फर्कने गर्छन्। ‘बीच बाटोमै लेक लाग्यो, बिरामी भएँ भनेपछि मानवीय कारणबाट पनि उसलाई फर्क भन्नुपर्ने हुन्छ,’ पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे भन्छन्, ‘बिरामी भएँ भनेको व्यक्तिलाई कसरी बेस क्पाम्प जाऔं भन्ने ?’ लियाजन अफिसरलाई पनि आरोहण दलका अन्य व्यक्तिलाई झैं चुचुरोमा पुग्ने अनुमति हुने घिमिरे बताउँछन््। तर अधिकतर लियाजन अफिसर शिखरमा पुग्ने होइन, बेस क्याम्प नै नपुगी फर्किने ‘योजना’ मा हुन्छन्।

यस मौसममा लियाजन अफिसर भई हिमाल आरोहण दलमा जाने सरकारी कर्मचारीहरूमा राष्ट्रपति कार्यालयका प्रल्हाद पुडासैनी, प्रधानमन्त्री कार्यालयका प्रदीप श्रेष्ठ, विवेक घिमिरे, दीपेन्द्रराज अधिकारी, कानुन तथा न्याय मन्त्रालयका प्रकाश न्यौपाने, पर्यटन मन्त्रालयका केशव पोखरेल, सहकारी विकासका निर्माण कार्की, अख्तियारका कमलप्रसाद मिश्र, तीर्थ चापागाईंसहित विश्वबन्धु रेग्मी, हरिबहादुर राउत, पुण्य ढकाल, भोला पोखरेल, रोशनी कार्की, गणेश गुरुङ, उत्तम दवाडी, विनोद गौतमलगायत छन्।

आरोहण दलमा सहभागी अन्य लियाजन अफिसहरूमा सुरेन्द्र अधिकारी, लक्ष्मी आचार्य, कमलराज श्रेष्ठ, गणेश गुरूङ, हरिकष्ण फुयाँल, चन्द्र अधिकरी, कृष्ण दाहाल, नमराज वाग्ले, ज्ञानेन्द्र श्रेष्ठ, निराजन मिमिरे, प्रमोद नेपाल, विमल ज्ञवाली, गोविन्द न्यौपाने, धनकुमारी गुरागाई, प्रदीप पौडेल, भीम पन्थी, तुलसीनाथ गौतम, नारायण खत्री, मिरा आचार्य, झंककुमार खत्री, रामप्रसाद भुसाल, दीपक दाहाल, बलबहादुर कार्की, कमलराज श्रेष्ठ, रोशनी कार्की, तरुण राय, रचना प्रधान, नर्पु भोटे, चोकी शेर्पालगायत कर्मचारी छन्।

सगरमाथा पोलुसन कन्ट्रोल कमिटी (एसपिसिसी) का अनुसार ९८ जना लियाजन अफिसरमध्ये २२ जनामात्रै बेसक्याम्प पुगेका छन्। बेस क्याम्प पुगेकामा ज्ञानेन्द्र श्रेष्ठ, युवराज खड्का, शिव अधिकारी, घनश्याम कटुवाल, इन्द्रमाया पोखरेल, प्रदीपराज पौडेल, प्रमोद नेपाल, भीमप्रसाद पन्थी, रामप्रसाद भुसाल, रामेश्वर निरौला, मीरा आचार्य, दिवसबहादुर जिसी, अस्मिता भुसाल, विमल ज्ञवाली, सीता साम्बा, प्रदीप श्रेष्ठ, दीपककुमार थापालगायत छन्। बेस क्याम्प हिँडेका लियाजन अफिसरमध्ये तीर्थ चापागाईं र विश्वबन्धु रेग्मी भने बीचबाटोमै बिरामी भई लुक्ला अस्पतालमा भर्ना भएका थिए। चापागाईं र रेग्मीलाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो।

केही वर्षयता हिमाल आरोहण असुरक्षित हुन थालेको छ। हिमाल आरोहणमा जाने पर्वतारोहीहरू भने हिमाल आरोहणलाई सुरक्षित बनाउन लियाजन अफिसरहरू सजग हुनुपर्ने बताउँछन्। पर्यटन विभागले हिमाल आरोहणमा जाने लियाजन अफिसरले कम्तीमा आठ दिनको तालिमा लिनुपर्ने व्यवस्था गरेको छ। तर बेस–क्याम्पमा केहीबेर मात्रै बसेर फर्किएका एक लियाजन अफिसर भन्छन्, ‘आरोहीलाई हिमाल आरोहण गरेको प्रमाणित गर्न हामीसँग कुनै वैज्ञानिक विधि छैन। हिमालको तल फेदमा बसी चुचुरोमा पुगेको प्रमाणित गर्नुपर्ने हुन्छ।’

आरोहणमा जाने व्यक्तिले चुचुरोमा नपुगी प्रविधिबाट चुचुरोमा पुगेको फोटो मिलाउन पनि सक्ने उनको अनुमान छ। उनले भने, ‘फोटोलाई आधार मानेर हिमाल आरोहण गरेको प्रमाणित गर्नु त्यति वैज्ञानिक हुँदैन। चुचुरोमा पुगेको प्रमाणित हुने अरू वैधानिक विधि पनि अपनाउनुपर्छ।’
यता, हिमाल आरोहण असुरक्षित बन्दै गएको, लियाजन अफिसर बेस क्पाम्प नपुगी फर्कने गरेको जस्ता गुनासो आउन थालेपछि सरकारले यी विषयमा खोजबिन गरी हिमाल आरोहणलाई सुरक्षित बनाउन पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययको नेतृत्वमा एउटा कमिटी गठन गरेको छ। सो कमिटीले काम गरिरहेको स्रोतको भनाइ छ।

६ सय ४४ चुचुरोमा
पर्यटन विभागका रामेश्वर निरौलाका अनुसार यस मौसममा सगरमाथा आरोहणको अनुमति लिएका एक हजार २४ जनामध्ये ६ सय ४४ जना सगरमाथाको चुचुरोमा पुगेका छन्। विभागका अनुसार यस मौसममा सगरमाथाको चुचुरोमा पुग्ने नेपालीहरूमा निसा भोटे, लक्ष्मण सापकोटा, गोपाल श्रेष्ठ, खिमलाल गौतम, रविन कार्की, दावाजंग शेर्पा, रोहितकुमार श्रेष्ठ, पासाफुटी शेर्पा, कुमारी ज्ञानमाला रनपल, फुरदिकी शेर्पा, निमा डोमा शोर्पा, कान्छी डोल्मा हेल्मो, लीलाबहादुर बस्नेतलगायत छन्।

पर्यटन विभागले यस मौसममा ३८ समूहलाई हिमाल आरोहण गर्न अनुमति दिइएको थियो। त्यसमध्ये ३३ समूहले सगरमाथाका लागि अनुमति लिएका छन्। बसन्त ऋतुमा सगमाथा, ल्होत्से, कञ्चनजंघा, अन्नपूर्णलगायत हिमाल आरोहणको मुख्य गन्तव्य मानिन्छ भने शरद ऋतुमा मनास्लुलगायत हिमाल आरोहण हुनेगर्छ। विभागका अनुसार हिमाल आरोणमा जाने समूह÷व्यक्तिले २० देखि ७५ दिनसम्म्म लगाउने गर्छन्।

प्रकाशित: ५ असार २०७६ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App