८ वैशाख २०८१ शनिबार
समाज

हलेसीको सिँढी र घेराबारा मर्मत गरिँदै

खोटाङ – हलेसीको महादेव गुफाको सिँढी तथा महादेवको घेराबारा मर्मत सुरु गरिएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको त्रि–धार्मिक स्थल हलेसी गुफा प्रवेश गर्ने रेलिङसहितको सिमेन्टेड सिँढी तथा गुफाभित्रै रहेको महादेवको फलामे बारको मर्मतको काम सुरु गरिएको हो ।

तत्कालीन राजा वीरेन्द्रले २०४०/४५ सालतिर बनाइदिएको सिँढी तथा फलामे बार संघीय समपूरक कोष तथा हलेसी तुवाचुङ नगरपालिकाको साझेदारीमा प्राकृतिक संरचनालाई असर नपुग्नेगरी मर्मत सुरु गरिएको हो । गुफाभित्रको मानवनिर्मित संरचनाकोमर्मत सुरु गरिएसँगै अहिले बिहान ६ बजेदेखि ८ बजेसम्म मात्र पूजाआजाको व्यवस्था मिलाइएको छ । राजाको पालामा बनाइएको गुफाको सिँढी साँघुरो, पुरानो एवं वान–वे मात्र भएको र महादेवको फलामे घेराबारासमेत पुरानो भएकाले मर्मत थालिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । प्रतिष्ठा निर्माण कम्पनीले ७२ लाख रुपैयाँ लागतमा महादेव गुफाको सिँढी र महादेवको घेराबारा मर्मतको काम जिम्मा लिएको छ । हलेसीको गुरुयोजना निर्माणको काम अघि बढिरहेको बेला गुफाको संरचना मर्मत थालिएको हो ।

भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसम्भवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङस्थल रहेकोलगायत आधारमा त्रि–धार्मिकस्थल मानिएको हलेसीमा हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको बाक्लो भीड लाग्ने गरेको छ । हलेसी महादेवको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने भएकाले महादेव गुफा, धर्मद्वार, पापद्वार, बसासा गुफा, भैरव गुफा, दुङदेलो गुफा, मञ्जुश्री गुफालगायत स्थानको अवलोकन गर्न पर्यटक तथा दर्शनार्थी यहाँ आउने गरेका छन् । बौद्ध धर्मावलम्बीको मारातिका गुम्बा रहेको हलेसीमा हरेक हिउँद विश्वभरका बौद्धमार्गीले ४÷५ महिनासम्म बसेर ध्यान गर्ने गरेका छन् । किरात धर्मगुरु फाल्गुनन्द, बौद्ध धर्मगुरु टुकुपेमा वाङगेल रिम्पोछे, हिन्दुधर्मका गुरु शंकराचार्यलगायतले दर्शन भ्रमण गरिसकेको हलेसीमा विश्वभरका बौद्धमार्गी आउने गरेका छन् ।

प्रकाशित: ५ असार २०७६ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App