coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिफारिस राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडाैँ - संसदीय सुनुवाइ समितिले चार देशका लागि सिफारिस भएका राजदूतको सुनुवाइ प्रक्रिया सुरु गर्दै बुधबार उजुरी आह्वान गरेको छ। समितिले राजनीतिक सिफारिसमा परेका अष्ट्रेलियाका लागि राजदूत महेशप्रसाद दाहा, स्पेनका लागि सिफारिस दावाफुटी शेर्पा, बंगलादेशका लागि सिफारिस वंशीधर मिश्र तथा कतारका लागि सिफारिस नारद भारद्वाजको सुनुवाइ सुरु गर्दै उनीहरूविरुद्ध उजुरी आह्वान गरेको हो। सरकारले आफंैले तयार पारेको राजदूत सिफारिस मापदण्ड उल्लंघन गर्दै राजनीतिक पहुँचको आधारमा राजदूतमा सिफारिस गरेपछि यसको चौतर्फी आलोचना भइरहेका बेला उनीहरुको सुनुवाइ सुरु भएको हो।

संसदीय समितिले संवैधानिक व्यवस्थाअनुसार उनीहरूविरुद्ध उजुरी दिन १० दिनको समयसीमा दिएको छ। १० दिनभित्र परेका उजुरीमाथि समितिले अनुसन्धान गरेपछि उपयुक्त लागेमा अनुमोदन गर्ने छ भने गम्भीर किसिमका उजुरी प्रमाणित भएमा समितिले नाम अनुमोदन नगर्न पनि सक्नेछ। संसदीय समितिले सिफारिस गरेका राजदूतको नाम अनुमोदन गरेपछि मात्र उनीहरूलाई राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान रहेको छ। संसदीय समितिले सुनुवाइ सुरु गर्दैै उजुरी आह्वान गरेका राजदूतहरू कूटनीतिक क्षेत्रमा नसुनिएका नाम हुन्। तर चारैजनाको पहुँच र सम्बन्ध नेकपाको शीर्ष नेतृत्वसँग भएकै कारण मापदण्डविपरीत राजदूत सिफारिसमा हुन सफल भएका हुन्।

को हुन सिफारिस राजदूत ?
अष्ट्रेलियाका लागि राजदूत सिफारिस भएका महेशप्रसाद दाहाल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवनका बासिन्दा हुन्। लामो समयसम्म नेपाली कांगे्रसको राजनीतिमा सक्रिय उनी गत असोजमा मात्र नेकपामा प्रवेश गरेका थिए। उनको राजदूत बन्ने मुख्य योग्यता नेकपाका अध्यक्ष दाहालनिकट हुनु हो। दाहालकै निकट भएकाले उनले पार्टीमा प्रवेश गरेको छोटो समयमै महŒवपूर्ण जिम्मेवारी पाएका हुन्। राजनीतिमा क्षमताभन्दा पनि नातावाद र कृपावाद हावी हुँदै गइरहेको आरोप लागिरहेका बेला दाहालले आफ्नो निर्वाचन क्षेत्रका आफूनिकट दाहाललाई राजदूत नियुक्त गरेका हुन्।

धुम्बाराहीस्थित नेकपाको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले त्यतिबेला आफू व्यक्तिगत स्वार्थभन्दा पनि देश र जनताको हितका लागि नेकपामा प्रवेश गरेको बताएका थिए। सोही कार्यक्रममा अध्यक्ष दाहालले महेश दाहालको क्षमतालाई मुलुकको समृद्धिका लागि सदुपयोग गर्ने बताएका थिए। उनले गणतन्त्र संस्थागत गर्न महेश दाहालको बहुआयामिक व्यक्तित्वले सघाउने बताएका थिए।

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलमा महŒवपूर्ण जिम्मेवारीमा रहेका दाहाल सुशील कोइराला नेतृत्वको सरकारका बेला तत्कालीन सञ्चारमन्त्री मिनेन्द्र रिजालका तर्फबाट नेपाल टेलिभिजनको अध्यक्ष नियुक्त भएका थिए। दाहाललाई कांग्रेस हुँदै निर्वाचनका बेला नेकपा अध्यक्ष दाहाललाई सघाएको बक्सिस स्वरूप राजदूतको पदले सम्मान गरिएको हो।

स्पेनका लागि सिफारिस दावाफुटी शेर्पा यति एयरलाइन्सका सञ्चालक लाक्पा सोनम शेर्पा तथा पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हमु शेर्पाकी छोरी हुन्। प्रधानमन्त्री ओलीको सम्बन्ध पर्यटन व्यवसायमा संलग्न शेर्पा परिवारसँग राम्रो भएकै कारण दावाफुटी कुटनीतिक पृष्ठभूमिकी नभएर पनि राजदूतको कोटामा सिफारिस भएकी हुन्। दावाफुटीले केही समयअघि मात्र आमाको नाममा स्थापित पासाङ ल्हामु पर्वतआरोहण प्रतिष्ठानको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।

त्यस्तै बंगलादेशका लागि राजदूत सिफारिस वंशीधर मिश्र पूर्वराज्यमन्त्रीसमेत हुन्। उनले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। नेकपामा माधवकुमार नेपालनजिक मानिने उनलाई नेता नेपालकै सिफारिसमा राजदूतमा नियुक्त गरिएको हो। हाल बंगलादेशका लागि नेपाली राजदूतमा रहेका डा. चोपलाल भूसाललाई फिर्ता बोलाएको सरकारले उनको सट्टामा मिश्रलाई राजदूतका रूपमा पठाउन लागेको हो। भुसाल नेपाली कांग्रेसको कोटामा राजदूत नियुक्त भएका थिए।

त्यस्तै, कतारका लागि सिफारिस राजदूत नारद भारद्वाजको विगत झापा आन्दोलनसँग जोडिएको छ। उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एक दशकभन्दा बढी जेल जीवनसमेत बिताएका थिए। उनी एक वर्षअघि मात्र त्रिभुवन विश्वविद्यायबाट सह–प्राध्यापकबाट अवकाश प्राप्त भएका थिए। उनी पत्रकारिता क्षेत्रसँग पनि जोडिएका छन्। जेलमा रहेका बेला भारद्वाजले अंग्रेजी शब्दकोश कन्ठ पारेको भन्ने चर्चा पनि उनी निकट मित्रबीच हुने गर्छ। विगतदेखि नै कम्युनिस्ट विचारप्रति आस्था राख्ने उनी प्रधानमन्त्री ओलीकै रिफारिसमा परेका हुन्।

प्रकाशित: ५ असार २०७६ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App