७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारले सबैलाई धम्क्यायो : देउवा

फाइल तस्बिर

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले प्रेससहित सबै क्षेत्रलाई तर्साउने र धम्काउने काम गरेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता देउवाले लोकतन्त्रका आधारभूत तत्वमाथि सरकारले निरन्तर प्रहार गरी रहेको दाबी गरेका हुन्।

‘यो प्रजातन्त्र र बहुदलीय व्यवस्थामाथिको आक्रमण हो’, देउवाले भने, ‘जुन देशमा प्रेस स्वतन्त्रता हुँदैन त्यहाँ डेमोक्रेसी चल्दैन।’ गलत समाचार त जनताले मूल्यांकन गर्ने कुरा भएको सुनाउँदै उनले थपे, ‘प्रेसले लेख्दैमा डराउनु पर्दैन।’ यसैगरी, प्रजातन्त्रमाथिको अर्को आक्रमण गर्दै सरकारले राष्ट्रिय मानव अधिकार आयोग विधेयक ल्याएको उनले बताए। महान्यायाधिवक्ताको मातहतमा राष्ट्रिय मानवअधिकार आयोग रहने व्यवस्था राखेर स्वतन्त्र मानव अधिकारमाथि प्रहार गरेको उनले बताए। नेता देउवाले संसद्मा आएका प्रेस काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोग विधेयक, सूचना र प्रविधिसम्बन्धी विधेयक, राष्ट्रिय सुरक्षा विधेयक गुठी विधेयक झै फिर्ता गर्नुपर्ने बताए। उनले भने ‘यी विवादित विधेयकमा हाम्रो पार्टीले सहयोग गर्न सक्दैन, हामी संविधानविरोधी विधेयक मान्दैनांै। यो अधिकार क्षेत्रविहीनताको सिद्धान्त(डेक्टोर्स अफ अल्ट्रा भाइरस)’ मा आधारित छ।’

उनले ‘सूचना तथा प्रविधि विधेयकले सूनाको हक नै कमजोर गर्ने काम गरेको बताए। कसैलाई पनि सूचना पाउने अधिकारबाट वञ्चित गर्न नहुने उनको भनाइ थियो।
देउवाले प्रधानमन्त्रीको युरोप भ्रमण असफल भएको बताएका छन्। उनले प्रधानमन्त्रीको बेलायत भ्रमणका क्रममा कुनै सहमति नभएकोले भ्रमण असफल भएको बताए। उनले राजीनामा दिइसकेकी प्रधानमन्त्री थेरेसा मेले कुनै दीर्घकालीन सम्झौता गर्न नसक्ने अवस्था नबुझी प्रधानमन्त्री बेलायत गएको बताए। संसद्मा आएको गुठी विधेयक संसद्बाटै फिर्ता लिनुपर्ने उनले बताए। संसद्मा आएको विधेयक संसद् चलेका बेल संसद् बाहिरबाट फिर्ता लिएर संसद्को मूल्य–मान्यताविपरीत काम भएको समेत उनले बताए।

देउवाले प्रधानमन्त्री संसद्मा आएपछि आफूले कुरा राख्ने भनदौ मंगलबार बोल्ने समय मागेका थिए। तर उनीअघि सभामुखले प्रधानमन्त्रीलाई बोल्ने समय दिएका कारण कांग्रेसले विरोध गरेपछि संसद् अवरुद्ध भएको थियो। बुधबार संसदमा बोल्नका लागि प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति देउवाले समय त पाए तर प्रधानमन्त्री भने उपस्थित भएनन्। देउवाले प्रमुख प्रतिपक्षको दलको नेता बोल्दा प्रधानमन्त्री अनुपस्थित भएर हेपेको पनि बताए। ‘जहाँ पनि विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री आउनुपर्छ। तर, यहाँ जहिले पनि हेप्ने काम भएको छ देउवाले भने, सरकारले ‘नेपालमा पहिलादेखि चल्दै आएको चलनलाई तोड्ने काम गरेको छ।’ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले रोष्ट्रममा बोल्न जाँदै गर्दा विपक्षीले बोल्न नदिएपछि त्यही लडेको स्मरण पनि देउवाले गराएका थिए। ‘ओलीजी ०४८ सालदेखि संसदमा भएको मान्छे हो, उहाँलाई थाहै छैन भन्ने हुन्छ ?,’ उनले भने, ‘नेकपा एमालेले ४८ दिनसम्म संसद् अवरुद्ध गरेको थियो। हामीले त त्यस्तो गरेका छैनौं नि।’

राजपाका सांसद लक्ष्मण लाल कर्णले गुठी विधेयक मात्र फिर्ता गर्ने नभई अन्य लोकतन्त्रविरोधी विधेयक पनि परिमार्जन गरेर जानुपर्ने बताए। गुठी विधेयक सरकारले नै ल्याउने माइतीघरमा सरकारकै मान्छेले फिर्ता गर भन्ने, यो दोहोरो चरित्र भएको उनले बताए। नेकाकी सचेतक पुष्पा भुषालले मिडिया काउन्सिल विधेयक, मानवअधिकार विधेयक फिर्ता लिन आग्रह गरिन्। फिर्ता नभएसरकारको कुर्सी हल्लने चेतावनी पनि उनले भनिन्। कांग्रेस सांसद डिला संग्रौलाले प्रधानमन्त्रीको युरोपको भ्रमणबाट नेपालमा के ल्याउनुभयो भन्दै प्रधानमन्त्रीसँग जबाफ माग गरिन्। कार्यकारी नभएका प्रधानमन्त्री तथा सम्राटसँग फोटो खिच्नेबाहेक केही काम नभएको उनले बताइन्। नेकपाका प्रमुख सचेतक देव गुरुङले संसद्को अन्तर्राष्ट्रिय अभ्यास तथा नेपालको अभ्यासमा पनि संसद्मा बोल्न प्रधानमन्त्रीलाई नै अग्राधिकार स्थापित भएको बताए। नेकपाका नवराज सिलवालले प्रधानमन्त्रीलाई मंगलबारको संसद् बैठकमा बोल्न नदिएर कांग्रेसले नै लोकतन्त्रको मर्यादामाथि प्रहार गरेको बताए। नेकपाकी सांसद निरु पालले संसदीय प्रणालीमा प्रधानमन्त्रीले बोल्छु भन्दा बोल्न नपाउने यो कस्तो लोकतन्त्र हो भन्दै कांग्रेसले नै लोकतन्त्र विरोधी काम गरेको बताइन्।

प्रकाशित: ५ असार २०७६ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App