७ वैशाख २०८१ शुक्रबार
अर्थ

असार १२ गतेभित्र मलेसिया नखोले आन्दोलनमा उत्रिने व्यवसायीको चेतावनी

काठमाडौं– दुई देशबीच श्रम सम्झौता भएको ८ महिना बित्दा समेत मलेसिया रोजगारी नखोलेकोमा असन्तुष्टि जनाउँदै वैदेशिक रोजगार व्यवसायीले मलेसिया रोजगारी सुचारु गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले असार १२ गतेभित्र मलेसिया रोजगारी सुचारु नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। संघका अध्यक्ष रोहन गुरुङले असार १२ गते भित्र मलेसिया रोजगारी सुचारु नगरे १३ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ र शान्तिपूर्ण आन्दोलन गर्ने बिज्ञप्ति मार्फत जनाएका छन्।

नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको ८ महिना बित्दा समेत मलेसिया रोजगारी सुचारु नभएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जारी गरिएको बिज्ञप्तिमा भनिएकोछ- 'यदि वैदेशिक रोजगार विभाग/कार्यालयले असार १२ गतेभित्र मलेसिया रोजगारीका लागि श्रम स्वीकृति सुचारु नगरेको खण्डमा असार १३ गते वैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगरमा शान्तिपूर्ण बिरोध तथा घेराउ कार्यक्रम गर्न संघ बाध्य हुनेछ।' नेपाल र मलेसियाबीच २०७५ कार्तिक १२ गते सम्झौता भएको थियो।

तर २०७५ जेठ २ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक पक्षीय रुपमा बन्द गरेको मलेसिया रोजगारी अझैं खुल्न सकेको छैन। नेपाली कामदार पठाईदिन  मलेसियाली पक्षको पटक-पटक आग्रह र व्यवसायीको बिरोधपछि मन्त्रालयले २०७५ चैत्रमा कलिंङ् भिसा आएका कामदारलाई श्रम स्वीकृति दिए पनि नयाँ कामदार जान भने रोकिरहेको छ।   

आफ्नो स्वार्थपूर्ति गर्न मन्त्रालले मलेसिया रोकिरहेको रछ भनेर त आज प्रस्ट भैसक्यो। यो स्वार्थले कसलाई कहाँ पुर्याउछ भनेर अब समयले नै देखाउँछ। तर त्यो भन्दा अगाडि श्रम मन्त्रालयले मलेसिया रोजगारी सुचारु गरेर कामदार जाने वातावरण निर्माण गरोस।

 

'हामीले मलेसिया रोजगारी सुचारु गर्न श्रम मन्त्रालयको नेतृत्वलाई पटक-पटक आग्रह गर्यौं तर उहाँहरु कुनै कारण बिनै मलेसिया रोजगारी बन्द गरेर बस्नु भएको छ। नेपालमै रोजगारी दिन नसक्ने श्रम मन्त्रालयलाई भएको रोजगारी बन्द गर्ने हक छ?' संघका अध्यक्ष गुरुङले मन्त्रालयप्रति प्रश्न गर्दै भने,'नेपाली कामदार मलेसिया आउन हाम्रो पक्षबाट कुनै अवरोध छैन भनेर मलेसियाले भनिसकेको अवस्थामा आज लाखौ नेपालीलाई रोजगार विहीन बनाएको छ। आफ्नो स्वार्थपूर्ति गर्न मन्त्रालले मलेसिया रोकिरहेको रछ भनेर त आज प्रस्ट भैसक्यो। यो स्वार्थले कसलाई कहाँ पुर्याउछ भनेर अब समयले नै देखाउँछ। तर त्यो भन्दा अगाडि श्रम मन्त्रालयले मलेसिया रोजगारी सुचारु गरेर कामदार जाने वातावरण निर्माण गरोस।'  

सम्झौतापछि बनेको २ देशको संयुक्त कार्यदलले मलेसिया रोजगारी सुचारु गर्न सबै विषय टुंग्याए पनि श्रम मन्त्रालयले भने बिना कारण विभिन्न बहानामा मलेसिया बन्द गरिरहेको छ। मन्त्रालय भने मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था छनोटमा समय लागेकाले मलेसिया खुल्न ढिलाई भएको तर्क गर्छ।

श्रम मन्त्रालयले मलेसिया रोजगारी सुचारु नहुनुमा मलेसियाली पक्षलाई देखाउने गरेको भए पनि मलेसियाले भने अहिले सम्म नेपाली कामदार लिन आफ्नो पक्षबाट कुनै अवरोध नरहेको प्रस्ट पारिसकेको छ। नेपाल स्थित मलेसियाली नियोगले पनि मलेसिया जाने कामदारको भिसा प्रक्रिया र स्वास्थ्य परीक्षणमा कुनै फेरवदल नभएको भनेर बिज्ञप्ति मार्फत जनाइसकेको छ। 

केही साता अघि मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले नेपाली राजदूत उदयराज पाण्डेलाई समेत नेपाली कामदार छिटो पठाईदिन आग्रह गरेका थिए। मन्त्री सेगरनको आग्रह र भेटवार्ता बारे राजदूत पाण्डेले श्रम मन्त्रालयलाई जानकरी गराए पनि नेपाली कामदार मलेसिया जाने बाटो खोल्न नेपाली पक्षले गरिरहको आनाकानीलाई स्वार्थ लुकेको हठको रुपमा अर्थ्याउछन वैदेशिक रोजगारका जानकारहरु।

'हाम्रो अडानले दुई देशबीच श्रम सझौता सम्पन्न भयो। तर हाम्रो अनावश्यक अडानले वार्षिक १ लाख बढी नेपालीले पाउँदै आएको रोजगारी आज खोसिंदैछ। इमान्दार भएर सम्झौता कार्यान्वयनमा हामीले जुन उदासीनता देखाईरहेका छौं यसले दुई देशको सम्बन्धमै असर पर्न सक्छ' वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डितले भने।  

प्रकाशित: ४ असार २०७६ १७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App