७ वैशाख २०८१ शुक्रबार
खेल

करफोकमा फुटबल ट्रेनिङ सेन्टर बन्दै

सल्लाघारीको बीचमा रहेको सुन्दर करफोक खेल मैदान। तस्बिरः भीम/नागरिक

इलाम–स्थानीय खेल प्रतिभा उजागर गर्ने उद्देश्यले जिल्लाको सूर्याेदय नगरपालिकामा फुटबल ट्रेनिङ सेन्टर निर्माण गरिने भएको छ। पूर्वीपहाडमै फुटबल ट्रेनिङ सेन्टर नभएका बेला सूर्याेदय नगरपालिकाले पूर्वको खेल विकासमा ‘इँटा’ थप्न लागेको हो।

नगरपालिका र अखिल नेपाल फुटबल संघ (एन्फा)को सहकार्यमा करफोक खेलमैदानमा ट्रेनिङ सेन्टर निर्माण गरिँदैछ। प्राकृतिक रूपले समेत आकर्षक मानिने करफोकस्थित सल्लाघारीबीचमा रहेको मैदानमा सेन्टर निर्माणका लागि एन्फा र नगरपालिकाबीच बुधबार सम्झौतासमेत भएको छ। एन्फा र नगरपालिकाले बराबरी लगानीमा सेन्टर स्थापना गर्ने सम्झौता भएको सूर्याेदय नगरका मेयर रणबहादुर राईले बताए। ‘करफोक खेलमैदानलाई नै स्तरोन्नति गरी फुटबल ट्रेनिङ सेन्टर निर्माण गरिनेछ,’ उनले भने, ‘एन्फा र सूर्याेदयले बराबर रकम लगानी गर्नेछन्।’

सम्झौताअनुसार तत्काल काम सुरु हुने उनले बताए। एन्फाले तत्काललाई ५० लाख रुपैयाँ दिने भएको र नगरले आउँदो आर्थिक वर्ष बजेट विनियोजन गर्ने उनले बताए। ‘१४ वर्षमुनिका खेलाडीलाई लक्षित गरी सेन्टर स्थापना गर्न लागिएको हो,’ मेयर राईले भने, ‘सेन्टरमा स्थानीयदेखि राष्ट्रियस्तरका खेलाडीले समेत अवसर पाउनेछन्।’ करफोकमा जिल्ला खेलकुद विकास समितिलगायतको पहलमा यसअघि नै फुटबल ट्रेनिङ सेन्टर स्थापनाको पहल भएपनि पूरा हुन सकेको थिएन। आउँदो ५ वर्षभित्रमा सबै निर्माण पूरा हुनेगरी सेन्टर स्थापना गर्न लागिएको एन्फाले जनाएको छ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले सेन्टरका लागि ३ खेलमैदान निर्माण गर्नुपर्ने बताए। ‘पूर्वी पहाडी क्षेत्रलाई नै यहाँको सेन्टरले लाभ पुग्नेछ,’ उनले भने, ‘विशेषगरी बालबालिका र ओझेलमा परेका खेलाडीको प्रतिभा प्रस्फुटन गर्न सेन्टरले ठूलो सहयोग गर्नेछ।’ सेन्टरमा बैठक कक्ष, जिम हल, चेन्जिङ रुम, प्रशासनिक कक्ष, मेडिकल कक्षसमेत रहनेछन्। करफोक विद्या मन्दिर स्कुलको ७० रोपनी जमिनमा सेन्टर स्थापना हुनेछ।

 जिल्लाका अन्य स्थानीय तहले पनि करफोकमा बन्न लागेको फुटबल ट्रेनिङ सेन्टरलाई सहयोग गर्ने प्रतिबद्धता गरेका छन्। नजिकै रहेको रोङ गाउँपालिका अध्यक्ष समशेर राईले सेन्टर स्थापनामा आफूहरूले आवश्यक सहयोग गर्ने बताए। इलाम नगरपालिकाका मेयर महेश बस्नेतले खेलकुद क्षेत्रको विकासमा लगानी नै कम भएको भन्दै लगानी गर्नसके मात्रै नतिजा राम्रो आउने जनाए।

सूर्याेदयका मेयर राईले सेन्टर स्थापनाका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने बताए। ‘डिपिआर तयार गरेपछि मात्रै यसको कुल लगानी र आकार थाहा हुन्छ,’ उनले भने, ‘तर, निर्माणको काम चाहिँ अब सुरु भइहाल्छ।’

प्रकाशित: ४ असार २०७६ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App