८ वैशाख २०८१ शनिबार
समाज

पानी माग्दै तालाबन्दी

नगरपालिका कार्यालयमा तालाबन्दी गर्दै स्थानीय। तस्बिरः नागरिक

बाजुरा–मार्तडीका स्थानीयले खानेपानी माग्दै बडिमालिका नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन्। महिना दिन बितिसक्दा पनि खानेपानीको व्यवस्थापन गर्न नसकेको भन्दै स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन्।

स्थानीयले खानेपानी उचित व्यवस्थापन नगरेसम्म तालाबन्दी जारी राख्ने चेतावनी दिएका छन्। सदरमुकामजस्तो क्षेत्रको खानेपानीको व्यवस्थापनमा नगरपालिका जिम्मेवार नभएको र सडक निर्माणको नाममा पाइपलाइनमै क्षतविच्छेद हुने गरी क्षति पु–याएको आरोप स्थानीयको छ। उनीहरुले भाँडाकुँडा, पानीका रित्ता भाँडा, पानीका पाइपहरू बोकेर बजार परिक्रमापछि नगर कार्यालयमा ताला लगाएको व्यापारी मीना रोकायाले बताएकी छन्। 

गत वर्ष मात्र नगरपालिकाले मार्तडीको खानेपानीको उचित व्यवस्थापनका लागि भन्दै ८० लाख बढी रकम खर्च गरेको छ। एक वर्षभित्र मार्तडी र दुई वर्षभित्र सिंगो नगरमा खानेपानी पु–याउने नीति नगरपालिकाले लिएको छ। तर, बृहत् मार्तडी खानेपानी उपभोक्ता समितिले लगानी खर्च गरे पनि काम गर्न भने सकेको छैन। चारवटा ठूला ट्यांकी निर्माण गरिएको छ। ‘प्रत्येक परिवारलाई खानेपानीका पाइपलाइन दिने भनिएको छ। तर, पानी कहिल्यै नियमित छैन,’ स्थानीय व्यापारी हिक्मत रोकायाले भने। 

डोजर प्रयोग गरेर सडक निर्माण गरेपछि पाइपलाइन क्षतविच्छेद भएका छन्। पाइपलाइन निर्माणका लागि सडक निर्माणको जिम्मा लिएको निकायले बेवास्ता गरेपछि खानेपानी नियमित गर्न नसकिएको उपभोक्ता समितिले बताएको छ । सडक निर्माण गर्दा क्षति पुगेको पाइप लाइन मर्मत कार्य जारी रहेकाले तत्काल नियमित गर्ने तयारी गरिएको बृहत् मार्तडी खानेपानी उपभोक्ता समिति सचिव सूर्यकिरण विकले बताएका छन्। 

पानी माग्दै कार्यालयमा तालाबन्दी गरिएपछि नगरपालिकाको कामकाज ठप्प बनेको छ। आर्थिक वर्षको अन्तमा आएर गरिएको तालाबन्दीले उपभोक्ता र स्थानीयलाई पनि प्रत्यक्ष असर परेको छ। 

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज भट्टाराईले भने दायित्व नगरपालिकाको भए पनि जिम्मेवारी खानेपानी उपभोक्ता समितिकै हुने बताएका छन्। जनताको कामनै रोकिएकाले तत्काल समाधानको विकल्पसहित छलफल प्रक्रिया अघि बढाउने उनको भनाइ छ। 

 

प्रकाशित: ४ असार २०७६ १०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App