८ वैशाख २०८१ शनिबार
अर्थ

खानेपानीका लागि नगरपालिकाको जमानत, सहकारीको ऋण

खानेपानीको चरम अभाव भोग्दै आएको पाँचखाल उपत्यका। तस्बिरः नागरिक

बनेपा– खानेपानीको चरम अभाव भोगिरहेका पाँचखाल नगरवासीहरु ऋण काढेरै भए पनि ‘घर घरमा पानी–आफ्नै लगानी’ अभियानमा जुटेका छन्। दाताको सहयोग र सरकारी ऋणमा नगरवासीले पनि रकम लगानी गर्ने गरी यो अभियान थालेका हुन्।

‘एसियाली विकास बैंकले साना सहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत सुनकोशी पाँचखाल खानेपानी आयोजना बनाइदिन लागेको हो। यसमा नगर विकास कोषको ऋण एवं हामी उपभोक्ताको समेत लगानी हुनेछ। अब पानीबेगरको पाँचखालको कल्पना गर्नै सकिन्न,’ सुनकोशी पाँचखाल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष कुमारप्रसाद लामिछानेले भने।

पाँचखाल उपत्यकाका करिब ६ हजार घरधुरीलाई विश्व स्वास्थ्य संगठनको खानेपानी गुणस्तर मापदण्डअनुसारको २४ सै घण्टा गुणस्तरीय खानेपानी उपलब्ध हुने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको उनको भनाइ छ। ‘सह–लगानीको मोडेलमा तयार हुने आयोजनाको कूल लागत दुई अर्ब २१ करोड रुपैयाँको हुनेछ। यसबाट पाँचखालको १० वटा वडाका ६ हजार घरपरिवारले गुणस्तरीय खानेपानी पाउनेछन्,’ लामिछानेले थपे।

दोलालघाटस्थित सुनकोशी नदीबाट प्रतिसेकेन्ड दुई सय लिटर पानी लिफ्टिङ गरी पलाञ्चोक भगवतीस्थानसम्म पु¥याउने योजना डिपिआरमा उल्लेख छ। ‘त्यहाँ प्रशोधनपछि पाँचखाल उपत्यकाभर खानेपानी वितरण गर्नेछौं। उपयोगपछिको पानीले भूमिगत जलभण्डारलाई रिचार्ज गर्ने प्रणाली पनि आयोजनामै समेटेका छौं। भूमिगत जलभण्डार अहिल्यै रित्तिन थालेकाले पनि आयोजना बनाउन हतारिएका हौं,’ उनले थपे।

खानेपानीका लागि एसियाली विकास बैंकबाट एक अर्ब ५४ करोड रुपैयाँ अनुदान, नगर विकास कोषको ऋण ५५ करोड २५ लाख रुपैयाँ र उपभोक्ताको योगदान ११ करोड पाँच लाख गरी दुई अर्ब २१ करोड रुपैयाँ लगानी हुनेछ। आगामी तीन वर्षभित्र आयोजना सम्पन्न हुने गरी समितिले कार्यतालिका बनाइसकेको छ।

‘उपभोक्ता सहभागिताबापतको प्रतिघरधुरी १८ हजार रुपैयाँ जुटाउने काममा ढिलाइ भइरहेको छ। पानी अभावमा बाँचिरहेका पाँचखालवासीलाई हामीले बुझाउन नसकेर हो कि हालसम्म पाँच करोड रुपैयाँमात्रै संकलन भएको छ,’ लामिछानेले भने, ‘राज्यले प्रतिपरिवार साढे तीन लाखभन्दा बढी रकम लगानी गरिदिने भएकाले न्यून योगदानबाटै पाँचखालवासीले गुणस्तरीय खानेपानी पाउने यो उत्तम अवसर हो। यस तथ्यलाई उपभोक्तामाझ लैजान हाम्रा जनप्रतिनिधिको ठूलो भूमिका रहन्छ,’ उनले थपे।

कार्यतालिकाअनुसार असारको पहिलो सातासम्ममा जनसहभागिताबापतको रकम जम्मा गरेर असारको तेस्रो सातामा एडिबी र नगर विकास कोषसँग ऋण सम्झौता नै भइसक्ने लामिछानेको भनाइ छ। ‘पाँचखाल नगरकै गौरवको आयोजना भएकाले उपभोक्ता सहभागिताको रकमले समस्या नहोस् भनेर केही वित्तिय सेवा प्रदायक सहकारीलाई आमन्त्रण गरेका थियौं। सहकारीको सहुलियतपूर्ण ब्याजको कर्जाबाट बाँकी उपभोक्ताले अब सजिलै रकम जम्मा गर्न सक्नु हुनेछ,’ उनले थपे।

यसैबीच, पनौतीमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले पाँचखाल सेवा केन्द्रमार्फत प्रतिउपभोक्तालाई १८ हजार रुपैयाँका दरले सहुलियत ऋण लगानी गर्ने गरी पाँचखाल नगरपालिकासँग सम्झौता गरेको छ। ‘हालै पाँचखालमा आएको हुँदा सहकारीले नयाँ सदस्य बनाएर भए पनि सो रकम ऋण लगानी गर्ने बताएको छ। सेवा शुल्कलगायत कुनै पनि अतिरिक्त शुल्क नलिने गरी वार्षिक साढे नौ प्रतिशत ब्याजमा लगानी गर्न सहकारी मन्जुर भएको छ। उपभोक्ताले एक वर्षको अवधिमा साँवा र ब्याज नबुझाएमा नगरपालिकाले जिम्मेवारी लिने गरी सम्झौता भएको हो,’ लामिछाने भने। सहकारीले १० वटै वडाका उपभोक्तालाई लगानी गर्ने भएकाले कम्तीमा एक हजार आठ सयदेखि तीन हजार घरधुरीसम्मलाई लगानी गर्ने वचन दिएको उनको भनाइ छ ।

उता, पाँचखाल नगरपालिकालाई नै कार्यक्षेत्र बनाएर लामो समयदेखि वित्तीय सेवा प्रदान गर्दै आएको आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाले पनि पाँचखाल नगरपालिकाको जमानतमा उपभोक्ता सहभागिताबापतको १८ हजार रुपैयाँ ऋण लगानी गर्ने आशयपत्र दर्ता गराएको छ। नगरपालिकाले १० प्रतिशतभन्दा मुनिको ब्याजदरसहित नगरवासीलाई ऋण लगानी गरिदिन अनुरोध आएको सहकारीको भनाइ छ। ‘सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक आठ प्रतिशत ब्याजमै उपभोक्तालाई ऋण लगानी गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष सरोज सापकोटाले भने।

समितिको कार्यतालिका अनुसार चाँडोभन्दा चाँडो सहभागिता रकम जुटाउन अभियानकै रुपमा सहकारी संस्था पनि सक्रिय रहेको उनको भनाइ छ। ‘हामीहरु सहकारीको पदाधिकारीमात्रै नभई खानेपानीको उपभोक्तासमेत रहेकाले रकम संकलनको अभियानमा हिजोदेखि नै समितिसँगै घरदेलौमा थियौं। यतिखेर आर्थिक पक्षमा समेत सहयोगी बन्न लागेका हौं,’ सापकोटाले थपे।

तर, नगरपालिकाकै अनुरोधमा न्यून ब्याजदरको ऋण लगानी गर्न सक्ने सञ्चालक समितिको निर्णयसहित नगरपालिकामा आशय पत्र दर्ता गराउन पुगेका आर्थिक विकासका पदाधिकारी नगरपालिका र सामुदायिक सहकारीबीचको सम्झौताका सर्त देखेर आश्चर्यमा परेका छन्। ‘हरेक दिनजसो पाँचखालका सहकारी सञ्जालको भेला डाक्ने मेयर साबले हामीसँग परामर्श नगरी सामुदायिक सहकारीसँग सम्झौता नै गरिसक्नु भएछ। सम्झौताअनुसार अब नगरपालिकाले अरु सहकारीलाई खानेपानीको लागत ऋणका लागि जमानत बस्ने बाटो नै बन्द भइसकेको रहेछ,’ उनले भने।

सामुदायिक सहकारी र नगरपालिकाले नै उपभोक्ताको योगदान रकमका लागि प्रत्याभूति गर्दै सम्झौता गरेका र खानेपानी समिति साक्षीमात्रै बसेकाले यसबारे नगरपालिकासँग नै सोध्न अध्यक्ष लामिछानेले अनुरोध गरे। ‘अब आयोजना चाँडो सुरु हुनेमा ढुक्क हुन सकिएको अवस्था छ। पाँचखालको भूमिगत जल भण्डार केही वर्षमै रित्तिने सम्भावना बढेकाले समग्र भूअवस्थामै नकारात्मक प्रभाव पार्ने अवस्था थियो। यसैले पनि धेरै लगानीको आयोजना भनेर टिप्पणी हुँदासमेत भविष्यबारे बेलैमा सोचेर आयोजना अघि बढाउन खोजेका हौं,’ उनले भने।

सहभागितामूलक आयोजना भएकाले सबै राजनीतिक दल र स्थानीय निर्वाचनमा पराजित उम्मेदवारलाई समेटेर वडाअध्यक्षको संयोजकत्वमा १० वटै वडामा उप–समिति बनाइएको लामिछानेले बताए। ‘हाललाई पाँचखालका वडा नम्बर २, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ लाई आयोजनामा समावेश गरेका छौं। बाँकी तीनवटा वडालाई पनि अन्य सहयोग र उपायमार्फत गुणस्तरीय खानेपानी पानी खुवाउँछौं,’ उनले दाबी गरे।

प्रकाशित: ४ असार २०७६ ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App