coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वनमा पोखरी निर्माण

नवलपरासी– पूर्व नवलपुरमा रहेका दुईवटा सामुदायिक वनले वन क्षेत्रमा कृत्रिम पोखरी निर्माण गरेका छन्। वन्यजन्तुलाई पानीको अभाव नहोस् भनेर सामुदायिक वनले कृत्रिम पोखरी निर्माण गरेका हो। 

विनयी त्रिवेणी गाउँपालिका–१, दुम्किबासमा रहेको विनयी सामुदायिक वन र मध्यबिन्दु नगरपालिमा रहेको अम्रसा सामुदायिक वनभित्र कृत्रिम पोखरी निर्माण गरिएको भू– तथा जलाधार  व्यवस्थापन कार्यालय गण्डकी प्रदेश तनहुँका प्रमुख दिवाकर पौडेलले बताए। विनयी सामुदायिक वनमा पोखरी निर्माणको काम सकिएको छ भने अम्रसा सामुदायिक वनमा निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख पौडेलले बताए। 

विनयी सामुदायिक वनमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय गण्डकी प्रदेश तनहुँको  दुई लाख ५९ हजार रुपैयाँ र वन समूहको ५३ हजार रुपैयाँ लागतमा पोखरी निर्माण गरिएको हो। अम्रसा सामुदायिक वनमा पोखरी निर्माण गर्न कार्यालयले  दुई लाख ५९ हजार रुपैयाँ उपलब्ध गराएको उनले बताए। 
गर्मीको मौसममा पानीका स्रोत सुक्ने हुँदा वनमा रहेका वन्यजन्तुलाई पानि पिउनसमेत अभाव हुने भएकाले वन क्षेत्रमा कृत्रिम पोखरी निर्माणको कार्य गरिएको कार्यालय प्रमुख पौडेलले बताए। 

पोखरीमा निरन्तर पानी रहोस् भन्नका लागि इनार खनिएको छ। सोही इनारबाट मोटरमार्फत पानी तानेर पोखरीमा पानीको कमी हुन नदिने व्यवस्था गरिएको विनयी सामुदायिक वनका कार्यालय सचिव मीना पौडेलले बताइन्।  सामुदायिक वनमा गैँडा, हरिण, मृग, बँदेललगायतका जनावरको वासस्थानसमेत रहेकाले उनिहरुलाई पानिको अभाव हुन नदिनका लागि कृत्रिम पोखरी निर्माण योजना बनाइएको कार्यालय सचिव पौडेलले बताए। 

यता कावासोतीमा रहेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा समेत वन्यजन्तुको स्थायी वासस्थान निर्माणका लागि सौर्य ऊर्जाबाट स्वचालित बोरिङ गाडिएको  छ। गर्मी मौसममा हुने पानीको अभाव हटाउन वन क्षेत्रमा स्वचालित बोरिङ  गाडिएको हो। गर्मी मौसममा वनभित्र सिमसारका क्षेत्र सुक्न जाँदा वन्यजन्तुका लागि पानीको अभाव हुने भएकाले पानीको स्रोत सुक्न नदीनका लागि स्वचालित बोरिङ गाडिएको सामुदायिक वनका कार्यवाहक अध्यक्ष नरबहादुर महतोले बताए। 

पानीको अभावले वन्यजन्तु अन्यत्र जाने हुँदा स्थायीरुपमा बसिरहुन भन्नका लागि स्वचालित पानी तान्ने बोरिङ वन क्षेत्रमा गाडिएको बताइएको छ। अमलटारी घरवाससँगै रहेको वन क्षेत्र भएकाले यहाँ आउने पर्यटकलाई यसै वन क्षेत्रमा वन्यजन्तु अवलोकनका लागि लैजाने गरिन्छ। पानीको स्रोत नभए वन्यजन्तुसमेत अन्यत्र जाने र प्रत्यक्षरुपमा पर्यटनमा समेत प्रभाव पार्ने भएकाले आफूहरुले वन्यजन्तुको स्थायी वास स्थान निर्माण गर्न यस्तो पहल गरेको कार्यवाहक अध्यक्ष महतोले बताए।

प्रकाशित: ४ असार २०७६ ०६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App