८ वैशाख २०८१ शनिबार
कला

नृत्योत्सवमा सात प्रदेशका लोकनृत्य

काठमाडौं – नेपाली डान्सरहरूले संसारभर चर्चा पाइरहँदा नेपालमा मुख्य विधा हुन नसकेको नृत्यलाई केन्द्रित गरेर महोत्सव हुने भएको छ। नृत्य विधाका विभिन्न शैक्षिक सिकाईलाई सान्दर्भिक बनाउन एस्थेटिक डान्स स्टुडियोले तीन दिने ‘नेपाल नृत्योत्सव’को आयोजना गर्न लागेको हो।

आगामी असार १९ देखि २१ सम्म राष्ट्रिय नाचघरमा आयोजना हुने महोत्सवमा नृत्य प्रशिक्षण, नृत्यका विविध विषयमा कार्यपत्र प्रस्तुती र नृत्यहरू देखाइनेछन्। त्यसअघि असार १० देखि १३ मा भने कर्णालीको हुड्के नाचको कार्यशाला हुनेछ। नेपाली कोरियोग्राफरहरू सुविमा श्रेष्ठ, सुम्निमा साम्पाङ, राम राई र लोक अनुसन्धनकर्ता तुलसी प्रभासलगायत कार्यपत्र प्रस्तुती र छलफलहरूमा सहभागी हुनेछन्।

महोत्सव निर्देशक कोरियोग्राफर नम्रता केसीका अनुसार महोत्सवमा सात प्रदेशका विभिन्न लोक नृत्य प्रस्तुतिहरू समावेश गरिनेछन्। ‘तपाईंलाई संस्कृति मनपर्छ भने हामी फेरी एकपटक भेट्नेछौं। तपाईंलाई नृत्य मनपर्छ भने हामी पटकपटक भेट्नेछौं’ भन्ने नारासहित आयोजना हुने लागेको नृत्योत्सवमा सात वटा प्रदेशको लोक नृत्यहरू ल्याइँदैछ’, उनले भनिन्, ‘प्रदेश १ बाट धिमाल, प्रदेश २ बाट पमरिया, प्रदेश ३ बाट कार्तिक नाच, प्रदेश ४ बाट हनुमान नृत्य, ५ बाट सखिया पैया, ६ बाट हुड्के नाच ल्याइदैछ। प्रदेश ७ बाट ल्याइने नाचबारे भने केही दिनमा जानकारी गराउनेछौं।’ नेपालमा भरत नाट्यम, कथ्थकबाहेक नेपाली मौलिक नृत्यहरूको समेत प्रशिक्षण र सिकाईलाई समेत जोड दिएको उनले बताईन्।

कार्यक्रममा नृत्य प्रशिक्षकहरु लीना मालाकार, आरुपा लेहेरी, सुबिमा श्रेष्ठ र राम राईले बोलेका थिए। भारतीय कथक नृत्यमा पहिचान बनाएकी नेपाली चेली लिना काठमाडौंमा जन्मिएकी हुन्। उनी भारतकी उत्कृष्ट कथक नृत्यांगनामध्येमा पर्छिन्। नेपालकी प्रथम महिला कथक नृत्यांगना प्रोफेसर हनी श्रेष्ठबाट कथक नृत्य सम्बन्धी आधारभूत प्रशिक्षण लिएकी मालाकारले भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसीआरआर) को छात्रवृत्तिमार्फत नयाँदिल्लीस्थित राम भारतीयकला केन्द्रबाट कथक नृत्यमा विशिष्टता हासिल गरेकी छन्।

भारतीय कथक गुरु नन्दिनी सिंहबाट दीक्षित मालाकारले दर्जनौं देशी तथा विदेशी मञ्चहरूमा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छन्। हाल उनी भारतीय संस्कृति मन्त्रालयअन्र्तगत भारतीय साँस्कृतिक सम्बन्ध परिषद् (आइसीआरआर) को ‘एम्प्यानल्ड आर्टिस्ट’को रूपमा कार्यरत छिन्।

त्यस्तै आरुपा भारतको चेन्नईस्थित चिदम्बरम एकेडेमी अफ पर्फर्मिङ आर्ट्सबाट दीक्षित कलाकार हुन्। भारततीय नृत्य गुरु चित्राविश्वेशरनसँग प्रशिक्षित उनले अंग्रेजी साहित्यमा एमफिल गरेकी छन्। हाल जवाहरलाल नेहरू विश्वविद्यालयबाट अंग्रेजी साहित्यमै पीएचडी गर्दैछिन्। उनले भारतबाहेक एसिया र युरोपका थुप्रै देशहरूमा भरत नाट्यम नृत्य सम्बन्धी कार्यशाला सञ्चालन गरिसकेकी छन्। उनी पनि हाल भारतीय संस्कृति मन्त्रालयअन्र्तगत भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसीआरआर) को ‘एम्प्यानल्ड आर्टिस्ट’को रूपमा कार्यरत छिन्।

नृत्यका पारखीहरूलाई लक्षित नृत्योत्सवमा ‘नेपालमा कथक नृत्यःप्रक्रिया, चुनौती र अवसरहरू’, ‘नेपालका लोक नृत्यहरूमा मौलिकताको आधिकारिकता’, ‘नेपाली मञ्चमा अन्तराष्र्टि«य नृत्य अभ्यासः चुनौती र सम्भावना’ र ‘नेपाली लोक नृत्यको समाज शास्त्रीय विवेचना’ लगायत विषयमा कार्यपत्र प्रस्तुत गरिनेछन्।

प्रकाशित: ४ असार २०७६ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App