६ वैशाख २०८१ बिहीबार
कला

व्यासको मूर्ति बनाउन गुरुयोजना

महर्षि वेदव्यासको १ सय ८ फिट अग्लो मूर्ति एवं व्यास क्षेत्रमा निर्माण हुने संरचनाको प्रस्तावित गुरुयोजना।

तनहुँ - व्यास–३ दमौलीस्थित शिव पाञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको महर्षि वेदव्यासको १ सय ८ फिट अग्लो मूर्तिको गुरुयोजनामा निर्माण सम्पन्न भएको छ। एक कार्यक्रमका बिच मंगलबार गुरुयोजना निर्माण गरेको अर्थक्येक सेफ्टी सोलुसन्सले व्यास क्षेत्र शिवपञ्चायन विकास कोषलाई निर्माण सम्पन्न गुरुयोजना बुझाएको छ।

व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषको अगुवाइमा निर्माण गर्न लागिएको महर्षि वेदव्यासको मूर्तिलगायतका संरचना निर्माणको विषयमा गुरुयोजना निर्माण गरेको कम्पनीले मंगलबार डीपीआरको विषयमा सरोकारवालाहरूसँग अन्तत्र्रिmया गरेको छ। अन्तक्र्रियामा सरोकारवालाहरूले महर्षि वेदव्यासको मूर्ति निर्माणको काम अघि बढाउन कुनै ढिलाइ गर्न नहुने बताए। मूर्ति निर्माणको लागि भनेर एक दशक समय बितिसकेकाले अब यो कार्यलाई चाँडै अगाडि बढाउनुपर्नेमा उनीहरूको जोड थियो।

प्रतिवेदन सार्वजनिक गर्दै सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत देवकुमार महर्जनले १ सय ८ फिटको व्यासको मूर्तिसहित सबै संरचना निर्माणका लागि ६२ करोड ८५ लाख पाँच हजार रुपैयाँ बजेट लाग्ने बताए। चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको मूर्ति निर्माणमा पहिलो वर्ष गुरुयोजना अनुसार काम अगाडि बढाउँदा सात करोड खर्च हुने अनुमान गरिएको छ। गुरुयोजनामा व्यासको मूर्ति अड्याउनका लागि तीन तलाको पेडेस्टल (स्तम्भ) निर्माण गरिनेछ। महर्जनले पेडेस्टल निर्माणका लागि डेढ वर्ष लाग्ने बताए। ‘व्यासको मूर्ति निर्माणका लागि ३० हजार किलो तामा आवश्यक पर्छ’, उनले भने, ‘पेडेस्टलभित्र संग्रहालय र पुस्तकालय हल हुन्छ।’ महर्जनले मूर्ति र पेडेस्टल निर्माणका लागि मात्रै ३४ करोड १६ लाख ७६ हजार रुपैयाँ लाग्ने बताए। ‘अन्य संरचना निर्माणका लागि २८ करोड ६८ लाख २८ हजार रुपैयाँ लाग्छ’, उनले भने।

गुरुयोजना निर्माणको लागि व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले गत असारमा अर्थक्येक सेफ्टी सोलुसन्ससँग सम्झौता गरेको थियो।

गुरुयोजनामा व्यासको १ सय ८ फिटको मूर्तिसहित व्यास क्षेत्रमा पर्यटकीय रूपमा आर्कषण गर्नका लागि प्रवेशद्वार, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, संग्रहालय, पार्किङ, टिकट काउण्टर, व्यास पुस्तकालय, शौचालय, बगैंचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घरलगायतका संरचना निर्माण गरिने उल्लेख छ।  यी सबै संरचना निर्माणका लागि ६० रोपनी ६ आना क्षेत्रफलको जग्गामा आवश्यक पर्ने सोलुसन्सका प्रमुख कार्याकारी अधिकृत महर्जनको भनाइ छ।

गुरुयोजना निर्माणको लागि व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले गत असारमा अर्थक्येक सेफ्टी सोलुसन्ससँग सम्झौता गरेको थियो। गत साउनबाट सुरु भएको गुरुयोजना निर्माण सम्पन्न भएपछि निर्माण कम्पनी अर्थक्येक सेफ्टी सोलुसनले व्यास क्षेत्र विकास कोषलाई गुरुयोजना हस्तान्तरण गरेको हो।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यासको मूर्ति निर्माणको लागि लगानी जुटाउन आवश्यक रहेको बताए। सबैको साथ र सहयोगबाट नै लगानी जुट्ने नगरप्रमुख न्यौपानेको भनाइ छ। ‘गुरुयोजना अनुसार मूर्ति निर्माणको लागि काम सुरु गर्न नगरपालिकाले  पहिलो चरणमा ५० लाख रकम विनियोजन गर्नेर्छ’, उनले भने। 

नेकपाको केन्द्रीय सदस्य पीएल श्रेष्ठले व्यास क्षेत्रको गुरुयोजना निकै राम्रो बनेको र गुरुयोजनाअनुसार काम गरेर चाँडै मूर्ति निर्माण गर्नुपर्ने बताए। ‘गुरुयोजना निकै राम्रो बनेको रहेछ। अब स्थानमा विवाद नगरी मूर्ति निर्माणको कामलाई जोड दिनुपर्छ’, उनले भने। व्यास क्षेत्र शिवपञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले सबैको साथ र सहयोगबाट नै व्यास क्षेत्रमा महर्षि वेदव्यासको मूर्ति निर्माणको अभियान सफल हुने बताए।

व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले अर्थक्येक सेफ्टी सोलुसन्सलाई व्यास क्षेत्रको गुरुयोजना निर्माण गर्नका लागि  भ्याटबाहेक ५० लाखको लागतमा जिम्मा दिएको थियो। व्यास क्षेत्रमा पुराना पुरातात्विक महत्व बोकेका कलात्मक शिला व्यास गुफा, पञ्चमन्दिरलगायतका सम्पदा नभत्काई त्यसको संरक्षण गरेर गुरुयोजना निर्माण गरेको बताइएको छ।  महर्षि वेदव्यासले २८ औं अवतारको रूपमा तनहुँको दमौलीमा जन्म लिएको धार्मिक विश्वास छ ।

प्रकाशित: ४ असार २०७६ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App