coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गुठी विधेयक फिर्ता, आन्दोलन जारी रहने

गुठी विधेकको विरोधमा राजधानीमा गरिएको प्रदर्शन।

काठमाडौं - सरकारले गुठी विधेयक फिर्ता लिए पनि विभिन्न संघर्ष समितिले आन्दोलन जारी राख्ने भएका छन्। राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति, गुठी विधेयकविरुद्ध संघर्ष समितिलगायत विभिन्न गुठीयार संघसंस्थाले बुधबार माइतीघर मण्डलामा विरोध सभा गर्ने भएका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी विवादित गुठी विधेयक फिर्ता लिने निर्णय भएको बताएकी थिइन्। सरकारले गुठी विधेयक फिर्ता लिए पनि चित्तबुझ्दो नभएकाले मन्त्री अर्यालसहित सञ्चारमन्त्री गोकुल बास्कोटाको समेत राजीनामा माग गर्दै आन्दोलन जारी राख्ने निर्णय गरिएको संरक्षण संयुक्त संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले बताए। ‘सरकारले गुठी विधेयक फिर्ता लिए पनि चित्तबुझ्दो छैन। गलत व्याख्या गरेर अझै झुक्याइँदैछ। त्यसैले हामी माइतीघरमा विरोध सभा गर्ने तय भएको छ’, उनले भने, ‘गुठी विधेयक जनताविरोध र संस्कृतिविरोधी छ। संविधानविपरीत यो विधेयक ल्याइएको छ।

यो विधेयक पास भए संस्कृति मासिन्छ। प्राचीन सम्पदा मासिन्छन्। यो विधेयकले सहजै भूमाफियालाई फाइदा पुग्छ। त्यसैले यो विधेयक खारेज हुनुपर्छ।’ विरोध सभामा एक लाख हाराहारीमा जनसहभागिता गराउने लक्ष्य रहेको उनले बताए। संस्कृतिविद् सत्यमोहन जोशी, डा. केदारभक्त माथेमालगायतका व्यक्तित्व पनि सभामा सहभागी हुने उनले जानकारी दिए। गुठी संरक्षणकर्मीले विधेयक खारेजको माग राखेर मंगलबार पनि पशुपति, ठमेललगायतका क्षेत्रमा प्रदर्शन गरेका थिए।

संघर्ष समिति सचिवालयका संयोजक रवीन्द्र ताम्राकारले जनतालाई आश्वासन दिएर सरकारले झुक्याउन खोजेकाले आन्दोलन जारी राख्ने निर्णय भएको बताए। ‘सरकारले गुठी विधेयक खारेज गर्ने भनेर आश्वासनमात्रै दियो। खारेज गर्न सकेको छैन,’ उनले भने, ‘सरकारले जनतालाई आश्वासन दिएर झुक्याउँदैछ।’

प्रकाशित: ४ असार २०७६ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App