१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रशासन कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण

जिल्ला प्रशासनमा आएका सेवाग्राही कार्यालयमै स्वास्थ्य परीक्षण गराउँदै।

रामेछाप - जिल्ला प्रशासन कार्यालय (जिप्रका) रामेछापले सेवाग्राहीका लागि लक्षित गरी सोमबारदेखि साप्ताहिक रूपमा निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ। सोमबार नागरिकता, पासपोर्टलगायत काम लिई जिप्रका पुगेका सेवाग्राहीले आफ्नो कामसँगसँगै निःशुल्क स्वास्थ्य परीक्षण गराई दोहोरो लाभ लिएका थिए। ‘पासपोर्ट बनाउन आएको थिएँ, कार्यालयमै निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरिएको रहेछ, त्यहीँ आफ्नो स्वास्थ्य जाँच गराएर निःशुल्क औषधि लिन पाएकाले खुसी लागेको खाँडादेवी गाउँपालिका–५ की देवताकुमारी श्रेष्ठले बताइन। उनले कार्यालयमै सेवाग्राहीलाई सेवा दिँदा टाढाटाढादेखि आउने सेवाग्राहीका लागि दोहोरो लाभ पुग्ने बताइन्।

त्यस्तै मन्थली नगरपालिकाका कृष्णबहादुर बुढाथोकीले प्रशासन कार्यालयमै उपचार सेवा पाउँदा खुसी लागेको बताए। उनले कतिपय सेवाग्राहीलाई प्रशासनको काम भ्याएर अस्पताल गई स्वास्थ्य जाँच गरेर जानुपर्ने बाध्यता रहेको तर अब त्यस्ताखाले सोवाग्राहीले एकै थलोमा सेवा पाउँदा ठूलो राहत हुने बताए।

स्वास्थ्य परीक्षणका लागि तामाकोसी सहकारी अस्पतालले चिकित्सकसहित स्वास्थ्यकर्मी उपलब्ध गराउने भएको छ भने वितरण गरिने आवश्यक औषधि मन्थली नगरपालिकाले उपलब्ध गराउने भएको छ।

सेवाग्राहीलाई सहज होस् र सबैले स्वास्थ्य सेवा लिन सकून् भन्ने उद्देश्यका साथ साप्ताहिक रूपमा हरेक सोमबार स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले बताइन्। स्वास्थ्य परीक्षणका लागि तामाकोसी सहकारी अस्पतालले चिकित्सकसहित स्वास्थ्यकर्मी उपलब्ध गराउने भएको छ। स्वास्थ्य परीक्षणका क्रममा वितरण गरिने औषधि मन्थली नगरपालिकाले उपलब्ध गराउनेछ। जिल्ला प्रशासन कार्यालयमा विगतमा दैनिक दुई सयभन्दा बढी सेवाग्राही आउने गरेको तथ्यांक रहेको छ। यो तथ्यांकका आधारमा महिनामा आठ सय र वर्षमा अनुमानित एक लाखभन्दा बढीले लाभ लिन सक्ने भएकाले पनि स्वास्थ्य सेवा प्रवाहमा लागि पर्न प्रेरित गरेको प्रजिअ पाण्डेले बताइन्।

तामाकोसी सहकारी अस्पतालका चिकित्सक सज्जन केसीको नेतृत्वमा प्रशासनमा गएको स्वास्थ्यकर्मीको टोलीले कार्यालयका सेवाग्राहीको स्वास्थ्य परिक्षण गरी औषधि वितरण गरेको थियो। जिप्रकाले यसअघि नै सेवाग्राहीलक्षित फिल्टरको पिउने पानी, स्तनपान कक्ष, महिलाका लािग शौचालयमा स्यानेटरी प्याड, टेलभिजन, शीतलका लागि प्रतीक्षालय र अपांगमैत्री शौचालयको समेत प्रबन्ध गरिसकेको छ। जनताको चाहना र आवश्यकताको महसुसका आधारमा थप सेवा बढाउँदै लगिने जिप्रकाले जनाएको छ।

प्रकाशित: ४ असार २०७६ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App