४ वैशाख २०८१ मंगलबार
समाज

अत्यधिक गर्मी भन्दै सात सय विद्यालय बन्द

सर्लाही - विद्यालयमा पठनपाठन बन्द गरिएको छ। आइतबार लालबन्दी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो। लगतै सोमबारबाट जिल्लाका अधिकतर स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय लिए। मंगलबारसम्म आइपुग्दा जिल्लाका ११ नगरपालिका एवं नौ गाउँपालिका गरी २० वटै स्थानीय तहले विद्यालय बन्द गर्ने सूचना जारी गरेका छन्। जसअनुसार चार सय ६३ वटा सामुदायिक तथा दुई सय ५० भन्दा बढी संस्थागत विद्यालयमा पठनपाठन बन्द भएको छ।

अधिकतर स्थानीय तहले असार ६ गते शुक्रबारसम्मका लागि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी भट्टराईले जिल्लास्थित सबै स्थानीय तहले अत्यधिक गर्मी बढेकाले विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको जानकारी दिए। ‘अधिकतर स्कुलमा जस्तापाताको छानो छ, बिहानैदेखि तातेर विद्यार्थीलाई असहज हुन्छ,’ निमित्त प्रजिअ भट्टराईले भने, ‘त्यसैले स्थानीय तहले तत्काललाई विद्यालयमा पठनपाठन बन्द गराएका हुन्।’

अत्यधिक गर्मीले विद्यालयमै विद्यार्थी बिरामी पर्न थालेको र आधासरो विद्यार्थी अनुपस्थित हुन थालेपछि नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरिएको लालबन्दी नगरपालिकाका शिक्षा शाखाका संयोजक उपसचिव वासुदेव तिमल्सिनाले जानकारी दिए। सबै स्थानीय तहले हाल गर्मीका कारण गरिएको बिदा बर्खे बिदाबाट कटौती गरिनेसमेत सूचनामा जारी गरेका छन्।

तर गर्मी बढेको बहानामा स्थानीय तहले विद्यालय बन्दको निर्णय निकै आलोकाँचो भएको सरोकारवालाले बताएका छन्। ‘पठनपाठन बन्द गर्नुभन्दा विद्यालयमै विद्यार्थीलाई गर्मीबाट बचाउन राहत पुग्नेखालेको व्यवस्थापनमा जोड दिनुपथ्र्यो,’ एक शिक्षासेवीले भने, ‘यसरी गर्मी बढेसँगै विद्यालय बन्द गर्दै जाने हो भने शिक्षाको अवस्था कहाँ पुग्ला, अब भदौसम्मै यस्तै गर्मी हुन्छ अनि पटकपटक विद्यालय बन्द गरिरहने ?’

सातायता जिल्लामा अत्यधिक गर्मी बढेको छ। बिहानैदेखि तात्न सुरु हुने मौसम दिउँसोपछि ४३ डिग्रीसम्म पुग्ने गरेको छ। हावा नचली गुम्म हुने, चर्को घाम लाग्ने गरेका कारण सर्वसाधारण वरपीपल, समी, अशोक, कदमजस्ता रुखको छहारी एवं चौतारीमा बसेर दिन कटाउने गरेका छन्। विद्युत् पटक–पटक अवरुद्ध हुने र आएको समयमा पनि विद्युतीय पंखाको हावासमेत तातो हुने गरेका कारण सर्वसाधारणले घर छाडेर रुखको छहारी एवं चौतारीकै शरणमा दिन बिताउने गरेका हुन्। बजारहरूमा सर्वसाधारणको चहलपहल घटेको छ। अत्यावश्यक कामबाहेक सर्वसाधारणहरू बजार निस्कन छाडेका छन्।

प्रकाशित: ४ असार २०७६ ०१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App