४ वैशाख २०८१ मंगलबार
राजनीति

सुनसरीमा १२ स्थानीय निकाय बनाउन सिफारिस

इटहरी– सुनसरीमा दुई उपमहानगरपालिकासहित १२ स्थानीय निकाय बनाउने सिफारिस गरेको छ। राज्य पुर्नःसंरचना आयोगले तोकेको मापदण्डका आधारमा १२ वटा स्थानीय निकाय बनाउने सिफारिस गरेको हो।

शुक्रबार सुनसरीका एलडियो रामप्रसाद वाग्लेको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले २ उपमहानगरपालिका, ४ नगरपालिका र ६ ग्रामपालिका बनाउने गरी सिफारीस गर्ने निर्णय गरेको हो। यसअघि १३ वटा स्थानीय निकाय बनाउने सिफारिस गरेकोमा राज्य पुर्नःसंरचना आयोगले त्यसलाई फिर्ता पठाएको थियो। आयोगले ८ देखि १२ वटा स्थानीय निकाय बनाउन मापदण्ड तोकेको छ।

सुनसरीमा बनाउन लागिएको १२ वटा स्थानीय निकायमा हाल कायम रहेका इटहरी र धरान उपमहानगरपालिका, इनरुवा, रामधुनीभासी र दुहवीभलुवा नगरपालिकालाई यथावत राखिएको छ। नयाँ नगरपालिकाका रुपमा पाँच वटा गाबिस बराहक्षेत्र, भरौल, प्रकाशपुर, महेन्द्रनगर र मधुवनलाई समेटेर बराह नगरपालिका थप हुने सहमति भएको नेकपा माओवादी केन्द्र जिल्ला संयोजक शारदा पोखरेलले बताइन्।

यसअघि बराहक्षेत्र र भरौललाई एउटा ग्रामपालिका तथा अरु तीनवटालाई छुट्टै ग्रामपालिका बनाउन सिफारिस पठाउँदा आयोगले फिर्ता पठाएपछि पाँचवटालाई समेटेर नगरपालिका बनाउन निर्णय गरिएको जानकारी दिइयो। ‘शुक्रबारको बैठकले उत्तरतर्फको पाँचवटा गाबिसलाई समेटेर नयाँ नगरपालिका थप गर्ने र अरु पहिला गरेको सिफारिसलाई मान्यता दिने निर्णय भएको हो,’ पोखरेलले शनिबार नागरिकसँग भनिन्।

राज्य पुर्नःसंरचना आयोगले तोकेको मापदण्ड अनुसार, रामगञ्ज बेलगछिया अमाहीबेलाहा, अमडुवा, चिमडी गाविसलाई मिलाएर बर्जुताल ग्रामपालिका सिफारिस गरिएको छ। सत्तेरझोरा, औराबनी, छिटाहा पूर्वकुहाहा र मधेली गाविसलाई मिलाएर अर्को गढिमाई ग्रामपालिका बनाउने सिफारिस गरिएको  छ। यस्तै, बसन्तपुर, हरिनगरा, गौतमपुर, घुस्की, रामनगरभुटाहा र गौतमपुर गाविसलाई मिलाएर हरिनगरा ग्रामपालिका बनाउने निर्णय भएको छ। जिल्लाको दक्षिणी क्षेत्रका देवानगञ्ज, कप्तानगञ्ज राजगञ्जसिनुवारी, साहेवगञ्ज र मध्यहर्षाही गाविसलाई मिलाएर देवानगञ्ज ग्रामपालिका सिफारिस गरिएको नेपाली काँग्रेस सुनसरीका सभापति राजीव कोइरालाले बताए।

सर्वदलीय बैठकले हरिनगरा, श्रीपुर, पश्चिम कुशाहा र लौकही गाविसलाई मिलाएर कोशी ग्रामपालिका बनाउने सिफारिस गरेको छ। यस्तै, भोक्राहा र नरसिंह गाविसलाई मिलाएर भोक्राहा ग्रामपालिका बनाउन सकिने सिफारिस गरेको छ । इनरुवा नगरपालिकामा भने मधेशा, डुम्राहा, बबिया र चाँदबेला गाविस समेटनुपर्ने सिफारिस गरेको  छ।  सर्वदलीय बैठकले

सोनापुरलाई दुहवी–भलुवा नगरपालिकामा र बकलौरीलाई रामधुनी भासी नगरपालिकामा समेटनुपर्ने सिफारिस गरेको छ।

प्रकाशित: १३ कार्तिक २०७३ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App