coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हायात होटल अनिश्चितकालका लागि बन्द

काठमाडौं– राजधानीको पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको छ। मजदूर आन्दोलनका कारण विगत छ दिनदेखि होटल सेवा प्रभावित भएको थियो। व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरेको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई पठाएको छ।

सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले गत जेठ ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन्। व्यवस्थापन पक्षले भने मजदूर बिनाशर्त काममा फर्किनुपर्ने अडान लिएको छ। दुवै पक्षको अडानका कारण होटल बन्द भएको हो। मजदूरको आन्दोलनका कारण होटल सञ्चालनको वातावरण नरहेकाले अनिश्चितकालका लागि सेवा बन्द गरिएको होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले जानकारी दिए।

‘प्रशासनले दुई पटक सूचना जारी गरी काममा फर्कनुस् भन्दा उहाँहरु (मजदूर, कर्मचारी)ले मान्नुुभएन, पाहुनाको सुरक्षा त गर्नैप-यो, त्यसैकारण सेवा बन्द गरिएको हो, बुकिङ रद्द गरी यहाँ भएका पाहुनालाई अन्यत्र सारिएको छ,’ उनले भने। मजदूर बिनाशर्त काममा फर्किएको अवस्थामा मात्रै होटल सञ्चालन गर्न सकिने व्यवस्थापनको तर्क छ। हायात इन्टरनेशनललाई सुरक्षाको सुनिश्चितता नभएसम्म सेवा सञ्चालनमा कठिन हुने निर्देशक परियारको भनाइ छ।

उनका अनुसार छ दिनदेखि होटलको सेवा प्रभावित हुदाँ दैनिक रु ५० लाखका दरले करीब रु चार करोडको क्षति भएको छ। होटल पूर्ण क्षमतामा सञ्चालनमा आउन करीब छ महिना लाग्ने बताइएको छ। मजदूरले खाइपाई आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरेकाले बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले बताए।
    
होटलको ‘स्टे वार्ड’ का १५ कर्मचारी दुई दिन अनुपस्थित भएपछि गत जेठ २९ गते स्पष्टिकरण सोधिएको र सोही बहानामा मजदूरले आन्दोलन चर्काएको व्यवस्थापनको जिकिर छ। मजदूरले भने व्यवस्थापनले श्रम ऐनको पालना नगरी सुविधाको सट्टा जबरजस्ती पेल्न खोजेकाले समस्या आएको बताएका छन्। मजदूर र व्यवस्थापनबीचको टक्करले होटल बन्द हुने अवस्था सिर्जना हुनु मुलुकको पर्यटन क्षेत्रका लागि दुःखद् भएको व्यवसायीहरु बताउँछन्।

नेपाल भ्रमण वर्ष सन् २०२० अभियानको सन्दर्भमा पाँचतारे होटल बन्द हुनुले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश गएको छ। होटल व्यवसायीको छाता सङ्गठन ९हान०ले सञ्चालनमा रहेको होटल बन्द हुनु दुःखद् भएको र सञ्चालनका लागि पहल गरिरहेको जनाएको छ। पछिल्लो समयमा होटल व्यवस्थापनले निरन्तर घाटा देखाएर सरकारी स्वामित्वको तारा गाउँ विकास समितिलाई कम सेयर दिएपछि होटल विवादित बन्दै आएको थियो। होटललाई सेयर संरचना परिवर्तन गरेर सरकारी सेयर ३९ प्रतिशतबाट नौ प्रतिशतमा झारेको र ३०४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ।
    
हायातको व्यवस्थापन भारतीय लगानीकर्ता राधेश्याम सर्राफ नेतृत्वले गर्दै आएको थियो। दुई सय ८० शय्याको होटलमा करीब ४०० मजदूर कार्यरत छन्। हायातमा रहेका पाहुनालाई दरवारमार्ग स्थित होटल याक एण्ड यतीमा सारिएको बताइएको छ। हानका अनुसार अहिले मुलुकभर १० वटा पाँचतारे होटल सञ्चालनमा छन्। उपत्यकामा मात्रै हायातसहित सात वटा पाँचतारे होटल सञ्चालनमा थिए। थप सात वटा पाँचतारे होटल छिट्टै सञ्चलनमा ल्याउने गरी निर्माण भइरहेको छ। काठमाडौँ बाहिर पोखरामा दुई तथा नेपालगञ्ज र भैरहवामा एक÷एक वटा पाँचतारे होटल सञ्चालनमा छन्। अन्तर्राष्ट्रिय चेन होटल सेराटन, हिल्टनलगायत निर्माणका क्रममा छन्। केही महिनाअघि मेरियट होटल पनि सञ्चालनमा आएको छ। रासस

प्रकाशित: ३ असार २०७६ १४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App