७ वैशाख २०८१ शुक्रबार
समाज

कालोपत्रे गरिएपछि लामीडाँडामा परिक्षण उडान (फोटो फिचर)

खोटाङ– कालोपत्रे गरिएको खोटाङको लामीडाँडा विमानस्थलमा सफल परिक्षण उडान भरिएको छ। एक पटक थप भएको म्याद गुज्रेको झण्डै आठ महिनापछि कालोपत्रे पूरा गरिएको रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित लामीडाँडा विमानस्थलमा मंगलबार समिट एयरलाईन्सको विमानले सफल परिक्षण उडान भरेको हो।

नेपाल नागरिक उड्यन प्राधिकरणको ६ करोड ३४ लाखको लगानीमा एकैसाथ दुई वटा विमान पार्किङ गर्न मिल्नेगरी कालोपत्रे गरिएको प्राधिकरणका विमानस्थल आयोजना प्रमुख बिनायक भट्टराईले बताए। विमानस्थल कालोपत्रे गरिएपछि गाउँपालिकाले विमानस्थलमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा परिक्षण उडान कार्यक्रम राखेको थियो।

कुल ५६० मिटर लम्बाई भएको विमानस्थलको धावनमार्गमा ५२० मिटर लम्बाई र २० मिटर चौडाईमा कालोपत्रे गरिपछि विमानस्थलमा बाह्रैमास उडान हुने भएको छ। निर्माण कम्पनी वाइएएन–एसएपी–सुर्य कन्ट्रक्सन जेभीले २०७३ साल कार्तिकमा विमानस्थल कालोपत्रेको सम्झौता गरेको थियो।

सुरुको सम्झौता म्याद २०७४ साल माघ १६ गते नै गुज्रेपछि थप भएको ७ महिनाको म्याद पनि ठेकेदारले गत २०७५ साल असोजमै गुजारेको थियो। स्तरोन्नती गरिएको लामीडाँडा विमानस्थलमा निरन्तर उडान भर्नका लागि पहल गर्ने प्रतिनिधिसभा सदस्य भट्टराईले बताए। ‘धेरै ठाउँमा विमानस्थल कालोपत्रे भए तर नियमित उडान हुन सकेको छैन्। तर, लामीडाँडा विमानस्थलमा हप्तामा दुई÷तीन वटा उडान भर्ने व्यवस्था मिलाउने छौँ,’ प्रतिनिधिसभा सदस्य भट्टराईले भने, ‘नजिकै रहेको त्रि–धार्मिकस्थल हलेसी अन्र्तराष्ट्रिय पर्यटन केन्द्र बन्दै छ। ६३५ मेगावटको दुधकोसी हाइड्रोपावर यही ठाउँमा सञ्चालन भइरहेकाले यो विमानस्थलमा नियमित उडान हुन्छ।’

२०२८ सालदेखि सञ्चालनमा आएको कच्ची विमानस्थल कालोपत्रे गरेर स्तरोन्नती एवं परिक्षण उडान गरिएपछि जिल्लाको यातायात, पर्यटन, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा महत्वपूर्ण टेवा पुगेको सहभागीले बताएका छन्।

लामीडाँडा विमानस्थल खोटाङका तीन विमानस्थलमध्ये सबैभन्दा पुरानो हो। सो विमानस्थल रावाबेँसी गाउँपालिका, केपीलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, ओखलढुंगाको कुइभीर र सोलुखुम्बुका केही स्थानका स्थानीयले उपयोग गर्ने जनाइएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App