६ वैशाख २०८१ बिहीबार
राजनीति

आफुसँगको सम्झौता कार्यान्वयन गर्न टाइगर्सको आग्रह

भैरहवा- सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न तराई मधेस टाइगर्स पार्टीले माग गरेको छ। नेपाल सरकारको आग्रहअनुसार वार्ताबाट शान्ति प्रक्रियामा आए पनि सरकारले गरेको सम्झौता कार्यान्वयन नभएपछि पार्टीले भैरहवामा पत्रकार सम्मेलन गरी असन्तुष्टि व्यक्त गरेको हो।

पार्टीले विगतमा भएको ११ बुँदे सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनसमेत बुझाएको छ।  विगतमा नेपाल सरकारसँग भएको सम्झौताअनुसार पार्टी अगाडि बढेकाले कार्यान्वयन गर्न उनीहरूको माग छ। पत्रकार सम्मेलन गर्दै पार्टीले सम्झौताअनुसार पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा नभएकाले यथाशिघ्र रिहाइको माग गरेको छ। पार्टीका केन्द्रीय सहसचिव अमर धवल (मेजर) ले सरकारसँग भएको सम्झौताअनुसार आफूहरूले मधेसमा शान्तिपूर्ण ढंगले राजनीति अगाडि बढाउन खोजेको बताए।

‘हाम्रो पार्टीका नेता कार्यकर्ता अझै पनि जेलमै छन्, सहिद परिवारले उचित क्षतिपूर्ति पाउन सकेका छैनन्, हामी सरकारले विगतको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दछौं,’ उनले भने। त्यस्तै आफ्ना नेता कार्यकर्तामाथि विचाराधीन मुद्दा भएको भए नचलाउनसमेत सो पार्टीले आग्रह गरेको छ। ‘सम्झौतामा उल्लेख भएअनुसार हामीले एकपक्षीयरूपमा उक्त सम्झौताको पूर्ण कार्यान्वयन गर्यौ तर सरकार सम्झौता कार्यान्वयनमा चुकेको महसुस गरेका छौं,’ मेजरले भने। यसका साथै पार्टीले मेचीदेखि महाकालीसम्म गर्ने कार्यक्रममा सरकारले शान्ति सुरक्षाका लागि गृह मन्त्रालयबाट लिखित प्रमाणसमेत माग गरेको छ।

२०७१ सालमा तत्कालीन सभासद आनन्द ढुंगानाको नेतृत्वमा वार्ता टोली बनाई शान्ति सम्झौतामा आउन आह्वान गरेपछि टाईगर्स समूह वार्तामा मात्र आएन आफूसँग भएको हतियार पनि प्रहरीलाई बुझायो। २०७१ मंसिर २६ गते वार्ता गरी तत्काल २८ वटा हतियार बुझाएको उसले आफूहरूले गरेको वाचाअनुसार २०७२ जेठ ४ गते थप एक सय चारवटा हतियार बुझाएको थियो। सोही समयदेखि नै उनीहरू शान्तिपूर्णरूपमा बस्दै आएका छन्।  अहिले २०७५ भदौ ८ गते बसेको मन्त्री परिषद्को बैठकले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय राजनैतिक वार्ता टोली गठन गरेको छ। टाईगर्सले उठाएको मागलाई सम्बोधन गर्ने गरी पुनः वार्तामा आउन टोलीले आह्वान गरेपछि टाईगर्स ११ बुँदे मागसहित पुनः वार्तामा सामेल भएको थियो। 

लामो समयदेखि तराई मधेसमा सशस्त्र संर्घषरत तराई मधेस टाईगर्स पार्टीले मुलुकमा आर्थिक संवृद्धि ल्याउन शान्तिपूर्ण राजनीति गर्ने घोषणा गरेको छ। यस अघि नै पार्टीले रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा पार्टी पूर्णरूपमा सशस्त्र संघर्ष परित्याग गरी राष्ट्रिय मूलधारको राजनीतिक गतिविधि अगाडि बढाउने घोषणा गरी सकेको छ।

साथै तराई मधेस टाईगर्स पार्टीले नाम परिवर्तन गरी अब तराई मधेस जनता पार्टी रहने जनाएको छ। मधेसमा शान्तिपूर्ण राजनीति अगाडि बढाउने र अब तराई मधेस जनता पार्टी निर्वाचन आयोगमा दल दर्ताका लागि जाने सहसचिव धवलले बताए। मेची–महाकालीमा संगठन विस्तारपश्चात् निर्वाचन आयोगमा दल दर्ता गरिने उनले बताए। हाल १५ वटा जिल्लामा पार्टीको संगठन विस्तार भइसकेको धवलले जानकारी दिए।

 

प्रकाशित: ३ असार २०७६ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App